विचार


युक्रेनबारे वार्ता नहुँदै ट्रम्पले दिए सहुलियत, पुटिनको कोर्टमा बल

युक्रेनबारे वार्ता नहुँदै ट्रम्पले दिए सहुलियत, पुटिनको कोर्टमा बल

लरेन्स फ्रिडम्यान
फागुन ३, २०८१ शनिबार २०:११,

बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन रुस–युक्रेन युद्ध समाप्तिका लागि वार्ता प्रक्रिया सुरु गर्न सहमत भए। सो कुराकानीमा युद्धमा चोट बेहोरेको पक्ष युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्की सहभागी थिएनन्। यद्यपि, पुटिनसँगको कुराकानीपछि ट्रम्पले के सहमति भयो भन्नेबारे जानकारी गराउन जेलेन्स्कीलाई फोन गरे। सम्भवतः ट्रम्पले उनलाई अब कस्तो भूमिका खेल्ने अनुमति छ भन्नेबारे पनि सुनाए। 

गत नोभेम्बरको अमेरिकी चुनावभन्दा पहिल्यैदेखि ट्रम्पको निकट हुन मरिहत्ते गरेका जेलेन्स्कीले ट्रम्पको फोनबाटै आफू सन्तुष्ट भएको घोषणा गरे। युक्रेनको प्रमुख दुई मागलाई खारेज गर्ने अमेरिकी अधिकारीहरूको अभिव्यक्तिका बाबजुद जेलेन्स्कीले यस्तो बताएका हुन्। 

रुसले अनधिकृत रूपमा कब्जा गरेका सम्पूर्ण भूमि फिर्ता हुनुपर्ने र अमेरिकाले नेटोमार्फत युक्रेनको सुरक्षाको ग्यारेन्टी लिनुपर्ने माग युक्रेनले राख्दै आएको थियो। तर, ट्रम्प प्रशासनका अधिकारीहरूले युक्रेनले सैन्य तवरबाट रुसद्वारा कब्जा गरिएको भूमि फिर्ता गर्ने सम्भावना नरहेको बताउँदै आएका छन्। नवनियुक्त अमेरिकी रक्षामन्त्री पिट हेगसेथले नेटो मुलुकका समकक्षीहरूमाझ युरोपको सुरक्षा अब अमेरिकाको मुख्य प्राथमिकता नभएको स्पष्ट पारेका छन्। युक्रेनले सुरक्षा ग्यारेन्टीको अपेक्षा राख्न सक्ने तर त्यस्तो ग्यारेन्टी युरोपेली मुलुकले उपलब्ध गराउने हेगसेथको भनाइ छ।

यसलाई किभमा शंकाको नजरले हेरिँदै छ। किनकि युद्धविराम हुँदा रुसको कब्जामा रहेका क्षेत्र र मानिस युक्रेनले गुमाउँछ। त्यसमाथि एकान्तबाट पुटिनलाई फर्काउने र पहिल्यै छुट दिने ट्रम्पको तरिकाले युक्रेनीहरूमा निराशा देखिएको छ। किनकि अहिले त वार्ता समेत सुरु भएको छैन र वास्तविक सम्झौता निकै टाढा छ।

युक्रेनका थुप्रैले युद्धविरामको स्वागत गर्ने छन्। किनकि यो मुलुक तीन वर्षको युद्धबाट थकित र चोटग्रस्त बनेको छ। युद्धविरामलाई युक्रेनले सेना निर्माण र अर्थव्यवस्था पुनर्जीवित गर्न उपयोग गर्न सक्छ। रुसीहरूले भनेजस्तो युद्धविरामले भूमि फिर्ता गर्ने युक्रेनको आशा सदाका लागि समाप्त गर्दैन। न त युक्रेनले रुसका सबै माग पूरा गर्नुपर्छ भनेर अमेरिकाले भनेको नै छ। रुसले युक्रेनी सेनाको निशस्त्रीकरण, सत्ता र संविधान परिवर्तनको माग समेत राखेको छ।

निस्सन्देह ट्रम्पले सम्मानपूर्वक व्यवहार गरेकाले पुटिन प्रसन्न छन्। तर, यी अन्य माग पूरा नहुञ्जेल उनले युद्धको उदेश्य प्राप्त गर्न सक्ने छैनन्। अहिले दुई पक्षका सेना जहाँ छन्, त्यसैका आधारमा तुरुन्त युद्धविराम गर्ने, अनि बल्ल दीर्घकालीन शान्ति स्थापनाका लागि वार्ता गर्ने अमेरिकी प्रस्तावमा पुटिन सहमत छैनन्। 

त्यसो गर्दा युक्रेनको एउटा ठूलो हिस्सा रुसको कब्जामा रहने छ। तर, युद्धविरामपछि युक्रेनले पश्चिमा सहयोगमा आफ्नो सेना पुनर्निर्माण गर्ने र लडाइँको तयारी गर्ने सम्भावना पनि रहन्छ। त्यसमाथि रुसले कब्जा गरिएको क्षेत्रमा ठूलो लगानी गर्नुका साथै सुरक्षित राख्नुपर्ने हुन्छ, जुन क्षेत्र विध्वंसकारी युद्धमा क्षतविक्षत भएको छ। त्यसमाथि लामो सीमाको सुरक्षा पनि गर्नुपर्ने हुन्छ।

यही कारणले पुटिनले युक्रेनसँग युद्धविरामको सम्झौता हुनुअघि नै शान्ति सम्झौतामा सहमति हुनुपर्ने माग राखेका छन्। त्यसो गर्दा युक्रेनलाई अधीनस्थ गर्ने आफ्नो युद्धको लक्ष्य प्राप्त गर्न उनी सफल हुने छन्। 

उनको वार्ताको सुरुवाती विन्दु नै अझ महत्त्वाकांक्षी छ। जसलाई ट्रम्पसँगको फोनवार्ताले पुष्टि गरिसकेको छ। उनी यो अवस्थाको मूल कारण समाधान गर्न चाहन्छन्। त्यो भनेको शीतयुद्धको अन्त्यपछि रुसको प्रतिकूल हुनेगरी विकास भएको युरोपेली सुरक्षा व्यवस्था हो।

पुटिनको यस्तो चाहनामा ट्रम्पको रुचि छ भनेर विश्वास गर्ने कुनै कारण छैन। हेगसेथको टिप्पणीको आधारमा भन्दा अमेरिका युरोपको भविष्यको सवालमा रुसीहरूले युरोपसँगै कुरा गरोस् भन्ने पक्षमा छ। 

अर्कोतिर, नेटो अमेरिकी प्राथमिकताको सूचीमा तल झर्दैछ। त्यसको अर्थ नेटो विस्तारको परिणामलाई उल्ट्याउने कुरा पनि अमेरिकाको प्राथमिकतामा छैन। ट्रम्प छिटोभन्दा छिटो लडाइँ रोकियोस् भन्ने चाहन्छन्। त्यसैले युद्धविराम लागू हुँदै अन्तिम सम्झौता हुनुपर्छ भन्ने सर्त उनले मान्ने छैनन्।

नमिलेका सबै मुद्दा वार्ताद्वारा समाधान गर्न कयौँ महिना लाग्न सक्छ। अगस्ट २०२१ मा अफगानिस्तान छाड्दाखेरी जो बाइडेनको समर्थन जसरी घटेको थियो, त्यो स्मृति ताजा छँदै ट्रम्पले युक्रेनलाई आफ्नो सार्वभौमसत्ता र भूमि छाड्न ज्यादा जोड लगाउन सक्ने छैनन्। उनका अधिकारीहरू ट्रम्पको यस्तो चाहना नभएको बताउँछन्।

पुटिनका लागि सबैभन्दा अप्ठेरो कुरा के छ भने सौदाबाजीका लागि उनी बलियो स्थितिमा छैनन्। २०२३ को अन्त्यदेखि सैन्य पहल रुसको पक्षमा छ र उसले ठुल्ठूला उपलब्धि पनि प्राप्त गरेको छ। तर, आफूले दाबी गरेको सीमा क्षेत्रसम्म रुस पुग्न सकेको छैन। अहिलेको स्थानसम्म पनि निकै क्षति बेहोरेर पुगेको छ। हिउँदमा युक्रेनलाई अँध्यारो र चिसोमा बस्न बाध्य बनाउनेगरी महत्त्वपूर्ण पूर्वाधार नष्ट गर्ने उसको अभियान अहिलेसम्म असफल नै छ।

र, युक्रेनले पनि आफ्नो पहल छाडेको छैन। कुर्स्कमा आक्रमण गरेको ६ महिनापछि पनि सो क्षेत्रको एउटा हिस्सा युक्रेनकै कब्जामा छ। रुसले कब्जा गरेको भूमिसँग त्यो स्थान सट्टापट्टा गर्ने प्रस्ताव जेलेन्स्कीले गरेका छन्। युक्रेनले अहिले रुसभित्र पनि निरन्तर निसाना लगाइरहेको छ। दबाबमा परेको रुसी अर्थतन्त्र कमजोर हुन थालेको छ। मुद्रास्फिति उच्च छँदै छ, वृद्धिमा गिरावट आउने आधिकारिक अनुमान गरिएका छन्।

त्यसैले, जब वार्ता टोलीले आपसमा कुराकानी सुरु गर्छन्, तब पुटिनले आफ्ना अधिकतम मागबाट पछि हट्न सकिन्छ कि सकिँदैन भनेर सोच्नुपर्ने हुन्छ। सायद उनी युद्धविरामका लागि तयार हुने छन्। तर, अन्तिम सम्झौताका लागि एउटा समयतालिका र रुसविरुद्ध लागेका केही प्रतिबन्धमा राहतको सर्तमा। सम्भवतः उनले युक्रेनको ईयू सदस्यतामा सहमति पनि दिन सक्छन्। 

तर, यदि युक्रेन स्वतन्त्र र सशस्त्र रह्यो भने भविष्यमा गएर पुटिन असफल ठहरिने छन्। शान्तिका लागि गरिएको यो ठूलो प्रयास असफल हुँदाको दोषी पुटिनलाई ठहर्‍याइयो भने युक्रेनलाई सहायता बढाउन र रुसमा थप प्रतिबन्ध लगाउन ट्रम्प पनि तयार छन् भन्ने पुटिनलाई लाग्न सक्छ।

(फाइनान्सियल टाइम्सबाट)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad