नेपालको संघीय राजधानी काठमाडौँमा अवस्थित धरहरा नेपालका धेरै ऐतिहासिक र सांस्कृतिक सम्पदाहरूमध्ये एक हो। त्यसकारण पनि यसको पर्यटकीय महत्त्व धेरै छ। धरहराको इतिहास करिब २०० वर्ष पुरानो छ। तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले वि. सं १८८९मा राजा गीर्वाणयुद्ध विक्रम शाहको पालामा गराएका थिए। धरहराको निर्माण सैनिक निगरानीका लागि बनाइएको थियो।
१९९० को विनाशकारी भूकम्पका बेला धरहरामा पहिलोपटक क्षति पुगेको थियो। क्षतिपश्चात् ११ तलाको धरहरा ९ तलामा सीमित रह्यो। २०७२ को भूकम्पपछि भने यसको पुनर्निर्माण असम्भवजस्तै भयो। तर। नयाँ स्वरूपमा पुनर्निर्माण भएपश्चात् भने विभिन्न कोणबाट यसका बारेमा चर्चा चलिरहेको छ।
केही महिनाअघि धरहरालाई सेतो टावर भनेर यसको खिल्ली उडाइयो। भाइरल हुनुपर्ने होडबाजी र सामाजिक सञ्जालको यस्तै हाहाहुहुमा राजनीतिक अस्तित्व खोजिरहेकाहरूका लागि राम्रै मसला बन्यो। सेतो टावर भनेर उपमा दिनुको कारण थियो- भूकम्पले भत्काएको पुरानो धरहराको साटो नयाँ धरहरा बनाइनु। सेतो टावरको आरोप लगाउँदै गर्दा आरोप लगाउनेहरूले यसको र सर्वसाधारण जनताको सुरक्षालाई नजरअन्दाज गरेजस्तो लाग्छ।
हाम्रो ऐतिहासिक धरोहर धरहरा नै मासेको आरोप लागाउने उद्देश्यका साथ बनाइएको सेतो टावरको भाष्यमा सत्य कम र भ्रम धेरै थियो। २०७२ को भूकम्पले पुरानो धरहरा भत्किएपछि त्यहाँ तत्कालीन सरकारले बृहत् योजना बनाएर काम गर्यो। गोश्वारा हुलाकको जग्गा समेत लिएर अन्डरग्राउन्ड पार्किङ सहित धरहरालाई पुनस्थापित गर्ने योजन बन्यो। तर, एउटा समस्या भने कायम रह्यो। पुरानो धरहराको भग्नावशेषलाई भूकम्प प्रतिरोधी स्वरूपमा पुनर्निर्माण गर्न भने प्राविधिक रूपमा असम्भव थियो।
योजनाकारहरूले विकल्प खोजे। धरहराको भग्नावशेषलाई सिसाभित्र राखेर खुला म्युजियमको स्वरूप दिए अनि अलिक पर भूकम्प प्रतिरोधी नयाँ धरहरा निर्माण गरियो। हाल धरहरा सर्वसाधारणका लागि खुला भइसकेको छ। समाचारहरूलाई आधार मान्दा प्रवेश शुल्कबाट मात्र पहिलो तीन महिनामा सरकारले एक करोड बाउन्न लाख कमाइ गरिसकेको छ। त्यसबाहेक नयाँ स्वरूपको धरहराले न्युरोडमा हुने पार्किङको समस्यालाई पनि हल गर्न मदत गर्ने निश्चित छ।
तर, तर्कमा बहस नगर्ने अनि सत्यभन्दा पनि सनसनी कन्टेन्टहरूमा व्यावसायिक र राजनीतिक अस्तित्व खोज्ने प्रवृत्तिले समाजलाई नकारात्मक बहसमा मात्र केन्द्रित गरिरहेको छ। हो, देशमा धेरै कुरा हुन बाँकी छ तर यसको मतलब केही नभएको त हुँदै होइन। १ किमि सडक कालोपत्रे भएमा ५ किमि भएको छैन भनेर राय निर्माण गरिन्छ। सामाजिक सञ्जालको लाइक र कमेन्टमा आधारमा न्याय निर्माण गरिनुपर्छ नत्र कानुनको दुरूपयोग भएको भाष्य निर्माण गरिन्छ। तथ्य र विषयवस्तुमा भन्दा पनि मिसइन्फर्मेसन र डिसइन्फर्मेसनका आधारमा समाजमा गलत भाष्य निर्माण गरेर छद्म तरिकाले निर्दलीयताको बहसलाई प्रश्रय दिन खोजिँदै छ। लोकतन्त्रको धेरै खम्बाहरूमध्ये एक दलीयतन्त्र पनि हो। निर्दलीयताले निरकुंशतातर्फ लग्छ।
यसै सन्दर्भमा धरहरालाई सेतो टावरको संज्ञा दिने अग्रपंक्तिमा रहेका काठमाडौँ महानगरका मेयर हाल एक विवादमा तानिएका छन्। उनको नेतृत्वमा रहेको महानगरले दरबार मार्ग क्षेत्रको फुटपाथमा ग्रेनाइट लगाउने निर्णय मात्र गरेन काम नै सुरु गरिसकेको छ। उग्र स्टाटस लेख्ने, दलीय राजनीतिलाई उपेक्षा गर्ने र लोकतन्त्र खासै महत्त्वपूर्ण होइन भन्ने खालका व्यवहार देखाउने उनी सामाजिक सञ्जालमा विद्यमान राजनीतिक नेतृत्वभन्दा धेरै नै लोकप्रिय छन्।
गरिब जनताप्रति उदासीन रहने र उनीहरूविरूद्ध नगर प्रहरी परिचालन गर्ने आरोप खेपिरहेको महानगर फुटपाथमा ग्रेनाइट लगाएको विषयले एकाएक हाँसोको पात्र बन्न पुग्यो। हाल यसलाई सर्वसाधारणले कालो चिप्लेटीको संज्ञा दिएका छन्। इन्जिनियर मेयरले केही प्राविधिक विषयलाई किन नजरअन्दाज गरे त्यो बहसको विषय होला तर सत्य के हो भने चिप्लो ग्रेनाइट सडकपेटीमा प्रयोग गर्ने हुँदै होइन। यसले गर्भवती, वृद्ध, अपाङ्गता भएका र बालबच्चाहरूलाई के सहज आवातजावतको अवस्था सिर्जना गर्दछ त? प्रश्नकर्ताहरू के पनि भनिरहेका छन् भने आफ्नो श्रीमती चढेको सरकारी गाडी सार्वजनिक बिदाका दिन चेकिङमा रोकिँदा सिंहदरबार जलाइदिन्छु भनेर धम्की लगाउने मेयरसाबलाई ग्रेनाइटमा चिप्लेर लड्ने बालक, गर्भवती र अपाङ्गता भएका व्यक्तिका अभिवाकहरूले के भन्ने होलान्?
प्राविधिक रूपमा सचेत युवाहरू भने इन्जिनियर मेयर भएको काठमाडौँ महानगरको यस्तो हर्कतले वातावरणीय पक्षलाई नजरअन्दाज गरेको भनिरहेका छन्। चुनावका बेला ससाना पोखरी बनाएर पानी रिचार्ज गर्न सकिने बताउने मेयर र हाल अन्डरग्राउन्ड पानी रिचार्ज रोक्ने किसिमको काम गर्ने इन्जिनियर मेयर कसरी एकै हुन सक्छ भनेर प्रश्न तेर्स्याइरहेका छन्। सामाजिक सञ्जालमा कतै देखेको थिएँ, ठिकठाक विकास हुनुपर्नेमा टिकटक विकास सुरु भएको छ भनेर।
चर्चामा रहन र उल्लेखनीय काम गर्न नसक्ने अवस्थामा तुरुन्तै देखिने र भाइरल हुने चाहनाले हाल विकासभन्दा पनि स्टन्ट भइरहेको देख्न सकिन्छ। यसले नेपाली जनताले आश गरेको विकासलाई केवल फोटो, भिडिओ र सामाजिक सञ्जालमा सीमित गरिदिएको छ।
सबैभन्दा सजिलो काम भनेको टुटाउने, फुटाउने, बिगार्ने, आरोप लगाउने हो। बनाउन र सपार्न निकै कठिन हुन्छ। झन् हामीजस्तो आर्थिक, भौगोलिक र भूराजनीतिक जटिलतामा अल्झिएको देशमा विकास निर्माणका काम सहज छैन। झन् प्रविधिको विकार र विश्वव्यापीकरणले विश्वनै हातमा देख्न सकिने भएको छन। सयौँ वर्ष लगाएर भिन्न परिस्थितिमा भएका विश्वका लोभलाग्दा विकासको चाहना राख्नु गलत होइन। तर, त्यस चाहनाको नकारात्मक फाइदा भने पपुलिस्ट र फासिस्ट नेतृत्वहरूले लिए भने सपनाको रोमाञ्चकतामा रमाउने आशामा विपनामा खाल्डोमा पर्ने सम्भावना रहन्छ।
काठमाडौँका सडकमा राखिएका चिप्लिने ग्रेनाइटलाई चुपचाप स्वीकार्नु भनेको नागरिक सहजतालाई बेवास्ता गर्नु हो। अतः हाम्रो समाजलाई चयनमुखी आलोचनाको होइन, विवेकपूर्ण बहसको खाँचो छ। ऐतिहासिक सम्पदाको संरक्षणलाई ‘सेतो टावर’ भनेर निश्चित व्यक्ति र संस्थालाई अपमान गर्ने तर ‘कालो चिप्लेटी’मा मौन रहनु नै समाजको विडम्बना हो।
Shares

प्रतिक्रिया