विचार


डा. मनमोहन सिंहसँगका तीन प्रसंग

डा. मनमोहन सिंहसँगका तीन प्रसंग

विष्णु रिजाल
पुस १४, २०८१ आइतबार १०:३७, काठमाडौँ

भारतका भूतपूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहको ९२ वर्षको उमेरमा (२६ सेप्टेम्बर, १९३२–२६ डिसेम्बर, २०२४) निधन भएपछि अनेक तरिकाले सम्झना भइरहेको छ। भारतको अर्थतन्त्रलाई नयाँ मोड दिनमा पीबी नरसिंह रावको सरकारमा अर्थमन्त्री भएर उनले दिएको निर्णायक योगदानदेखि १० वर्षसम्म (२००४–०१४) प्रधानमन्त्री हुँदासम्मका योगदानको विवेचना र मुक्तकण्ठले प्रशंसा छ। यी पंक्तिमा उनका ती कुनै पक्षको नभई व्यक्तिगत रूपमा नजिकबाट देखेका तीन प्रसंग उल्लेख गर्नु सान्दर्भिक ठानेको छु।

प्रसंग १ः गिरिजाप्रसाद कोइरालालाई दक्षिण एसियाका अग्ला नेताको उपाधि
२०६२/६३ को जनआन्दोलनबाट प्रधानमन्त्री नियुक्त भएपछि एक महिना बित्दा नबित्दै (६–९ जुन, २००६) प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला भारत प्रमणमा जाँदा म पनि सहभागी हुन पाएको थिएँ। ‘बुधबार‘ साप्ताहिकमा काम गर्थें। नेकपा (एमाले) का कार्यवाहक महासचिव अमृतकुमार बोहराले ‘तपाईंको नाम टिपाएको छ, केपी कमरेड (तत्कालीन परराष्ट्रमन्त्री) सँग सम्पर्क गर्नू‘ भनेपछि उहाँलाई सम्पर्क गरेँ।

सायद, भारत जान पाऊँ भन्ने कुनै आकांक्षी पत्रकारको घेरामा हुनुहुँदोरहेछ, केपी कमरेडले ‘मलाई त थाहा छैन, खोइ को को जाने हो?‘ भनेपछि मैले मामिला यहीँ सकियो होला भन्ने ठानेँ। एकछिनपछि आफैँ फोन गरेर ‘अघि त्यस्तैमा थिएँ, थाहा पाइहाल्नुभयो होला, तपाईंको नाम छ, सुरेशजी (प्रधानमन्त्री कोइरालाका सल्लाहकार सुरेशचन्द्र चालिसे) लाई सम्पर्क गर्नू‘ भनेपछि हतारहतार सम्पर्क गरेर प्रक्रिया पुरा गरेँ- शीतल निवास पुगेर जीवनमा पहिलोपटक राहदानी बनाएँ, त्यो पनि कूटनीतिक। (राजनीतिमा साना कुराको पनि कति ठूलो प्रकरण हुन्छ, अलग्गै प्रसंगमा उल्लेख गरुँला।) प्रमोद दाहाल, जगत नेपाल, बलराम बानियाँ, ऋषि धमाला, युवराज घिमिरे, कनकमणि दीक्षितलगायत हामी १३ जना थियौँ।

हामी नेपाल वायुसेवा निगमको जहाजमा नयाँ दिल्ली उत्रियौँ। एउटै जहाज भए पनि प्रधानमन्त्री र अरुका बीचमा त्यहाँ अन्तर भइहाल्छ। विमानस्थलमा उत्रिँदै थियौँ- हाम्रा प्रधानमन्त्रीलाई स्वागत गर्न त भारतीय प्रधानमन्त्री डा. सिंह आफैँ आउनुभएको रहेछ। हामीले सीधै देख्न पाएनौँ, बाटो नै फरक पर्‍यो। पछि ऋषि धमाला कुद्दै आएर आफ्नो चिरपरित शैलीमा ‘बुझ्नु भो? डा. मनमोहन सिंहले गिरिजाबाबुलाई दक्षिण एसियाकै अग्लो नेता भन्नुभो नि’ भन्दासम्म पनि हामी ‘हो र ?‘ भन्नेमै थियौँ  

होटल पुगेपछि भ्रमणदलमा सहभागी अर्थमन्त्री रामशरण महत, स्थानीय विकासमन्त्री राजेन्द्रप्रसाद पाण्डे, महिलामन्त्री उर्मिला अर्याल आदिले त्यही कुरा दोहोर्‍याए। त्यतिबेलासम्म पनि हामीले त्यसको महत्त्व ठम्याइसकेका थिएनौँ। भोलिपल्ट भारतीय अखबारले त्यही कुरा महत्त्वका साथ लेखे। साथै, सेभेन रेसकोर्समा प्रधानमन्त्रीस्तरको वार्तापछि तत्कालीन भारतीय विदेशराज्यमन्त्री आनन्द शर्माले हामीलाई त्यही शब्द सुनाए। अनि विदेश मन्त्रालयका प्रवक्ताले आफ्ना प्रधानमन्त्रीको भनाइ उल्लेख गर्दै औपचारिक रूपमै भने, ‘श्री कोइराला नेपालको सरकार प्रमुख मात्र हुनुहुन्न, बरु अग्लो व्यक्तित्वका रूपमा नेपालका सबै प्रजातान्त्रिक शक्ति र दक्षिण एसियाकै नेता हुनुहुन्छ।’ (मिस्टर कोइराला नट जस्ट एज अ हेड अफ गभर्मेन्ट बट एज अ टाउरिङ पर्सनालिटी एन्ड द लिडर अफ अल डेमोक्र्याटिक फोर्सेस इन नेपाल एन्ड साउथ एसिया)।

साविक प्रोटोकलभन्दा माथि उठेर नेपालका प्रधानमन्त्रीलाई स्वागत गर्न भारतीय प्रधानमन्त्री विमानस्थलमा आउनु सामान्य कुरा थिएन। त्यसयता त मन्त्री पनि होइन, राज्यमन्त्री आउँछन्, त्यो पनि विदेश मन्त्रालयका नभई अरू नै कुनै नामै नसुनिएका मन्त्रालयका। अहिले फर्केर हेर्दा गिरिजाप्रसाद कोइरालालाई व्यक्तिगत रूपमा पनि भारतले उच्च सम्मान दिएको कारणबारे विश्लेष्ण त गर्न सकिन्छ तर निष्कर्ष निकाल्न कठिन छ। किनकि, तिनै कोइरालालाई राष्ट्रपति बन्नबाट छेक्न पछि आफ्नो अधिकांश जीवन भारतमै बिताएका रामराजाप्रसाद सिंहलाई आश्चर्यजनक रूपमा माओवावादीमार्फत अघि सारिएको थियो। त्यतिबेला पनि प्रधानमन्त्री चाहिँ मनमोहन सिंह नै थिए।

फर्किनुभन्दा अगाडिको बिहान प्रधानमन्त्री कोइरालाले हामी नेपाली पत्रकारहरूलाई आफ्नो स्वीटमा खाजा खान बोलाउनुभएको थियो। प्रसंँग त्यही उठ्यो- एसियाको अग्लो नेता। गिरिजाबाबुले त्यसलाई सामान्य रूपमा लिँदै मनमोहन सिंहका बारेमा भन्नुभयो, ‘उनी विश्वकै ठूला विद्वान् हुन्, विद्वान्‌हरूले यस्ता कुरा अरूलाई भनिदिन्छन्।’

‘त्यतिबेलासम्म पनि भारतले आफ्नो दुई पिलरको नीति ‘राजतन्त्र र बहुदलीय व्यवस्था’ छाडेको थिएन। अरू विषय देखाउन होला- गिरिजाबाबु यसै विषयमा कुरा गर्न दिल्ली पुगेको मेरो विश्लेषण छ।

प्रसंग २ः मिस्टर योङ एडभाइजर
१८–२२ अगस्ट, २००९ मा प्रधानमन्त्री माधवकुमार नेपालले भारत भ्रमण गर्दा त्यसका लागि अनुकूल वातावरण बनाउन म र ६ जना वरिष्ठ पत्रकारहरू (युवराज घिमिरे, कनकमणि दीक्षित, सुधीर शर्मा, अखिलेश उपाध्याय, नारायण वाग्ले र अमित ढकाल) का साथमा तीन दिन पहिले नै दिल्ली पुगेको थिएँ। युवराज घिमिरे र कनकमणि दीक्षितको दिल्लीमा रहेको फराकिलो मित्रता र सञ्चार क्षेत्रसँगको गहिरो सम्बन्धलाई उपयोग गर्दै भ्रमणका लागि अनुकूल वातावरण तयार गर्न हामीले समय खर्चेका थियौँ। सत्ताबाट बाहिरिनुपरेपछि विक्षिप्त भएको माओवादीले देशभित्र ‘भारतीय कठपुतली’  भन्दै बदनाम गरिरहेका बेला प्रधानमन्त्री नेपालको भारत भ्रमण भइरहेको थियो र त्यसले केही न केही ठोस काम गरोस् भन्ने गृहकार्यमा हामीले काम गरेका थियौँ।

प्रधानमन्त्री नेपालको टोली दिल्ली उत्रिएपछि सामान्य औपचारिकतापछि भोलिपल्ट हैदरावाद हाउसमा दुई देशका प्रधानमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डलस्तरको औपचारिक वार्ता हुँदा म वार्ता टोलीमा थिइनँ। २२ पार्टी मिलेर बनेको सरकारका मन्त्रीहरूको सन्तुलन मिलाउँदा र सरकारी आवश्यक अधिकारीहरू राख्दा स्वतः नेपाली प्रतिनिधिमण्डल ठूलो भएपछि मैले अरू बेलाझैँ आफैँ प्रधानमन्त्रीलाई सहज बनाइदिएको थिएँ।

तर, प्रधानमन्त्रीले वार्तालगत्तै हैदरावाद हाउसमै भारतीय प्रधानमन्त्री डा. सिंहले आफ्नो सम्मानमा आयोजना गरेको स्टेट ब्यांकेटमा मलाई राख्नुभएको रहेछ। खबर आएपछि तोकिएको समयमा म त्यहाँ पुगेँ।

हैदरावाद हाउसमा दुवैतर्फका प्रतिनिधिमण्डल लाइन लागेर बस्ने र एकअर्का देशका प्रधानमन्त्रीसँग शिष्टाचार महापालले चिनजान गराउने सामान्य शिष्टाचारभित्रै पर्दछ। हामी पंक्तिबद्ध थियौँ, भारतीय प्रधानमन्त्री सिंह आउनुभयो र हाम्रा शिष्टाचार महापाल मोहनकृष्ण श्रेष्ठले एक एकको परिचय गराउँदै चिनाउनुभयो। मेरो अगाडि आएपछि प्रधानमन्त्री सिंह एकछिन रोकिनुभयो। सानै उमेरमा प्रधानमन्त्रीको सल्लाहकार भएको देखेर उहाँलाई अलि फरक लागेछ।

‘मिस्टर योङ एड्भाइजर’ भन्दै काँधमा हात राख्नुभयो। छेउछाउमा उभिएका साथीहरूको ध्यान त्यतै हुने नै भयो। मैले नमस्कार गरेर आफ्नो कृतज्ञता प्रकट गरेँ। त्यति ठूलो र अन्यन्त कम बोल्ने नेताले सबका सामु आफ्ना बारेमा टिप्पणी गर्नुहोला भन्ने अनुमान गरेको थिइनँ। सम्मुखबाटै मनमोहन सिंहलाई भेट्दा उहाँको सरलता चर्चा गरेभन्दा पनि बढी रहेको अनुभव गरेँ।

प्रसंग ३ः ‘बच गया भाइ?’
हैदरावाद हाउसमा आयोजित रात्रिभोजमा नेपाल-भारत दुवैतर्फबाट २४–२४ जनालाई आमन्त्रण गरिएको रहेछ। आमनेसामनेको बसाइमा सबैका बस्ने स्थान नामसहित पहिल्यै तय भएका थिए। मेरो दायाँ नेपालका लागि तत्कालीन भारतीय राजदूत राकेश सुद थिए भने बायाँतर्फ भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी) का नेता सीताराम यचुरी थिए। सबैले आसनग्रहण गरिसकेपछि प्रधानमन्त्री माधवकुमार नेपालले मतिर हेर्नुभयो। हामी एउटै लाइनमा थियौँ, म अलि टाढा थिएँ। उहाँले निहुरेर हेरेपछि मैले कुरा बुझेँ र नजिक गएँ। उहाँसँग रात्रिभोजमा दिने प्रत्युत्तर भाषण रहेनछ।

म दिउँसोको वार्तामा थिइँन र मैले भाषणको एक प्रति डा. मदनकुमार भट्टराई (तत्कालीन परराष्ट्र सहसचिव) लाई दिएको थिएँ, उहाँ त्यसअघिको वार्तामा हुनुहुन्थ्यो। तर, उहाँको नाम रात्रिभोजमा सहभागीहरूको सूचीमा रहेनछ र उहाँ आफ्नो काम सकेर निस्किसक्नुभएछ। मैले बाहिर आएर फोन गर्दा उहाँले ‘म त होटल पुगिसकेँ‘ भनेपछि म निरुपाय भएँ। त्यहाँका सुरक्षा अधिकारीलाई ‘ढोका खोल्न मिल्छ?’ भनेर सोध्दा ‘दिल्ली पुलिस कमिसनरको अनुमति चाहिन्छ, हामी सक्दैनौँ’ भन्ने जवाफ पाएपछि मलाई झन् आपत पर्‍यो। मैले पेन ड्राइभमा सफ्ट कपि बोकेको थिएँ, त्यहाँका कर्मचारी कार्यालय बन्द गरेर हिँडिसकेछन्, प्रिन्ट गर्ने कुनै सम्भावना भएन। अहिले यहाँ उल्लेख गर्दा त सामान्यजस्तो लाग्ला तर त्यस दिन र त्यतिबेलाको जस्तो संकट मैले कहिल्यै भोगेकै छैन। कुन मुख लिएर भित्र जाने, के भनेर जवाफ दिने? जिम्मेवारी मेरो नभए पनि मैले त्यसो भनेर उम्किन पाउने अवस्था थिएन।

त्यही बेलामा परराष्ट्रसचिव ज्ञानचन्द्र आचार्य फुत्त बाहिर निस्किनुभयो। ‘सरले प्रधानमन्त्रीज्यूको भाषण खोज्नुभएको होइन? मसँग छ ‘भनेपछि मैले पाएको राहतको यहाँ वर्णन गरी साध्य छैन। म बाहिर आएपछि भित्र खासखुस भइसकेको रहेछ र सबैलाई कारण पनि थाहा भइसकेको रहेछ। पहिला ज्ञानचन्द्रजी भित्र जानुभयो, अनि मभित्र पसेर प्रधानमन्त्रीलाई सुटुक्क भाषण दिएँ। फर्केर सिटमा बस्न पाएको थिइनँ, छेउमै बसेका हास्यचेतका नेता सीताराम यचुरीले सोधिहाले, ‘बच गया भाइ?’ म हाँसे मात्र। राकेश सुदले ‘विष्णुजी मेनेज कर लेते है’ भनेर टिप्पणी गरे।

पहिले भारतीय प्रधानमन्त्री सिंहले हाम्रा प्रधानमन्त्री नेपालको सम्मानमा उठेर मन्तव्य दिने अनि प्रत्युत्तरमा हाम्रा प्रधानमन्त्रीले भाषण दिएपछि आयोजक प्रधानमन्त्रीले टोस्ट प्रस्ताव राख्ने तय थियो। तर, म बाहिर निस्केपछि कुरा बुझेर प्रधानमन्त्री सिंह सिटबाट उठेनन् र अरू अरू कुरा गरेर मलाई पर्खिए। पछि हामीले आपसमा कुरा पनि गर्‍यौँ- उनले कार्यतालिकाअनुसार तुरुन्तै उठेर भाषण दिएको भए हाम्रो हालत के हुन्थ्यो होला?

त्यतिबेला प्रधानमन्त्री नेपाल दोहोरो दबाबमा हुनुहुन्थ्यो। एकातिर शान्ति सम्झौता भएका कारण नेपाली सेनाका लागि हातहतियार ल्याउन रोक लागेको थियो भने अर्कातिर भारतसँग भएको सम्झौताअनुसारका हतियार छिटोभन्दा छिटो लेऊ भनेर राकेश सुदले यहाँ ताकेता लगाएका लगायै थिए।

पछि हामीलाई प्रधानमन्त्री नेपालले भनेअनुसार, समकक्षी सिंहसँगको एकल भेटमा आफूले अहिले हतियार भित्र्याएमा बिच्किएको माओवादीले त्यही निहुँमा शान्ति प्रक्रिया भाँड्ने खतरा राम्रोसँग बुझाएपछि उनले ‘नो प्रोब्लम‘ भन्दै ‘तपाईंको सुविधाअनुसार गर्नूस्, यसमा कुनै दबाब रहन्नँ’ भनेर एउटा ठूलो बोझ हल्का बनाइदिएका थिए। वान टु वान भेटघाटमा भएको त्यस समझदारीपछि उहाँको कार्यकालभरि त्यो दबाब दोहोरिएन।

१० वर्षसम्म भारतको प्रधानमन्त्री हुँदा मनमोहन सिंह आफैँ त नेपाल आएनन् तर नेपालका धेरै प्रधानमन्त्री र नेताहरूलाई दिल्लीमा स्वागत गरे। नेपालको शान्ति द्वन्द्व व्यवस्थापनमा प्रत्यक्ष/परोक्ष मनमोहन सिंहले योगदान गरेका छन्। धेरै नबोलेरै पनि काम गर्न सकिन्छ र इतिहासले न्याय गर्छ भन्ने मान्यताका अनुयायी सिंहले आफूलाई गान्धी परिवारभन्दा पर कहिल्यै सोचेनन्।

गान्धी परिवारको आशीर्वादमा ‘दुर्घटनावश प्रधानमन्त्री’ (एक्सिडेन्टल प्राइम मिनिस्टर) भनिएकोमा कुनै आपत्ति नजनाउँदै उनले उल्टै भनेका थिएँ, ‘म वित्तमन्त्री पनि एक्सिडेन्टल हुँ।’

भारतको अर्थव्यवस्था सुधारको श्रेय निःसन्देह उनलाई जान्छ।

आज विश्वले नै श्रद्धाञ्जली दिइरहेको छ, सम्झिरहेको छ।

हार्दिक श्रद्धाञ्जली डा. मनमोहन सिंह। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad