विचार


चीन घुमेर मैले जे सिकेँ

चीन घुमेर मैले जे सिकेँ

आशिष रेग्मी
मंसिर १९, २०८१ बुधबार १६:५०, काठमाडौँ

चीन सरकारको निम्तामा कार्तिक २७ गते (नोभेम्बर १२) एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा १५ सदस्यीय प्रतिनिधिमण्डल चीन भ्रमणमा निस्कियो। जसको एक सदस्य म आफैँ पनि थिएँ। उसो त म पहिलोपटक चीन गइरहेको थिइनँ। यसअघि २०१७ मा चीनको ग्वाङ्डोङ प्रान्तको ग्वान्झावो र जझियाङ् प्रान्तको यिऊ भ्रमण गरिसकेको थिएँ। ती व्यक्तिगत भ्रमण थिए तर सात वर्षपछिको यो भ्रमण मेरा लागि राजनीतिक अनुभव र व्यक्तिगत सिकाइ दुवै रूपले महत्त्वपूर्ण रह्यो। 

त्यही भएर पनि मनमा उत्साह र उमङ्ग बेग्लै थियो। चीनको भ्रमणले मलाई समाजवादको व्यावहारिक कार्यान्वयन, जीवनशैली र राजनीतिक संस्कारका धेरै पक्षहरूसँग नजिकबाट परिचित गरायो। यसपटक चीनमा बिताएको समय मेरा लागि केवल एउटा भ्रमण मात्र नभई विभिन्न पक्षमा नयाँ दृष्टिकोण प्राप्त गर्ने अवसर बन्यो। चीन भ्रमणपछिको मेरो अनुभव र विश्लेषण बुँदागत रुपमा निम्नप्रकार छन्। 

अनुशासन र पार्टीप्रतिको गौरव भाव
नेपालको विमानस्थलमै आफूलाई एयरलाइन्सको जेनरल म्यानेजर बताउने एक व्यक्तिले आफूलाई चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को सदस्य हुनुमा बढी गौरव भएको बताए। सीपीसीको सदस्य हुँ भन्दा उनको बडील्यांग्वेजमा उच्च आत्मविश्वास भएको भान हुन्थ्यो। जेनेरल म्यानेजर हुँदा पनि सामान्य भन्दा सामान्य काम पनि उनी बिनाकुनै सङ्कोच गरिरहेका थिए। यस्तै आफ्नो कामप्रतिको लगाव चीनका भेटेजति मानिसमा पाएँ। 

अनि सम्झिएँ, हामी त आफ्नो नेतृत्व र पार्टीलाई तथानाम भन्दा र पार्टी निर्णयविरुद्ध उभिँदा गौरवान्वित हुन्छौँ। जनवादी केन्द्रीयतालाई व्यावहारिक रुपमा चीनमा प्रयोगमा आएको देखेँ, हामीले सिद्धान्तका कुरा मात्र गरिरहेको पाएँ। अनुशासन र पार्टी सदस्य हुनुको महत्त्वलाई सही मानेमा बुझ्न सके एमालेलाई दीर्घकालीन सत्ताधारी समाजवादी पार्टी बनाउन हाम्रै पुस्तामा सम्भव रहेको महसुस गरेँ। 

सैद्धान्तिक समानता 
भ्रमणका क्रममा महसुस गरेको अर्को पाटो भनेको मार्क्सवादी विचारमा आफ्नो परिवेष अनुसारको विश्लेषण र परिमार्जन हो। शीतयुद्धपछि कम्युनिसट आन्दोलन संसारभरि धर्मराइरहेको अवस्थामा केही देशहरूमा मात्र टिक्न सकेको छ। परिमार्जन नरुचाउने र मार्क्सकालीन विचारलाई फरक परिवेशमा पनि हुबहु लागू गर्न खोज्नु नै कम्युनिस्ट आन्दोलन खस्किनुको कारण हो भन्ने मेरो बुझाइलाई थप बल पुग्यो। गतिशीलता राजनीतिको अभिन्न अङ्ग हो। 

सीपीसीले भनेको ‘पूर्ण जनवाद’ र एमालेले भनिरहेको ‘जनताको बहुदलीय जनवाद’ मा आआफ्नो देशको परिवेशमा आधारित मार्क्सवादको सिर्जनात्मक प्रयोग भएको पाएँ। दुवै देशको आफ्नो विशेषता सहितको समाजवादको बाटोमा सैद्धान्तिक समानता पाएँ। हान जानिको पूर्ण बाहुल्यता भएकाले सायद बहुलवादको विषय चीनका लागि त्यति सान्दर्भिक नभएको होला, तर नेपालजस्तो सानो भूगोलमा रहेको विविधतालाई व्यवस्थापन गर्न बहुलतालाई अस्वीकार गर्नै सकिँदैन। 

तथ्याङ्कमा आधारित छलफल  
मेरो एकदमै मन छोएको दुई विषयमध्ये एक उनीहरूले गर्ने तथ्याङ्कमा आधारित सटिक छलफल रह्यो। हरेक छलफलमा कसले कति समय बोल्ने भनेर छुट्याइएको हुन्थ्यो। १० दिनको बसाइमा कुनै पनि कार्यक्रम निर्धारित समयभन्दा ढिला सुरु भएन। अनि हरेक व्यक्ति बोल्दा समय र तथ्याङ्कलाई विशेष महत्त्व दिएको पाएँ। 

भूमिका बाँध्नेभन्दा पनि सिधा मुद्दामा प्रवेश गर्ने अनि तथ्याङ्क र बुँदागतरुपमा दिइएका प्रेजेन्टेसन र भाषणहरू मलाई औधी मन पर्‍यो। सतही गफभन्दा पनि तथ्याङ्क र मुद्दाकेन्द्रित बहस हामीले अपनाउनु पर्ने विशेषताभित्र पर्ने मैले अनुभव गरेँ। व्यक्तिगतरूपमा आफैबाट सुधार गर्ने प्रण पनि लिएको छु।   

युवा सक्रियता
युवा भएकै भरमा नेतृत्व गर्न पाउनुपर्छ भन्ने विषयको पक्षधर म होइन। तर के चाहिँ वकालत गर्छु भने युवा बेलादेखि नै उनीहरूको क्षमता विकास र व्यक्तित्व निर्माणमा विशेष ध्यान दिनुपर्छ। यो हरेक क्षेत्रको आवश्यकता हो। राजनीतिमा पनि युवाहरूको यसरी नै विकास गर्दै जिम्मेवारी दिँदै जानुपर्छ भन्ने विषयको प्रभावकारी कार्यन्वयन चीन भ्रमणमा देखेँ।  

हाम्रो भ्रमण टोलीको संयोजन गरिरहेका युवाहरूले वर्षभरिमा त्यस्ता कति प्रतनिधिमण्डलसँग जोडिएर काम गर्दा हुन्। त्यसबाट उनीहरूको व्यवस्थापन, सञ्चार नेतृत्व विकासजस्ता सीप व्यावहारिक तवरबाटै अभ्यास गर्दै जान्छन्। त्यहाँ देखाएको कौशलले उनीहरूको पदोन्नति हुँदै जाने पाएँ। नेपाली राजनीतिमा पनि दलहरूले आवश्यक क्षेत्रहरूमा युवाहरूलाई यसरी नै क्षमता विकास गर्दै जिम्मेवारी दिँदै जानुपर्ने महसुस गरेँ। 

समाजवादी विकास र खुलापन
हामीसँगैका चिनियाँ सहकर्मी साथीलाई मैले सोधेँ, ‘तपाईंहरूले सी चिनफिङको कार्यकाललाई नयाँ युग भन्नुहुन्छ। अनि उनको विचारलाई नयाँ युगको चिनियाँ विशेषता सहितको समाजवाद भनिरहनु भएको छ। सामान्य मानिसले बुझ्ने भाषामा बताइदिनु न।’

उनको उत्तर थियो, ‘सी चिनफिङ शक्तिमा आएपछि सहरी क्षेत्रमा भन्दा पनि पिछडिएको क्षेत्रमा विकास भएको छ। परिवर्तनलाई दाँज्ने हो भने सहर बाहेकका क्षेत्रमा राज्य बढी केन्द्रित छ।’

त्यसलाई पुष्टि गर्न हामी पुगेको अन्सी सहरको रुपरेखा नै काफी थियो। करिब ९२ प्रतिशत हान जाति भएको चीनले पछिल्लो समयमा महत्त्व दिएको यो अन्सी क्षेत्र तुजिया र मियाओ जाति लगायत अल्पसंख्यकहरूका स्वशासित क्षेत्र रहेछ। उनीहरूको संस्कृतिलाई जुन किसिमले संरक्षण गरिएको छ र त्यस ठाउँमा विकासका काम जुन गतिमा भएको त्यसले मलाई साँचो अर्थमा समाजवादी विकास चीनले गरेको महसुस गरायो। 

आर्थिक प्रगति पश्चात् चीन विश्व समुदाय सामु खुला हुन प्रयासरत भएको अनुभव गरेँ। तर, उसले अपनाउन खोजेको नियन्त्रित खुलापनको बाटो कति सफल होला, त्यो आउँदा दिनहरूले बताउला। खुलापनको मामिलामा भने हाम्रो नेपाली समाज धेरै अघि रहेको पाएँ। खुलापनको आडमा लोकप्रियतावादले जसरी जरा गाड्न खोज्दैछ, त्यसलाई चिर्न सके नेपाली समाजको सहिष्णु चरित्रको खुलापन हामीले चीनलाई दिन सक्ने सैद्धान्तिक उपहार हुन सक्छ। अन्यथा अराजकताको भुमरीमा फस्ने चरम सम्भावना रहन्छ। सायद पपुलिजमको आडमा सुरु हुने सामाजिक अराजकताबाट जोगिन चीनले नियन्त्रित खुलापनको बाटो रोजेको हो कि!

चीन भ्रमणले समाजवादको व्यावहारिक पक्ष, समयको उपयोग, र जनतासँगको पार्टीको सुमधुर सम्बन्धका धेरै प्रेरणादायी पक्षहरूलाई नजिकबाट बुझ्ने अवसर दियो। यसले नेपालमा पनि समाजवादी यात्रालाई थप प्रभावकारी बनाउन हामीले सिक्नुपर्ने धेरै कुरा छन् भन्ने महसुस गरायो। चीनमा देखिएको यो अद्वितीय अनुभवले हाम्रो समाजलाई समाजवादतर्फ अघि बढाउन मार्गदर्शन गर्न सक्छ। समयको सम्मान, कामप्रतिको लगाव, र युवापुस्ताको योगदानजस्ता पक्षहरू नेपालमा पनि लागू गर्न सके समाजवादी यात्रालाई नयाँ उचाइमा पुर्‍याउन सकिने मेरो बुझाइ रह्यो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad