विचार


अमेरिकालाई महान् होइन, रुस र चीनजस्तो बनाउन खोज्दै छन् ट्रम्प

ट्रम्पले आन्तरिक शत्रुलाई आक्रमण गर्दा बाहिरका शत्रु हाँस्ने छन्
अमेरिकालाई महान् होइन, रुस र चीनजस्तो बनाउन खोज्दै छन् ट्रम्प

गिडियन राकमन
मंसिर ६, २०८१ बिहिबार १२:१८,

डोनाल्ड ट्रम्पको नारा हामी सबैलाई थाहा छ। तर, आफ्ना घरेलु शत्रुविरुद्ध युद्ध सुरु गरेर उनले अमेरिकालाई फेरि महान् बनाउने छैनन्। बरु, उनको प्रतिशोध अभियानले अमेरिकाको महानताका वास्तविक आधारहरूलाई भत्काउने खतरा छ।

अमेरिकी सेना, देशका प्रमुख विश्वविद्यालय, फेडेरल रिजर्भ, न्यायप्रणाली, स्वतन्त्र प्रेस, वैज्ञानिक प्रतिष्ठान र अमेरिकी नागरिकको स्वास्थ्य समेत जोखिममा छ। ट्रम्पले महत्त्वपूर्ण पदहरूमा प्रतिशोधी सनकीहरूलाई मनोनयन गरेका छन्। रोबर्ट एफ केनेडीजस्ता मानिसलाई मनलाग्दी गर्ने छुट दिने वाचा गरेका छन्।

ट्रम्पका नीतिले अमेरिकालाई जुन क्षति गर्न सक्छ, त्यसबाट मस्को र बेइजिङजस्ता उसका असली शत्रु खुसी हुनेछन्। जब कुनै राष्ट्र आफ्नैविरुद्ध आक्रमणमा उत्रिन्छ, तब त्यो राष्ट्रको अन्तर्राष्ट्रिय शक्ति पतन हुन सक्छ। आफ्नै इतिहास हेरेर तिनले यो कुरा जान्दछन्।

ट्रम्पका तालिमप्राप्त फौजको विश्वास छ– पहिले आन्तरिक शत्रुलाई नष्ट गरेपछि मात्रै मुलुकलाई पुनः महान बनाउन सकिन्छ। ट्रम्पले नै भनेका छन्, रुस र चीनभन्दा ‘भित्रका शत्रु ज्यादा खतरनाक हुन्छन्।’ उनले नियुक्त गरेका मान्छेहरू बदलाका लागि अमेरिकी संस्थाहरूलाई उलटपुलट गर्न तयार छन्। 

ट्रम्पले रक्षामन्त्रीमा मनोनयन गरेका पिट हेगसेथले लेखेका छन्, ‘कहिलेकाहीँ लडाइँ आन्तरिक शत्रुविरुद्धको संघर्षबाट सुरु हुनुपर्छ।’ एउटा पडकास्टमा उनले घोषणा गरेका छन्, ‘विविधिता, समानता र समावेशिता कार्यक्रममा सहभागी जुनसुकै जर्नेल, जुनसुकै एड्मिरललाई निकालिनेछ।’

वरिष्ठ सैन्य अधिकारीहरूलाई हटाउन र तिनको ठाउँमा बफादारहरूलाई नियुक्त गर्न ट्रम्पले एउटा ‘वारियर बोर्ड’ गठन गर्ने योजना बनाएको समाचारहरूमा जनाइएको छ। त्यस्तै, उनको टिमले अफगानिस्तानबाट भद्रगोल फिर्तीमा भूमिका खेलेका केही सैन्य अधिकारीहरूलाई ‘कोर्ट मार्सल’ गर्ने विषयमा सोचविचार गरिरहेको खबर पनि छ।

पहिलो कार्यकालमा ‘उनका’ जर्नेलहरूले आफ्नो वफादारी व्यक्तिगत रूपमा उनीप्रति होइन, संविधानप्रति रहेको बताएपछि ट्रम्प आगो भएका थिए। ‘ब्ल्याक लाइभ्स म्याटर’ प्रदर्शनका क्रममा ट्रम्पले सडकमा सेना उतार्न खोज्दा वरिष्ठ सैन्य अधिकारीहरूले विरोध गरेका थिए।

यसपटक आफ्ना नयाँ बढुवा भएका सैन्य अधिकारीहरू पूर्णतः आज्ञाकारी रहून् भन्ने उनको चाहना छ। खासगरी उनले अवैध आप्रावासीहरूको सामूहिक निकालामा सेना खटाउन चाहेमा। तर, सबैभन्दा वरिष्ठ जर्नेलहरूलाई हटाउँदा देश नै कमजोर हुनसक्छ र सेना पनि द्विविधामा फस्न सक्छ।

अमेरिकाका जासुसी निकाय पनि जोखिममा छन्। ट्रम्पद्वारा नेसनल इन्टेलिजेन्सको निर्देशक मनोनित तुलसी गबार्ड सिरियाका बसर अल असद अनि रुसका भ्लादिमिर पुटिनप्रति सहानुभूति राख्ने मान्छेका रूपमा चिनिन्छिन्। उनले लगातार रुसी प्रचारबाजी दोहोर्‍याउने गरेकी छन्। युक्रेनमा रुसको आक्रमण हुनुमा नेटोको विस्तार जिम्मेवार रहेको र अमेरिकाले युक्रेनभित्र गुप्त जैविक प्रयोगशाला चलाइरहेको उनको भनाइ छ। उनको नियुक्तिले अमेरिकाका सहयोगीहरूमाझ खलबली मच्चिनेछ। त्यसमध्ये बेलायत सबैभन्दा प्रमुख हो, जसले अमेरिकासँग नियमित रूपमा जासुसी सूचना साझा गर्ने गर्छ।

अमेरिकी विज्ञान र चिकित्सा संसारमै अगाडि छ। तर ट्रम्पले स्वास्थ्य तथा मानव सेवा मन्त्रालयको जिम्मा षड्यन्त्रका सिद्धान्तकारलाई दिने प्रस्ताव गरेका छन्। ट्रम्पकै समर्थन गर्ने न्युयोर्क पोस्टले धरी केनेडी जुनियरलाई भेटेपछि निष्कर्ष निकालेको छ, ‘थुप्रै विषयमा उनी अर्धसिल्ली रहेछन्।’ खोपप्रतिको उनको दुस्मनी उनले सिंगो अमेरिकामाथि थोपरे भने केनेडी जुनियरले भविष्यको महामारीको बीउ रोप्नेछन्।

विश्वका शीर्ष १० मध्ये ७ युनिभर्सिटी अमेरिकामा छन्। तर, ती पनि ट्रम्पको शत्रुको सूचीमा छन्। उनका सहयोगीहरूको दाबी छ, युनिभर्सिटीहरू ‘वोकनेस’ (जागरुकता) र यहुदी घृणाको गढ हुन्। ट्रम्पलाई समर्थन गर्ने एक लगानीकर्ता बिल एकम्यानले हालै भनेका छन्, ‘यल युनिभर्सिटी पनि हमासभन्दा फरक छैन।’ ‘वोकनेस’माथिको हमलाको नाममा युनिभर्सिटीहरूलाई घुँडा टेकाउने प्रयास हुँदैछ। भोलि गएर अमेरिकामा बौद्धिक स्वतन्त्रतामाथि नै खतरा आउन सक्छ। महान् विश्वविद्यालयहरू त्यही बौद्धिक स्वतन्त्रतामा निर्भर छन्।

अमेरिकालाई उसका निरंकुश प्रतिद्वन्द्विीहरूबाट वास्तवमै अलग गर्ने विशेषता भनेको प्रेस स्वतन्त्रता हो। त्यो पनि खतरामा छ। ट्रम्पले आफूलाई मन नपरेका सञ्चारमाध्यमहरूका विरुद्ध कयौँ मुद्दा दायर गरेका छन्। यो सर्वसत्तावादी शासनहरूको अत्यन्त प्रचलित रणनीति हो।

कुनै पनि स्वतन्त्र संस्थालाई ट्रम्प खतरा मान्छन्। उनको प्रशासनले फेडेरल रिजर्भका प्रमुख जेरोम पावेललाई बर्खास्त गर्ने अनुमान छ। ट्रम्पसँग आफूलाई वैधानिक रूपमा हटाउने शक्ति नरहेको  पावेलले पत्रकारहरूलाई सम्झाएका छन्।

तर, ट्रम्पको कानुनी शासनबारे आफ्नै राय छ। महान्यायाधिवक्तामा ट्रम्पले मनोनयन गरेका म्याट गेट्ज नाबालिकको साथ यौन सम्बन्ध राखेकोलगायत नैतिकता उल्लंघनका आरोपमा रिपब्लिकन सांसदहरूकै अनुसन्धानमा थिए। उनले आरोप अस्वीकार गरेका छन्। ट्रम्पजस्तै आफू पनि राजनीतिकरण भएको न्याय प्रणाली सिकार बनेको उनको दाबी छ। स्टिभ ब्यानन, पिटर नवारोलगायत ट्रम्पका निकटस्थहरू भर्खरै जेलबाट निस्केका छन्।

उनीहरू क्रुद्ध छन्। तिनको उदेश्य बदला लिनु हुनसक्छ। जसले न्यायप्रणालीलाई आफ्ना शत्रुको खेदो गर्न प्रयोग गर्न सक्छन्। यो दुःख पाउने व्यक्तिका लागि मात्र होइन, देशकै लागि नराम्रो खबर हो।

अमेरिकी महानता कानुनको शासनमा आधारित छ। विदेशीहरूले अमेरिकी सम्पत्ति र सञ्चिति मुद्राका रूपमा डलरलाई विश्वास गर्नुको कारण नै कानुनी शासन हो। यदि ट्रम्पले न्याय प्रणालीलाई शत्रुको खेदो गर्न प्रयोग गरे अनि आफ्ना अर्बपति आसेपासेलाई पुरस्कृत गरे भने लगानीकर्ताहरू डराउन सक्छन्।

अमेरिकी संस्थाहरूमाथिको आक्रमणले अमेरिका फेरि महान बन्दैन, बरु यसले अमेरिकालाई रुस र चीनजस्तो बनाउने छ। जसले पुटिन र सी चिनिफिङलाई फाइदा हुने छ। त्यसको परिणाम भने अमेरिकी र अमेरिकाका सहयोगीहरूले भोग्ने छन्। 

(फाइनान्सियल टाइम्सबाट)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad