विचार


महाशक्तिहरूले जित्न नसकेको लडाइँ

अमेरिका मात्र होइन, कुनै पनि महाशक्ति मुलुकले चुन्न सकेका छैनन् महिला नेता
महाशक्तिहरूले जित्न नसकेको लडाइँ

मार्गरेट थ्याचर र इन्दिरा गान्धी


लिन्डा कली
मंसिर ४, २०८१ मंगलबार १८:१४,

पोस्टमार्टमको नतिजा धमाधम आइरहेको छ। अमेरिकी राष्ट्रपतिको पद थाम्ने डेमोक्र्याट पार्टीको आशामा तुसारापात भएको छ। सो पार्टी जे गर्न असफल भयो र जे गर्ने फैसला लियो, त्यसको कारण उसको हार भएको ठम्याइँदै छ। 

भनिँदैछ, सो पार्टीले कमजोर हुँदै गएको सत्तारुढ नेताबाट आफूलाई पर्याप्त रूपमा टाढा देखाउन सकेन। त्यस्तै, अर्थतन्त्र र आप्रवासनका विषयमा ठोस सन्देश दिन असफल रह्यो। सँगसँगै दाबी गरिँदैछ, कमला ह्यारिस र उनका सल्लाहकारहरू वर्ग, जाति र लिंगका महत्त्वमा ज्यादा निर्भर भए। तर, यी पहिचान अस्थिर साबित भए, सबैभन्दा ज्यादा लैंगिक पहिचान।

हो, ५३ प्रतिशत महिलाले ह्यारिसलाई मत दिए। तर, त्यो २०२० मा बाइडेनले पाएको महिलाको मतभन्दा कम थियो। अर्कोतिर श्वेत महिलाहरूको बहुमत ट्रम्पलाई गयो। तर, लैंगिक समस्या यतिमा मात्र सीमित छैन। १९६० को दशकदेखि नै अमेरिकी राष्ट्रपति पदमा कहिलेकाहीँ महिला दाबेदार रहँदै आएका छन्। तर, कोही पनि सफल भएका छैनन्। 

विश्वभरको कुरा गर्ने हो भने सन् २००० पछि निर्वाचित महिला राष्ट्रप्रमुखको संख्या उल्लेखनीय रूपमा वृद्धि भएको छ। तर, ह्वाइट हाउसको पर्खाल भने महिलाहरूले तोड्न सकेका छैनन्। एक अमेरिकी प्रसारकले यसलाई ‘लगभग अमेरिकाको मात्र विशिष्ट समस्या’ घोषणा गरे। 

तर, कुरा त्यसो होइन।

ऐतिहासिक रूपले हेर्दा कुनै पनि महाशक्ति मुलुकको नेतृत्वमा महिलालाई चुनिएको छैन। यदि निर्वाचित महिला राजपरिवारकी सदस्य वा पूर्वशासकको छोरीनातिनी होइनन् भने।

महिलाहरू ठूला र शक्तिशाली राज्यमा शासन चलाउन असक्षम भएकाले यस्तो भएको होइन। १८ औँ शताब्दीमा मरिया टरिजाले ४० वर्षसम्म अस्ट्रियन साम्राज्यको शासन चलाइन्। सोही शताब्दीमा त्यो भन्दा पनि ठूलो रुसी साम्राज्यमा चार महिला शासक थिए। तर उनीहरू शाही महिला थिए। उनीहरूको जन्म र हैसियतले नै लैंगिक अड्चन भत्काउने काम गरेको थियो। तर, महिलाका लागि कुनै ठूलो राज्यमा मत पाएर सत्तामा पुग्नु एकदमै अलग र असाध्यै कठिन काम साबित भएको छ।

इन्दिरा गान्धी र मार्गरेट थ्याचर यसको अपवादजस्ता लाग्छन्। तर, उनीहरू पनि अपवाद होइनन्। दुईपटक भारतको प्रधानमन्त्री निर्वाचित गान्धी नेहरूकी छोरी हुन्। उनले महात्मा गान्धीसँग कुनै रक्त सम्बन्ध नभएको व्यक्तिसँग विवाह गरेकी थिइन्। तर, थर भने गान्धी नै थियो। 

थ्याचरको हकमा उनले निश्चय नै तीनपटक चुनाव जितिन् र ११ वर्ष प्रधानमन्त्री पनि चलाइन्। तर, उनको नेतृत्वमा रहेको बेलायत निकै खस्किसकेको थियो। 

त्यसविपरीत १९ औँ शताब्दीको अन्त्यतिर विन्स्टन चर्चिल हुर्किंदै गर्दा बेलायत महाशक्ति थियो। त्यही कारणले पनि चर्चिलले त्यतिबेला महिलालाई मताधिकार दिने कुराको विरोध गरेका थिए। उनको जोड थियो– संसारभर फैलिएको बेलायती साम्राज्यको शासन पुरुषले नै चलाउने सुनिश्चित हुनुपर्छ।

चर्चिलको यो अडान डोनाल्ड ट्रम्पले कमला ह्यारिसलाई गरेको उपहासभन्दा ज्यादा फरक छैन। ट्रम्पले अमेरिकी मतदातासँग भने, ‘विदेशी शत्रु उनीमाथि सजिलै हाबी हुन्छन्।’ मतलब, विश्वभर प्रभुत्व कायम गरेको अमेरिकाको नेतृत्व हाँक्न कुनै महिला होइन, बलिष्ठ पुरुष चाहिन्छ।

ह्यारिस अश्वेत हुनाले ट्रम्पको भनाइको प्रभाव अझ ज्यादा भयो होला। तर, लिंगसँग सम्बन्धित धारणा र आदतले नै यस्तो भाषालाई शक्तिशाली बनाएको हो। अक्सर नियम तोड्ने व्यक्तिको छवि बनाएका ट्रम्पले यस मामिलामा भने अत्यन्तै रुढी मान्यताको फाइदा उठाए– एउटा बलियो देशको कल्याणका लागि बलियो पुरुष शासक अपरिहार्य छ। किनकि पुरुष नै देशको रक्षक र योद्धा हो।

ट्रम्पले जित्नुको कारण यही मात्र होइन। तर, उनको सफलताको प्रकृति र मात्रा बुझ्न यसले सहयोग गर्छ। उदाहरणका लागि, महिलालाई दुर्व्यवहारको आरोपले ट्रम्पलाई किन राजनीतिक क्षति गरेन भनेर केही टिप्पणीकर्ताहरू चकित छन्। तर, केही अमेरिकी मतदाता (पुरुष मात्र होइन) ले उनको त्यस्तो व्यवहारको खबरलाई उनी झन् शक्तिशाली छन् भन्ने कुराको प्रमाणका रूपमा लिए। 

यो मामिला पनि दोहोरो मापदण्डकै निरन्तरता थियो। जस्तो राजपरिवारको महिलाहरूको हकमा लागू हुने थियो। राजमुकुट लगाएका क्याथरिन महानजस्ता महिला कुनै यौनकाण्डबाट सजिलै बच्न सक्थे। तर, एन्जेला मर्केलजस्ता राजपरिवारबाहिरका र पछिल्ला महिला नेताहरूले ट्रम्पले जस्तै दुनियाँलाई थाहा हुने गरी लापरबाही गरेको भए कतिदिन सत्तामा टिक्थे होलान्?

यसबाट निकै नमिठो पाठ सिक्न सकिन्छ। उच्च पदहरूमा चुनिने महिलाको संख्या वृद्धि हुँदै गएकोमा युरोपेलीहरूले आफैँमाथि गर्व गर्न सक्छन्। तर, महिला शासकहरूको संख्या बढ्नु कतै युरोपेली मुलुकहरू अब विश्वको प्रमुख महाशक्ति नरहेको मौन स्वीकारोक्तिको सूचक त होइन? यसप्रति उनीहरू सोचविचार गर्न चाहलान्।

अमेरिकीहरूका लागि सबक अझ चर्को छ। भारतले इन्दिरा गान्धीपछि अहिलेसम्म महिलालाई प्रधानमन्त्री चुनेको छैन। रुस र चीन दुवैमा महिला साम्राज्ञीहरू थिए तर महिला शासक कहिल्यै चुनेका छैनन्। अर्थात्, महाशक्ति मुलुकहरू पुरुष शासकलाई मात्र चुन्छन्। के अमेरिकाले अन्ततः यो  ढाँचा तोड्ला त? 

हामी भर चाहिँ पर्नु हुँदैन।

(फाइनान्सियल टाइम्सबाट। लिन्डा कली प्रिन्स्टन युनिभर्सिटीमा इतिहास विषयकी प्राध्यापक हुन्)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad