विचार


सी चिनफिङपछि चीनमा हुने क्रान्ति

सी चिनफिङपछि चीनमा हुने क्रान्ति

चीनका राष्ट्रपति सी चिनफिङ (तस्बिर : सिन्ह्वा)


माइकल माजा र क्याथी फाङ
असोज २७, २०८१ आइतबार २२:२६,

चिनियाँ कम्युनिस्ट पार्टीका तीनवटा सम्मेलन (२०१२ को अठारौँ, २०१७ को उन्नाइसौँ र २०२२ को बीसौँ) का दौरान सी चिनफिङले पार्टीको शीर्ष स्थान आफ्ना लागि मजबुत रूपले सुरक्षित गरेका छन्। यसक्रममा उनले शीर्ष तहको राजनीति सञ्चालन गर्दा पुराना मान्यता र नियमहरूलाई त्यागेका छन् र आफ्ना प्राथमिकता लागू गरेका छन्।

चीनको शासनको शक्ति समीकरण, नीतिगत प्राथमिकता र विश्वमञ्चमा उसको भूमिकाजस्ता कुरा अब कुन दिशातिर जाला भन्ने विषयमा नयाँ प्रश्नहरू उब्जेका छन्। जसलाई खुट्याउन विश्लेषक र राजनीतिकर्मीहरू उस्तैगरी संघर्षरत छन्। यी परिवर्तनको धक्का ग्रेट वालभन्दा टाढाटाढासम्म पुगेको छ। जसले आउँदा वर्षहरूमा महाशक्तिहरूबीचको प्रतिस्पर्धाको रूपरेखालाई नै बदल्न सक्छ।

उन्नाइसौँ र बीसौँ पार्टी सम्मेलनबाट एउटा स्पष्ट पाठ सिक्न सकिन्छ। त्यो के हो भने कुनै पनि नेताको उदयका लागि अब सीप्रतिको व्यक्तिगत वफादारी एउटा महत्त्वपूर्ण पक्ष हो। सायद सबैभन्दा महत्त्वपूर्ण। तर, व्यक्तिगत वफादारी जति नै महत्त्वपूर्ण भए पनि त्यसले नेतृत्व छनोटमा पहिलेदेखि चलिआएको विरासतको प्रभावजस्ता पक्षहरूलाई पूर्णरूपमा विस्थापित भने गरेको छैन। पार्टीमा को उदाउँछ, माथिल्लो पदमा को पुग्छ भन्ने सवालमा उमेर, अनुभव र क्षेत्रीय मूलले अझै भूमिका खेल्छन्। जसको प्रभाव अलगअलग स्तरका देखिन्छन्। 

लामो समयदेखि चलिआएका यी मापदण्ड पार्टीको तल्लो तहमा अझ ज्यादा महत्त्वपूर्ण रहेको देखिन्छ। यद्यपि, कम्युनिस्ट पार्टीको शक्ति संरचनाको सबैभन्दा उपल्लो स्थानमा भने वफादारी केन्द्रीय भूमिकामा देखिन्छ। नेताका आकांक्षीहरूलाई बडो अप्ठेरो छ। उनीहरूलाई वफादारी देखाउन महत्त्वपूर्ण त छ तर परम्परागत रूपमा आवश्यक योग्यताहरूलाई पनि उपेक्षा गर्न भने उनीहरू सक्दैनन्।

नेता छनोटमा अलिखित नियम पालना नगर्नु सीको नेतृत्व शैलीको पहिचान नै बनेको छ। तर, आम बुझाइभन्दा फरक चिनियाँ कम्युनिस्ट पार्टी अझै उतारचढावको अवधिबाट गुज्रिरहेको छ। सीको उमेर बढ्दैछ। उनी ७१ वर्ष पुगिसके। घरेलु र अन्तर्राष्ट्रिय चुनौती पनि बढ्दैछन्। उदीयमान महत्त्वाकांक्षी नेताहरू र उन्नाइसौँ तथा बीसौँ सम्मेलनमा सम्भ्रान्त राजनीतिको निरन्तर विकासलाई हेर्दा सामान्य अवस्था फर्किन सकेको देखिँदैन। 

चीनको सम्भ्रान्त वर्गमा उन्नतिका लागि सीप्रतिको निष्ठा अल्पकालिक योग्यता मात्र हो। यसका अलवा सीको अन्त्य पनि निश्चित छ। त्यसैले, नेतृत्व हस्तान्तरण र उत्तराधिकारका सवालमा पुरानै ढाँचा फर्किने सम्भावनालाई नकार्न सकिँदैन। त्यस्तै, शक्तिको बाँडफाँट र प्रयोगमा अझ ठूलो परिवर्तन पनि सम्भव छ।

सन् २०२७ मा हुने पार्टीको एक्काइसौँ सम्मेलन एउटा महत्त्वपूर्ण मोड हुनेछ। सीले नयाँ पुस्ताका नेता छनोटमा कुन हदसम्मको प्रभाव पार्न सक्छन् भन्ने कुरा उनको अबको प्रदर्शन र मौजुदा सत्ता समीकरणले निर्धारण गर्ने छ। अबको तीन वर्ष विश्लेषकहरूले चीनभित्रको गुटगत राजनीतिलाई नजिकबाट नियाल्नुपर्ने हुन्छ।

लामो समयदेखि गुटगत प्रतिद्वन्द्विता चिनियाँ राजनीतिको विशेषता रहँदै आएको छ। तेङ स्याओ पिङको मृत्युदेखि सीको उदयसम्मको अवधिमा दुईवटा गुट चीनको राजनीतिमा हाबी रहे। ती थिए– कम्युनिस्ट युथ लिग गुट र ‘सांघाई ग्याङ’। तर, अब यी दुवै गुट मुख्य खेलाडी रहेनन्। 

तिनको ठाउँमा कयौँ नयाँ गुट उदाएका छन्। तर, पुराना गुटभन्दा फरक उनीहरू सबै एउटै नेताप्रति वफादार छन्। ती नेता हुन्– सी चिनफिङ। यसले अन्तर्गुटीय प्रतिस्पर्धालाई नौलो तरिकाले आपसमा बाँधेको छ।

राजनीतिक निर्णय लिने जिम्मेवारी सीले लिएका छन्। तर, पार्टी महासचिवमा मात्र ध्यान केन्द्रित गर्दा समग्र चिनियाँ राजनीतिक प्रणालीप्रतिको हाम्रो बुझाइको कमजोरी उदांगो भएको छ। यी गुटहरू कुन स्रोतसाधन र कुन अधिकारका लागि प्रतिस्पर्धा गरिरहेका छन्? उनीहरू कसरी प्रतिस्पर्धा गर्छन्ः यो प्रतिस्पर्धालाई निर्देशित गर्न, व्यवस्थापन गर्न र अगाडि बढाउन सीले कस्तो भूमिका खेल्छन्? यी कुनै पनि प्रश्नका किटानी जवाफ छैन।

सीको सर्वशक्तिमान शासनको मुखौटोपछाडि समकालीन चिनियाँ राजनीति उति नै जटिल छ, जति जटिल यो विगतमा थियो। आउँदा दिनमा गुप्तचर निकाय र विद्वान विश्लेषकहरूले यी नयाँ गुटहरूको कार्यशैली र अन्तर्क्रियालाई बुझ्नुपर्ने हुन्छ। तिनले आफ्नो स्वार्थलाई कसरी परिभाषित गर्छन्, उनीहरूको प्रतिस्पर्धाको प्रकृति कस्तो छ र कहिलेकाहीँ किन उनीहरू आपसी सहकार्य पनि गर्छन्, पत्ता लगाउनुपर्छ। 

यस्तो प्रयासले कसरी सीले राजनीतिक व्यवस्था परिचालन गर्छन् भनेर प्रकाश पार्ने छ। जसले उनीबिना त्यो व्यवस्था कसरी विकसित हुनसक्छ, अनुमान गर्न सहयोग गर्नेछ।

तर, सीकेन्द्रित यस्ता गुटहरूको नयाँ सञ्जालले अव्यवस्थाको बिउ रोपेको पनि हुनसक्छ। अन्ततः सी सत्ताबाट हराउने छन्। त्यसबेला यस्तो गुटबन्दी व्यवस्थित गर्ने शीर्षासनमा कोही हुने छैन। अनि राजनीतिका पुराना नियम खारेज भइसकेको अवस्थामा पार्टी र चीनको नियन्त्रण आफ्नो हातमा पार्न भयंकर प्रतिस्पर्धा चल्न सक्छ। 

सीभन्दा अघि दुई गुटीय प्रणालीबीच अन्तर्निहित स्थिरता थियो। तर, अब एकध्रुवीय बनेको पार्टी रातारात बहुध्रुवीय बन्ने सम्भावना पनि छ।

कम्युनिस्ट चीनमा क्रान्तिले सधैँ आफ्नैलाई खाने गरेको छ। सीपछिको चीनमा हुने क्रान्तिका क्रममा सम्राटलाई सुहाउँदो महाभोज पनि चल्न सक्छ।

(नेसनल इन्ट्रेस्टबाट। माइकल माजा प्रोजेक्ट २०४९ इन्स्टिच्युटका निर्देशक हुन् भने क्याथी फाङ स्वतन्त्र विश्लेषक)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad