नेपाल मेरो दोस्रो घर हो। यो धेरैका लागि अचम्मको विषय हुन सक्छ। एसियाका धेरै मानिसको सपना विकसित देश– अमेरिका वा युरोप जानु, घुम्नु अथवा उतै बस्नु हुन्छ। न्यूयोर्क, लन्डन अथवा पेरिस धेरैको सपनाका शहर हुन्। अनि थोरैको रोजाइमा पर्छ काठमाडौं, जसलाई आजभोलि ‘धुलोमान्डु’ भनेर पनि भनिन्छ।
म धेरै चिनियाँ साथीहरुलाई नेपालका सेताम्मे हिमालहरु, मन्दिरहरु, धनी संस्कृति, गहिरो विश्वास तथा नेपाली साथीहरुको निश्चल मुस्कान बारे बुझाउने कोशीश गर्छु। तर अरुलाई बुझाउने कुरा अवश्य पनि गाह्रो छ।
केही दिनअघि मात्र मलाई केही नेपाली विवाहहरुमा सहभागी हुन निम्तो आएको थियो। म उत्साहित भएँ। एक त यो बसन्त यामको सुन्दर मौसम, अनि दक्षिण एशियाको पारम्परिक विवाह समारोह। ती सबै विवाह समारोहमा सयौं मानिस उपस्थित भएका थिए, जहाँ सबै हाँसिरहेका, गाइरहेका र नाचिरहेका पाएँ। सबै समारोहमा मजस्तो नौलो अनुहार देखेपछि कसै न कसैले ‘तपाईं को हो’ भनेर सोध्थे, अनि ‘म चाइनिज हुँ’ भनेर जवाफ फर्काउँथें। त्यसपछि रमाउँदै कि त मलाई अँगालो हाल्थे कि फुरुङ पर्दै मसँग सेल्फी खिच्थे। मलाई लाग्यो, यति पपुलर त म मेरै ठाउँ, मेरै देश चीनमा पनि कहिल्यै थिइनँ।
माफ गर्नुस्, तर मैले ती कुनै विवाह समारोहहरुमा मुखमा मास्क लगाएको थिइनँ। म कोरोना भाइरस फैलिनुभन्दा धेरै अगाडिदेखि नेपालमै बस्छु। र, यस्ता उत्सवहरुमा मास्क लगाउँदा त्यहाँ उपस्थित अरुलाई राम्रो नलाग्ला कि भन्ने सोच्छु।
केही समययता युरोप, अमेरिका, अस्ट्रेलिया जस्ता देशहरुमा हामीजस्तो पूर्वी एशियन र चिनियाँ अनुहार देख्ने बित्तिकै मास्क लगाउनु पर्ने, मेडिकल परिक्षणमा जानै पर्ने, भिसा नै रद्द हुने, कुटपीट हुने अथवा त्यहाँबाट डिपोर्ट नै गरिदिने डर बढी रहेको छ, चाहे ऊ त्यो शहरमा बसेको दशौं वर्ष वा त्यै शहरलाई माया गर्ने व्यक्ति किन नहोस्। हामी मानव त्रास राम्ररी बुझ्छौं तर, पनि यो सबै देख्दा, सुन्दा साँच्चै नरमाइलो लाग्छ।
यो अवस्थामा मलाई अचानक नेपाल किन यति प्यारो लाग्छ भन्ने कुराले झसँग पार्छ। म साधारण संसारमै छु तर पनि मैले आजसम्म यहाँ कुनै कुरामा छुट्टिएको, एक्लिएको वा डरको महशुस गर्नु परेको छैन। यस अर्थमा म आफुलाई निकै भाग्यमानी ठान्छु। बिरामीहरु हाम्रा शत्रु हैनन्, हाम्रो शत्रु त भाइरस हो।
फेब्रुअरी १६ मा नेपाल सरकारले वुहान शहरबाट १७५ जना नेपाली, विशेषत विधार्थीलाई नेपाल फिर्ता लिएर आयो। मलाई कसैले सम्झायो, तीमध्ये यदि १० जना मात्र संक्रमित भएको भए उनीहरु प्रत्येकले अरु १० जनालाई भाइरस सारेर १०० जना संक्रमित हुन्थे, जसका कारण बिस्तारै पूरै काठमाडौं शहर नै प्रभावित हुन्थ्यो।
मलाई थाहा थियो, यो सबै एउटा बढाईचढाई गरेर उत्पन्न गरिएको भ्रम र त्रास थियो, तर पनि मलाई कता कता डर लागिरहेको थियो। तर केही अनिँदा रातहरुपछि मैले चिनियाँ मिडियाहरु मार्फत यो उद्दार कार्यको खुलेरै समर्थन गर्ने निर्णय गरें।
प्रत्येक व्यक्तिको घर जाने अधिकार, प्रत्येक बिरामीको निको हुने अधिकार र, प्रत्येक अल्पसंख्यकले सम्मान पाउने अधिकार हुन्छ। आखिर प्रत्येक जीवन अमूल्य हुन्छ। मलाई लाग्छ, यो सबैभन्दा महत्वपूर्ण मानवीय भावना हो, जुन पैसा, रोग, डर र बाँकी सबै कुराभन्दा माथि हुन्छ।
कोरोना भाइरस एक डरलाग्दो सार्वजनिक स्वास्थ्य संकट हो। तर, यो रोग हाम्रो मानवीय भावनाहरु त्याग्ने बाहाना होइन। राम्रो अभिप्रायले गरिएको कामको परिणाम अवश्य पनि राम्रो नै हुन्छ।
चीन अझै पनि कोरोना भाइरसविरुद्ध एउटा संघर्षपूर्ण युद्ध लडिरहेको छ। तर पनि बाहिरी संसारले यस लडाइँविरुद्द विभिन्न हल्लाहरु फैलाइरहेको पाइएको छ, जुन निकै दुखलाग्दो कुरा हो।
संसारले २०२० को सुरुमै एउटा नसोचेको र असाधारण समयको सामना गरिहेको छ। यदि चिनियाँ सरकारले यो महामारिको फैलावट रोक्नका निम्ति अस्थायी रुपमा वुहान शहरलाई शिलबन्दी नगरेको भए कोरोना भाइरसले अहिलेसम्म अझै धेरै र ठूलो क्षति पुर्याएको हुने थियो।
यस अर्थमा वुहानका प्रत्येक नागरिक आफैंमा एउटा हिरो हुन्, जसले संसारका धेरै मानिसको रोगको पीडा पनि आफैं सहिरहेका छन्। यस्तो अवस्थामा एउटा मात्र नमिठो शब्दले पनि उनीहरुको मनमा गम्भिर चोट पुर्याउन सक्छ। त्यसैले उनीहरुको पसिना, आँसु र बलिदानलाई बेवास्ता नगर्नुस् भन्न चाहन्छु।
एक प्रख्यात चिनियाँ गुरु कन्फुसियसले भनेका थिए– जब तिम्रो छिमेकी बिरामी हुन्छ, त्यो बेला उसको घरतिर फर्केर गीत नगाउनु। कन्फुसियस जस्ता प्राचिन विद्वानले यो कुरा हजारौं वर्षअघि नै बुझ्नसके भने अहिलेका हामीजस्ता आधुनिक मानिसले झन् राम्ररी बुझ्नु पर्छ जस्तो लाग्छ।
फेब्रुअरी ११ मा जेनेभामा पत्रकार सम्मेलन गरी विश्व स्वाथ्य संगठनले यस नयाँ भाइरसलाई आधिकारिक रुपमा ‘कोभीद १९’ नाम दिएको छ। विश्व स्वास्थ्य संगठनका डाइरेक्टर जेनरलका अनुसार यो नाम छनौट गर्नुको पछाडि कुनै पनि एक विशिष्ट भौगोलिक स्थान, जनावरको प्रजाती वा कुनै मानव समूह अनुरुपको नामबाट टाढा राख्नु थियो। कुनै किसिमको बदनामी नहोस् भनेर यो नामांकन अन्तर्राष्ट्रिय मापदण्ड अनुसार गरिएको हो।
कोरोना भाइरसको प्रकोप कुनै पनि देशमा देखा पर्न सक्छ, केवल चीनमा मात्रै पटक्कै होइन। त्यसैले कृपया ‘वुहान निमोनिया’ अथवा ‘चिनियाँ भाइरस’ जस्ता पदावलीहरु प्रयोग नगर्नु होला। यस्तो जटिल तथा दुखद समयमा एक अर्कालाई चोट पुर्याउनुभन्दा सम्पूर्ण मानव जाती एक हुनु जरुरी छ।
इतिहासलाई फर्केर हेर्दा, हामीले के पाउँछौं भने महान भनिएका देशहरुलाई उनीहरुका आफ्नै महानाताका लागि सम्मान गरिएको होइन, बरु उनीहरुले विश्वको महानाताका लागि पुर्याएको योगदानका लागि सम्मान गरिएको हो।
म विश्वस्त छु, नेपाल पनि एउटा महान देश बन्ने छ।
(चिनियाँ ब्लगर लियाङ यी केही वर्षदेखि काठमाडौंमा बस्दै आएका छन्। यो आलेख अँग्रेजीमा यहाँ पढ्न सकिन्छ।)

प्रतिक्रिया