ad ad

विचार


बाइडेन अब राष्ट्रपति हुन योग्य छैनन्, ट्रम्पलाई रोक्ने हो भने चुनावमा नउठून्

बाइडेन अब राष्ट्रपति हुन योग्य छैनन्, ट्रम्पलाई रोक्ने हो भने चुनावमा नउठून्

टमस एल फ्रिडम्यान
असार १५, २०८१ शनिबार १६:४९,

बाइडेन र ट्रम्पबीचको बहस मैले लिस्बनको एउटा होटलको कोठामा एक्लै बसेर हेरेँ। र, यो बहसले मलाई रुवायो। आफ्नो जीवनकालमा अमेरिकी राष्ट्रपतिको चुनाव प्रचारका क्रममा यहाँभन्दा हृदयविदारक क्षण यसअघि मैले कहिल्यै देखेको थिइनँ। किनकि यसले एउटा तीतो सत्य उजागर गरिदियो– जो बाइडेन एक असल मान्छे र असल राष्ट्रपति हुन्। तर, अब उनलाई फेरि चुनाव लड्ने कुनै अधिकार छैन।

त्यस्तै, डोनाल्ड ट्रम्प दुष्ट व्यक्ति र घटिया राष्ट्रपति हुन्। जसले केही सिकेनन्, केही बिर्सेनन्। उनी उसैगरी झुट ओकलिरहेका छन्, जसरी पहिले ओकल्थे। उनी गुनासो गर्नबाहेक केही जान्दैनन्। २१ औँ शताब्दीमा अमेरिकाको नेतृत्व गर्ने व्यक्तिमा जे चाहिन्छ, त्यो उनीसँग छँदै छैन।

यतिबेला बाइडेन परिवार र उनको राजनीतिक टिमले सकेसम्म छिटो भेला भएर राष्ट्रपतिसँग सबैभन्दा कठिन छलफल गर्नुपर्छ। प्रेम, स्पष्टता र संकल्पसहितको छलफल। नोभेम्बरमा ट्रम्प निर्वाचित हुने खतरालाई रोक्न राष्ट्रपति बाइडेन अघि सर्नुपर्छ र घोषणा गर्नुपर्छ– आउँदो चुनावमा उनी उठ्ने छैनन्। र, उनले आफ्ना सबै प्रतिनिधिहरूलाई डेमोक्र्याटिक पार्टीको राष्ट्रिय सम्मेलनका लागि मुक्त गरिदिनुपर्छ।

आफूसँग अलिकति भए पनि इमानदारी हुन्थ्यो भने रिपब्लिकन पार्टीका नेताहरूले पनि यस्तै माग गर्थे। तर, यसो हुने छैन। किनकि उनीहरूसँग इमानदारी छैन। त्यसकारणले डेमोक्र्याटहरूले देशको हितलाई सबैभन्दा अगाडि राख्नु अझ जरुरी छ। र, सो पार्टीले डेमोक्र्याटिक पार्टीबाट बाइडेनभन्दा अलग उम्मेदवार उठाउने प्रक्रिया सुरु गर्नेछौँ भनेर घोषणा गर्न जरुरी छ। टाउन हल, बहस, बैठकजस्ता गतिविधि सुरु गर्नुपर्छ।

हो, यसो गर्दा अगस्ट १९ मा सिकागोमा डेमोक्र्याटिक पार्टीको सम्मेलन सुरु हुँदै गर्दा गडबडी र अव्यवस्था हुनसक्छ। तर, मलाई लाग्छ, ट्रम्पले जित्ने खतराले सबै डेमोक्र्याटहरूलाई सर्वसम्मत उम्मेदवारको पछाडि गोलबद्ध पार्नेछ।

उपराष्ट्रपति कमला ह्यारिस चुनावमा उठ्न चाहन्छिन् भने उठून्। तर, डेमोक्र्याटिक पार्टीबाट उम्मेदवार छनोट गर्दा एउटा खुला प्रक्रियाका हकदार छन् मतदाता। जसले पार्टीलाई मात्र होइन, मुलुकलाई नै एकताबद्ध बनाउन सक्छ। त्यसका लागि ती उम्मेदवारले आजको दिनमा दुनियाँ कहाँ पुगेको छ भन्ने कुराको स्पष्ट व्याख्या र यो दुनियाँलाई नैतिक, आर्थिक र कूटनीतिक रूपले नेतृत्व गरिरहन अमेरिकाले के गर्नुपर्छ भन्नेबारे एउटा आकर्षक दृष्टिकोण अघि सार्न सक्नुपर्छ। बिहीबार राति एटलान्टामा भएको बहसमा यस्तो स्पष्ट दृष्टिकोण प्रस्तुत गर्न बाइडेन र ट्रम्प दुवै असफल रहे।

किनकि हामी यतिबेला इतिहासको कुनै साधारण मोडमा छैनौँ। हामी मानव इतिहासकै सबैभन्दा ठूलो प्रविधि अवरोध र सबैभन्दा ठूलो जलवायु अवरोधको सुरुवातमा छौँ। हामी आर्टिफिसियल इन्टेलिजेन्सले ल्याउने क्रान्तिको आरम्भमा छौँ। जसले हरेकका लागि सबथोक बदलिदिनेछ। यसले हाम्रो काम गर्ने तरिका, सिक्ने तरिका, सिकाउने तरिका, व्यापार गर्ने तरिका, आविष्कारको तरिका, सहकार्यको तरिका, हामीले युद्ध लड्ने तरिका, हामीले अपराध गर्ने तरिका र हामीले अपराधलाई रोक्ने तरिका पनि बदलिदिनेछ। तर, बाइडेन र ट्रम्पले बहसमा आर्टिफिसियल इन्टेलिजेन्स शब्द उच्चारण गरेको समेत मैले सुनिनँ।

यदि कुनै समय यस्तो थियो, जब दुनियाँलाई अमेरिकाको सर्वश्रेष्ठ रूप र त्यसको सर्वश्रेष्ठ नेतृत्वको आवश्यकता थियो भने त्यो समय अहिले नै हो। किनकि भयंकर खतरा र महान् अवसर हाम्रासामु छन्। उमेर छँदा बाइडेन त्यस्ता नेता हुन सक्थे। तर, समयले अन्ततः उनको साथ छाड्यो। र, यो कुरा निकै दुःखदायी र अपरिहार्य तरिकाले बिहीबार स्पष्ट भयो।

११ सेप्टेम्बर २००१ पछि बाइडेन र म सँगै अफगानिस्तान र पाकिस्तान भ्रमणमा गएका थियौँ। त्यतिबेला उनी सिनेटको विदेश मामिला समितिका प्रमुख थिए। त्यसयता बाइडेन मेरा मित्र रहँदै आएका छन्। त्यसैकारण यी सबै कुरा म ठूलो दुःखका साथ भनिरहेको छु।

अब उमेरका कारण दोस्रो कार्यकालका लागि राष्ट्रपति बन्न आफू उपयुक्त छैन भन्ने स्वीकार्दै बाइडेनले यो पदको मैझारो गरे भने पनि उनको पहिलो र एक मात्र कार्यकाल हाम्रो इतिहासका राम्रा कार्यकालहरूमध्ये पर्नेछ। उनले हामीलाई ट्रम्पको लगातार दोस्रो कार्यकालबाट बचाए। त्यतिकै लागि पनि उनी अमेरिकाको सबैभन्दा उच्च पदक ‘प्रेसिडेन्सियल मेडल अफ फ्रिडम’ को हकदार हुनेछन्। त्यसमाथि उनले जलवायु परिवर्तन र प्रविधि क्रान्तिको सामना गर्न आवश्यक महत्वपूर्ण कानुन पनि बनाए।

अहिलेसम्म म बाइडेनलाई शंकाको लाभ दिन तयार थिएँ। किनकि उनीसँग मैले एक्लाएक्लै कुराकानी गर्दा उनी यो पदका लागि उपयुक्त छन् भन्ने मलाई लाग्थ्यो। तर, अब स्पष्ट भएको छ– उनी राष्ट्रपतिका लागि उपयुक्त छैनन्। 

उनको परिवार र उनका स्टाफलाई यो कुरा थाहा हुनुपथ्र्यो। कयौँ दिनदेखि क्याम्प डेविडमा बसेर उनीहरूले यो महत्वपूर्ण बहसको तयारी गरिरहेका थिए। त्यसका बाबजुद उनले बहसमा दिएको सबैभन्दा उत्कृष्ट प्रस्तुति यही हो भने उनले आफ्नो गरिमा जोगाउनुपर्छ। र, यो कार्यकालको अन्त्यमा मञ्च खाली गर्नुपर्छ।

उनले त्यसो गरे भने हरेक दिन अमेरिकीहरूले उनलाई डोनाल्ड ट्रम्पले कहिल्यै नगर्ने काम गरेकोमा प्रशंसा गर्नेछन्। त्यो काम हो– आफूभन्दा अगाडि देशलाई राख्नु।

यदि उनले जबर्जस्ती चुनाव लडे र ट्रम्पसँग हारे भने बाइडेन र उनको परिवार, उनका स्टाफ अनि उनलाई उचाल्ने पार्टीका सदस्यहरूले आफ्नो अनुहार पनि देखाउन सक्ने छैनन्।

तिनीहर यसभन्दा गतिलो नतिजाको हकदार छन्। अमेरिकालाई यो भन्दा राम्रो चाहिएको छ। संसारलाई यो भन्दा राम्रो चाहिएको छ। 

(द न्युयोर्क टाइम्सबाट)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .