ad ad

विचार


भिन्न परिस्थितिमा २ प्रधानमन्त्रीको दिल्ली-भेट, ४ राजनीतिक अर्थ

भिन्न परिस्थितिमा २ प्रधानमन्त्रीको दिल्ली-भेट, ४ राजनीतिक अर्थ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीबीच जेठ २७ गते नयाँ दिल्लीमा भएको भेट। तस्बिरः प्रधानमन्त्रीको सचिवालय


चन्द्रदेव भट्ट
जेठ २८, २०८१ सोमबार २२:०, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतीय समकक्षी नरेन्द्र मोदीको तेस्रो कार्यकालको शपथ समारोहमा सहभागी भएर फर्किएका छन्। प्रचण्डको यो भ्रमण दुवै पक्षका लागि विश्वासको वातावरण बनाउन एउटा राम्रो संयोगको अवसर बन्न पुगेको छ। यस हिसाबले यो भ्रमण र उच्चस्तरीय भेट फलदायी बनेको मान्न सकिन्छ। 

दुवैतिर फेरिएको परिस्थिति
नेपाल र भारत दुवैतर्फ राजनीतिक परिस्थिति फेरिएको छ। नेपालमा गठबन्धन फेरियो। भारतमा नयाँ जनादेशले शक्ति सन्तुलन फेरियो। दुवै देशमा प्रधानमन्त्री नफेरिए पनि राजनीतिक परिस्थिति फेरिँदा विश्वासको खाडल थियो। 

नेपालमा पछिल्लो गठबन्धन बनेपछि भारत टाढा र चीन अलि नजिक भएको हो कि भन्ने पनि ठानिएको थियो, जसरी यसअघिको गठबन्धन छँदा भारत नजिक, चीन टाढाजस्तो थियो। 

यहाँ नयाँ गठबन्धन बनेपछि परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको चीन भ्रमणले भारतीय पक्षको मनमा रहेको चिसोको मात्रा बढाएको हुँदो हो। यो अविश्वासलाई विश्वासको वातावरणमा परिणत गर्ने अर्थमा यो भेट महत्त्वपूर्ण नै रहेको देखिन्छ।

तसर्थ, शपथग्रहण समारोहले विश्वासको वातावरण बनाउने अवसर जुराइदियो। नत्र भने अहिलेकै अवस्थामा प्रधानमन्त्री तहको भ्रमण हुन सम्भव थिएन। विश्वासको आदानप्रदानका लागि अरू प्रकारले हुने संवादहरू प्रत्यक्ष भेटभन्दा प्रभावकारी हुने थिएनन्। दुई देशको उच्चतम राजनीतिक तहमा भएको भेट र वार्ता अवश्य पनि सदभाव र शुभेच्छा आदानप्रदानकै हिसाबले पनि फलदायी भएको अपेक्षा गर्न सकिन्छ।

भारत भ्रमणका सिलसिलामा प्रधानमन्त्री प्रचण्डले राम्रै स्वागत–सत्कार पाए। धेरै देशबाट बोलाइएका अति विशिष्ट पाहुनाका बीच पुगेका प्रचण्डलाई बेग्लै भेटघाट र वार्ताको व्यवस्थापन गरेर अवश्य पनि भारतले महत्त्व दिएको देखिन्थ्यो। तर, आफ्नो खास घरेलु उत्सवको अवसरमा बोलाइएका पाहुनालाई गरिएको यो स्वागत र सत्कार स्वाभाविक हो। यसमा खास वा विशेष भनेर खोज्नु र अपेक्षा गर्नु आवश्यक छैन। 

दुई देशका कार्यकारी प्रमुखको तहमा जुन विषयमा कुरा भए, ती पनि स्वाभाविक, औपचारिक र परम्परागतजस्तै देखिन्छन्। विकास आयोजनामा प्रगति, क्षेत्रीय मञ्चको क्रियाशीलता अनि द्विपक्षीय हितमा साझेदारीका विषयमा कुरा भएको भनेर हाम्रा प्रधानमन्त्रीले विमानस्थलमा आइपुगेर बताएका छन्। साथै, सीमा समस्यालगायतका विषयमा द्विपक्षीय संयन्त्रमा कुरा गरौँ भन्नु पनि अब औपचारिकताकै एउटा अंग बनिसक्यो। तसर्थ, प्रधानमन्त्री प्रचण्डले भेटमा जुनजुन विषयमा कुरा भयो भनेर सार्वजनिक गरेका छन्, ती नयाँ र खास होइनन्। सामान्य र स्वाभाविक नै हुन्। 

गठबन्धनप्रति दक्षिण–दृष्टि
भारतीय नेतृत्व लोकसभा चुनावको तयारीमा व्यस्त रहेका बखत गत फागुन २१ गते नेपालमा अप्रत्यासितरूपमा राजनीतिक परिवर्तन भयो। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार फेरे। कांग्रेस सरकारबाट बाहिरियो, एमाले भित्रियो। यो परिस्थितिलाई लिएर भारतीय नेतृत्वले कुन दृष्टिले हेरिरहेको होला भन्ने जिज्ञासामा नेपालको राजनीतिक वृत्तमा थियो। 

उता भारतमा पनि भाजपा एक्लैको बहुमत रहेन। प्रधानमन्त्री मोदी गठबन्धनमा निर्भर रहनुपर्ने भयो। बदलिएको परिस्थितिमा मोदीले छिमेकप्रति के–कस्तो नीति अवलम्बन गर्छ भन्ने कौतुहल कायमै छ। तर, पहिलाभन्दा घटेको शक्तिका साथ सत्तामा निरन्तरता पाएका मोदीका निम्ति छिमेकलाई विश्वासमा लिएरै अघि बढ्नुपर्ने हुन्छ। छिमेकीहरूले हिजो मोदीलाई जुन तहमा सुन्थे, स्वीकार गर्थे, अब त्यस्तो नहुन सक्छ भनेर पनि विश्लेषण भइरहेको छ। तसर्थ, छिमेकीको साथ र समर्थनको खास अर्थ र महत्त्व छ, उनका लागि। तसर्थ, उनले नेपालको राजनीतिक नेतृत्वसँग मिलेर पारस्परिक हित र चासो सम्बोधन गर्न तयार रहेको जनाउ दिएका हुन सक्छन्। 

अर्थात्, नेपालको सत्ता–राजनीतिमा दक्षिणले तत्काल उतिसाह्रो चाख नदिन सक्छ। 

किनभने, मोदी आफैलाई अहिले आन्तरिक व्यवस्थापन ठूलो चुनौती छ। हिजोको दिनमा भाजपा अत्यधिक शक्तिमा थियो। अहिले त्यो अवस्था नभएकोले ऊ छिमेकमा फरक हिसाबले जानुपर्ने हुन्छ। उसलाई हिजो जुन तहमा सुन्थे, स्वीकार गर्थे, अहिले त्यस्तो नहुन सक्छ। त्यसकारण भाजपाले छिमेकमा राम्रो सम्बन्ध बनाउनुपर्ने हुन्छ। यहाँको आन्तरिक मामिलामा चासो दिँदा सद्भाव र विश्वासमा अनावश्यक क्षति पुग्छ। 

बरु यो बेग्लै पक्ष हो कि यहीँको घरेलु कारणले शक्ति सन्तुलनमा बदलाव आउन सक्छ। किनभने, गठबन्धनभित्र समस्या चलिरहेकै छ। प्रधानमन्त्रीका रूपमा प्रचण्डलाई उकुसमुकुस भइरहेकै छ। 

जुनसुकै परिस्थितिमा पनि आफ्नो हित र चासोलाई कसरी जोगाइराख्ने भन्नेमा भारतको ध्यान केन्द्रित भएको देखिन्छ। जस्तो, जलविद्युतलगायत विभिन्न आयोजनाबारे भएका सम्झौता र तिनको प्रगतिको कुरा आदि। प्रधानमन्त्रीको तहमा यो विषय हुनु एउटा महत्त्वपूर्ण कुरा पनि हो। (कुराकानीमा आधारित)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .