ad ad

कारोबार


एकै वर्ष ५७ प्रतिशतले बढ्यो शंकास्पद कारोबार, वाणिज्य बैंकहरूबाट मात्रै ३८ अर्बको

कुलमध्ये ५१ प्रतिशत सम्पत्ति शुद्धीकरणका कारोबार
एकै वर्ष ५७ प्रतिशतले बढ्यो शंकास्पद कारोबार, वाणिज्य बैंकहरूबाट मात्रै ३८ अर्बको

सम्झना घिमिरे
असार १७, २०८१ सोमबार १४:२६, काठमाडौँ

एक वर्षको अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट हुने शंकास्पद कारोबार ५७ प्रतिशतले बढेको छ। 

नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी एकाइ (एफआईयू) ले सन् २०२३ मा ४ वर्षयताकै सबैभन्दा धेरै शंकास्पद कारोबार भएको निष्कर्ष निकालेको हो। 

सन् २०२० मा बैंक तथा वित्तीय संस्थाहरूबाट १ हजार १०३ वटा शंकास्पद कारोबार भएको देखिएको थियो। त्यसको पछिल्लो वर्ष अर्थात् २०२१ मा यस्तो कारोबार बढेर १ हजार ८५४ वटामा पुग्यो।

त्यसपछिको एकै वर्षमा यस्तो कारोबारमा ४६.५९ प्रतिशतले वृद्धि भएको देखिएको छ। सन् २०२२ मा ३ हजार ९७९ वटा शंकास्पद कारोबार राष्ट्र बैंकले भेटेको थियो। 

सन् २०२१ को तुलनामा २०२२ मा दुई गुणाले बढेको शंकास्पद कारोबार २०२३ मा ५७ प्रतिशतले बढेको छ।

सन् २०२३ मा ६ हजार २५५ वटा शंकास्पद कारोबार बैंक तथा वित्तीय संस्थाबाट भएको देखिन्छ। जसको कुल रकम ४० अर्ब रुपैयाँबराबर हुन्छ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूबाट शंकास्पद वित्तीय कारोबार बढेको भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सचेत रहन बैंक तथा वित्तीय संस्थाहरूलाई सूचित गर्दै आएको छ। राष्ट्र बैंकले यस्तो कार्यमा लचिलो नबन्ने भन्दै वैध तरिकाबाट कारोबार गर्न वित्तीय ग्राहकलाई निर्देशन दिँदै आएको छ। यद्यपि बैंक तथा वित्तीय संस्थाहरूबाटै हुने शंकास्पद कारोबार भने घट्नुको साटो उल्टो बढ्दै गएको हो। 

राष्ट्र बैंकले गरेको अध्ययनमा बैंक तथा वित्तीय संस्थाहरूबाट भएका ६ हजार २ सय ५५ वटा शंकास्पद गतिविधि र कारोबारमध्ये ८४ प्रतिशत वाणिज्य बैंकहरूबाट भएको देखाएको छ। 

यो एक वर्षमा वाणिज्य बैंकहरूबाट ३८ अर्ब ७२ करोड रुपैयाँबराबरको ५ हजार २८२ वटा शंकास्पद कारोबार भएको छ। 

यस्तै विकास बैंकबाट ४ अर्ब ७२ करोड रुपैयाँबराबरको ३३० वटा कारोबार भएका छन्।

सेयर ब्रोकर कम्पनीको ४ अर्ब २९ करोड रुपैयाँबराबरको ६२ वटा कारोबार शंकास्पद देखिएका छन्। यस्तै फाइनान्स कम्पनीबाट २ अर्ब ६५ करोड रुपैयाँबराबरको ९९ वटा र रेमिट्यान्स कम्पनीबाट १ अर्ब ११ करोड रुपैयाँबराबरको १५६ वटा शंकास्पद कारोबार गरेको भेटिएको छ। 

यस्तै जीवन बिमा कम्पनीमा यो वर्ष ३६ करोड रुपैयाँबराबरका २६ वटा कारोबार शंकास्पद भेटिँदा भुक्तानी प्रदायक सेवा (इसेवा, खल्ती लगायतका डिजिटल वालेट)बाट २११ वटा र पेमेन्ट सिस्टम अपरेटर (फोनपे, कनेक्ट आईपीएसलगायत) बाट ४९ वटा ११ करोड रुपैयाँबराबरको शंकास्पद कारोबार भएको भेटिएको छ। 

यस्तै, लघुवित्त कम्पनीबाट २ करोड रुपैयाँबराबरको २४ वटा, सहकारीबाट ४ अर्बबराबरको २ वटा, मर्चेन्ट बैंकबाट ४ अर्बबराबरको १ वटा र नियामक निकाय राष्ट्र बैंकबाटै ११ वटा शंकास्पद कारोबार भएका देखिएको छ। 

यो एक वर्षमा सर्वाधिक कारोबार भने वाणिज्य बैंकबाटै शंकास्पद कारोबारहरू भएको देखिएको हो। नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरणमा कडाइ गरिरहँदा राष्ट्र बैंकमै पनि ११ वटा यस्तो कारोबार भेटिएको छ। तर कति रकमबराबरको शंकास्पद कारोबार भेटिएको भन्ने विवरण भने केन्द्रीय बैंकले खुलाएको छैन।

५१ प्रतिशत कारोबार सम्पत्ति शुद्धीकरणका   
यो वर्ष भेटिएका शंकास्पद गतिविधि र शंकास्पद कारोबारमा पनि ५१.१४ प्रतिशत कारोबार सम्पत्ति शुद्धीकरणअन्तर्गतका छन्। कुल ६ हजार २ सय ५५ वटा शंकास्पद कारोबारमा ३ हजार १९९ वटा कारोबार सम्पत्ति शुद्धीकरणअन्तर्गतका परेका हुन्। 

राष्ट्र बैंकको वित्तीय जानकारी एकाइले गरेको अधययनमा अधिकांश शंकास्पद कारोबार सम्पत्ति शुद्धीकरणमा पर्ने क्रम बढेको देखाएको छ। 

नेपाल सरकारले बढ्दो वित्तीय जोखिमलाई नियन्त्रण गर्न हेतु सम्पत्ति शुद्धीकरण सुधारका लागि पञ्चवर्षीय रणनीति तयार गरिसकेको छ भने सम्पत्ति शुद्धीकरण मामिलाबारे निगरानी राख्ने अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्कफोर्स (एफएटीएफ) र एफटीएफसँगको सहकार्यमा काम गरिरहेको एसिया प्रशान्त समूह (एपीजी) ले नेपालको सम्पत्ति शुद्धीकरणको अवस्थाबारे प्राविधिक मूल्याङ्कन समेत गरिसकेको छ। 

एपीजीले ०७९ असोजमा गरेको पारस्परिक मूल्याङ्कनपछि सम्पत्ति शुद्धीकरणका क्षेत्रमा नेपालले गर्नुपर्ने प्राविधिक पक्ष (कानुनी, नीतिगत र संरचनागत) सुधार तथा प्रभावकारिताको मूल्याङ्कन गरी सुझाव दिएको थियो। जसअनुसार नेपालले संसदबाट सम्पत्ति शुद्धीकरण निवारण ऐन संशोधन गरिसकेको छ। एपीजीको प्रतिनिधिमण्डल अर्को चरणको अध्ययनका लागि आगामी असोजमा फेरि नेपाल आउँदै छ।

एफटीएफले विद्यमान अवस्थामा सुधार नभए सम्पत्ति शुद्धीकरण सम्बन्धमा नेपाल जोखिम (ग्रे लिस्ट) मा पर्न सक्ने चेतावनी दिइरहेकै बखत बैंक तथा वित्तीय संस्थाहरूबाटै हुने कारोबारहरू सम्पत्ति शुद्धीकरणमा पर्ने क्रम बढेर गएको हो। 

योसँगै यो वर्ष कर छली, तस्करीसहित करसँग सम्बन्धित अपराधहरू पनि बढेको छ। सन् २०२३ को एक वर्षमा मात्रै १ हजार ८६८ वटा यस्ता गतिविधि भएका हुन्। 

योबाहेक १ हजार ४० वटा पैसा, बैंक, वित्त, विदेशी मुद्रा सटहीलगायतसँग सम्बन्धित कारोबारहरू रहेका छन् भने ठगीअन्तर्गत ५६५ वटा कारोबार रहेका छन्। 

पछिल्लो समय क्यासिनो गेमिङ पनि शंकास्पद कारोबारका दायारामा आउन थालेका छन्। 

क्यासिनो, गेमिङजस्ता गतिविधिबाट पनि पछिल्लो समय शंकास्पद कारोबार हुने गरेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ। यो वर्ष मात्रै यस क्षेत्रबाट ४०५ वटा शंकास्पद गतिविधि तथा कारोबार भएको देखिएको हो। 

राष्ट्र बैंकको फाइनान्सियल इन्टेलिजेन्स युनिट (एफआईयू)ले उक्त शंकास्पद कारोबारको छानबिन गरेपछि मात्र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) वा अन्य सम्बन्धित निकायमा पठाउने नपठाउने निर्णय गर्छ। 

एफआईयूका उपनिर्देशक केशव प्रसाद रिमालले भने, ‘शंकास्पद कारोबारसम्बन्धी प्रतिवेदन तयार भएको छ। यसमा पनि राष्ट्र बैंकले थप छानबिन गरेर मात्र आवश्यक अनुसन्धानका लागि सम्बन्धित निकायमा सिफारिस गर्छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .