गत सोमबार (२० मे २०२४) अपरान्ह लन्डनको टेन डाउनिङ स्ट्रिटबाहिर नेपाली समुदायका अगुवाहरूको भीड लागेको थियो। ब्रिटिस संसद् भवन, बिग बेन (घन्टाघर) तथा वेस्टमिन्सटर आबी जस्ता ऐतिहासिक स्थलनजिकै रहेको ब्रिटिस प्रधानमन्त्रीको निवास तथा कार्यालय समेत रहेको उक्त चर्चित स्थानमा एसियाली मूलका प्रहिलो ब्रिटिस प्रधानमन्त्री ऋषि सुनकको निम्तो मान्न बेलायतमा बसोबास गर्ने नेपालीहरू टाढाटाढाबाट भेला भइरहेका थिए।
अल्डरसटबाट भूतपूर्व गोर्खा सैनिक अगुवाहरूका साथै वर्तमान तथा पूर्वकाउन्सिलरहरू एउटा मिनी बस रिजर्भ गरेर आएका थिए। एअरपोर्टको जस्तै सुरक्षा जाँचपछि १३० भन्दा बढी आमन्त्रितहरूलाई कार्यक्रम हुने भवनको भुइँ तलामा मोबाइल फोनहरू राख्न लगाइयो। त्यसपछि सबै पाहुनाहरू तेस्रो तल्लामा पुगे जहाँ नेपाल तथा बेलायतबीच १०० वर्ष पहिले (२१ डिसेम्बर १९२३) हस्ताक्षर गरिएको शान्ति तथा मैत्री सन्धिको सक्कल प्रति 'न्यासनल आर्काइभ्स' बाट ल्याएर राखिएको थियो।
प्रवासी नेपालीहरूबाहेक समारोहमा उपस्थित ब्रिटिस सांसदहरू, प्राज्ञ तथा व्यवसायीहरूलाई सम्बोधन गर्दै बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले उक्त सन्धिपश्चात् अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको उपस्थिति र अन्तर्राष्ट्रिय सम्बन्ध प्रवर्द्धन गर्न महत्त्वपूर्ण योगदान पुगेको उल्लेख गरे। उनले बेलायत सरकारलाई नेपालको विकासमा पुर्याएको सहयोगका लागि धन्यवाद पनि दिए।
ब्रिटिस संसदमा जवाफ दिएर केही ढिलो गरी आइपुगेका प्रधानमन्त्री सुनकले नेपाल तथा बेलायतबीच सुगौली सन्धिपछि २०० वर्षभन्दा लामो ऐतिहासिक सम्बन्ध रहे तापनि १९२३ को सन्धिले दुई मुलुकबीचको सम्बन्धलाई अरु मजबुत तुल्याएको बताए। उनले ब्रिटिस सेनामा कार्यरत गोर्खाली सैनिकहरूको योगदान र बलिदानको स्मरण गर्दै गोर्खा सैनिक दुई देशबीचको सम्बन्धको जग रहेको जनाए।
सुनकले नेपालको विकास र प्रगतिमा सघाउन बेलायत सरकारले आउँदो ६ वर्षका लागि ४० करोड पाउन्ड सहयोग गर्ने घोषणा गरेको जनाउँदै जलवायु परिवर्तनजस्ता चुनौतीसँग जुध्न दुवै देशले सहकार्य जारी राख्ने प्रतिबद्धता व्यक्त गरे।
बेलायतकी परराष्ट्र राज्यमन्त्री आन मरी ट्रभेलियनले पनि मध्यम आय भएको मुलुक बन्ने नेपालको लक्ष्यमा बेलायतले सहयोग जारी राख्ने वाचा गरिन्।
शान्ति सन्धिको महत्व
जुन बेला पाकिस्तान र बंगलादेशको जन्म नै भएको थिएन, भारत ब्रिटिस उपनिवेश थियो, त्यति बेला सिंहदरबारमा राणा प्रधानमन्त्री चन्द्र शमशेर तथा नेपालस्थित ब्रिटिस आवासीय दूत लेफ्टिनेन्ट कर्णेल डब्ल्यू एफ टी ओ कोनरले दुई मुलुकबीच शान्ति तथा मैत्री सन्धिमा हस्ताक्षर गरेका थिए।
बेलायतको लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक सूर्यप्रसाद सुवेदीका अनुसार नेपाल र बेलायतबीच विभिन्न समयमा सन्धि सम्झौताहरू भए तापनि सन् १९२३ मा नेपाल एउटा स्वतन्त्र र सार्वभौम मुलुक हो भनेर अन्तर्राष्ट्रिय समुदायमा चिनाउन उक्त सन्धि सहयोगी भयो। उक्त सन्धिको प्रति लिग अफ नेसन्समा पनि दर्ता गरिएकाले सन् १९५५ मा नेपाललाई संयुक्त राष्ट्र संघको सदस्यता प्राप्त गर्न र अन्य मुलुकहरूसँग सम्बन्ध बिस्तार गर्न सहयोग पुगेको उनको भनाइ छ।
त्यसो त नेपाल तथा बेलायतबीच केही विवाद अझै पनि कायम छन्। सन् १९९७ भन्दा पहिले ब्रिटिस सेनाबाट सेवानिवृत्त गोर्खा सैनिकहरूले ब्रिटिस सैनिकहरू सरह समान पेन्सन पाउनु पर्ने लगायतका माग राखेर आन्दोलन गरिरहेका छन्। आफ्ना माग पूरा गराउन सन् २०२१ अगस्टमा दुई जना सहयोगी सहित ब्रिटिस रक्षा मन्त्रालयनजिकै १३ दिन भोक हड्ताल गरेका पूर्व गोर्खा सैनिक ज्ञानराज राई आफूहरूको आन्दोलन जारी रहेको बताउँछन्।
राई र उनका सहयोगीहरूले भूतपूर्व गोर्खा सैनिकहरूका मागबारे छलफल गर्न दुवै देशले उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेपछि भोक हडताल स्थगित गरेका थिए। त्यसयता उच्चस्तरीय समितिको पटकपटक बैठक बसिसकेको छ तर कुनै सहमति बन्न सकेको छैन। 'ब्रिटेनले गोर्खालीहरूको गुण तिर्न बाँकी नै छ,' राई भन्छन्।
भविष्यतर्फ उन्मुख
प्रधानमन्त्री सुनक तथा राजदूत आचार्य दुवैले आउँदो १०० वर्षमा दुवै मुलुकबीचको सम्बन्ध अरु बहुआयामिक हुने विश्वास व्यक्त गरे। प्रधानमन्त्री सुनकले बेलायतमा नेपाली डायस्पोराको योगदानको प्रशंसा पनि गरे। भूतपूर्व गोर्खा सैनिकहरूबाहेक चिकित्सक, नर्स, इन्जिनियर, व्यवसायी लगायत डेढ लाखभन्दा बढी नेपालीहरू अहिले बेलायतमा बसोबास गरिरहेको अनुमान गरिएको छ। नेपाली खाना र संस्कृतिलाई चिनाउँदै बेलायतभरि २०० भन्दा बढी नेपाली रेस्टुरेन्टहरू सञ्चालित छन्।
त्यस्तै हजारौँ नेपाली विद्यार्थीहरू बेलायतका विभिन्न विश्वविद्यालयमा अध्यनरत छन्। गएको केही महिनायता लन्डन तथा नजिकैका सहरमा आइपुगेका विद्यार्थीहरूले कोठा भाडा तथा काम नपाएको गुनासो गरिरहेका छन् भने बेलायतस्थित नेपाली संघसंस्थाले सक्दो सहयोग गर्न प्रयास पनि गरेका छन्।
बेलायतमै जन्मिएर हुर्की रहेको नेपाली दोस्रो पुस्ता खेलकुद, अध्ययन, व्यवसाय लगायत विभिन्न क्षेत्रमा अब्बल देखिएको छ। अहिलेसम्म नेपाली मूलका कोही पनि व्यक्ति ब्रिटिस संसदमा निर्वाचित हुन नसके पनि नेपाली मूलका कैयौँ व्यक्ति मेयर, उपमेयर र काउन्सिलर निर्वाचित भइसकेका छन्।
सेल रोटी
स्थानीय नेपाली समुदायको समेत सहयोगमा आयोजित स्वागत समारोहमा सहभागी हुन चर्चित अभिनेत्री मनिषा कोइराला आइपुगेकी थिइन्। त्यस्तै जर्मनीबाट गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष जीवा लामिछाने आइपुगेका थिए भने एनआरएन अभियन्ताहरू कुल आचार्य, डा हेमराज शर्मा, रामशरण सिम्खडा पनि सहभागी थिए। म्यानचेस्टरबाट स्थानीय समाजसेवी पुष्प श्रेष्ठ आइपुगेका थिए।
कार्यक्रम आयोजना गर्न खटिएका युवा समाजसेवी रविजंग लामिछानेले सबै सहभागीहरूलाई धन्यवाद दिइरहेका थिए भने अर्का युवा प्रशान्त कुँवरले टी-ट्वान्टी विश्वकप क्रिकेटको जर्सी प्रधानमन्त्री सुनाकलाई उपहार दिए। ब्रिटिस सेनामा उच्च ओहोदामा कार्यरत ब्रिगेड अफ गुर्खाजका लेफ्टिनेन्ट कर्नेल टोल खाम्चा लगायत थुप्रै पूर्वगोर्खा सैनिकहरूको उल्लेख्य उपस्थिति थियो। कार्यक्रममा क्याटरिङ गरेको थियो एभरेस्ट इनले। पाहुनाहरूका लागि सर्बत लगायतका ‘नन अल्कोहोलिक ड्रिंक्स’ हरू राखिएको थियो भने मोमो लगायतका खाने कुराहरू पनि सर्भ गरिएको थियो।
तर, धेरै नेपालीको मन जित्यो सेल रोटीले। एभरेस्ट इनका सञ्चालक यादव भण्डारीले यसभन्दा पहिले आफूले ब्रिटिस विदेश मन्त्रालयमा क्याटरिङ गरेको भए तापनि प्रधानमन्त्री निवासमा भने पहिलो पटक क्याटरिङ गरेको बताए। त्यस्तै पहिलो पटक टेन डाउनिङ स्ट्रिटमा पुगेका अधिकांश नेपालीहरूले कार्यक्रम सकिएपछि बीबीसी लगायतका टेलिभिजनहरूबाट प्रत्यक्ष प्रसारण गरिने ऐतिहासिक नं १० को ढोकाअगाडि सेल्फी र सामूहिक तस्बिर खिचेका थिए।
(बीबीसी नेपाली सेवाका पूर्वपत्रकार योगी लन्डनमा बसोबास गर्छन्)
Shares
प्रतिक्रिया