ad ad

राजनीति


नागरिक अधिकारविरुद्ध हुने गतिविधि तत्काल नियन्त्रण गर्न गृहमन्त्रीको निर्देशन

नागरिक अधिकारविरुद्ध हुने गतिविधि तत्काल नियन्त्रण गर्न गृहमन्त्रीको निर्देशन

नेपालखबर
जेठ ९, २०८१ बुधबार १७:३३, काठमाडौँ

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नागरिक अधिकारविरुद्ध हुने गतिविधि तत्काल नियन्त्रण गर्न निर्देशन दिएका छन्।

वागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई आज हेटौंडामा सम्बोध गर्दै मन्त्री लामिछानेले नागरिकलाई केन्द्रमा राखेर सेवा प्रवाह गर्न, उनीहरूका समस्या र गुनासोप्रति बेलैमा ध्यान दिन र शान्ति–सुरक्षाको प्रबन्ध गर्न निर्देशन दिएका हुन्।

गोष्ठीका निष्कर्ष र योजना अक्षरशः पालना गर्दै नागरिकलाई तत्काल परिवर्तनको आभास दिने गरी काम गर्न पनि उनले जिल्ला सुरक्षा समितिका सदस्यहरूलाई निर्देशन दिए।

‘राज्यका निकायप्रति नागरिकको विश्वास बढाउन सकिएन भने उनीहरूमा स्वतः बढ्ने निराशाले आक्रोश जन्माउँछ,’ मन्त्री लामिछानेले भने, ‘आक्रोशले जन्माउने अराजक गतिविधिले सुरक्षा चिन्ता बढाउने भएकाले नागरिकमैत्री सेवा र सुधारमा जोड दिनुहोला।’ 

आम नागरिकलाई सरकारी कार्यालयको क्षेत्राधिकारसँग मतलब नहुने भन्दै उनले एउटा कार्यालयले अर्कोमा हुने कामको समेत समन्वय र सहजीकरण गरिदिनुपर्नेमा जोड दिए। 

आफूले गृह मन्त्रालय सम्हालेयताका दुई महिनामा राजस्व चुहावट नियन्त्रण, सरकारी-सार्वजनिक जग्गाको संरक्षण, कर्मचारीका गैरव्यावसायिक आचरणजस्ता सुशासनका सूचकमा केही सुधार आएको दाबी पनि मन्त्री लामिछानेले गरे।

प्रहरी समायोजन, सुरक्षा सुदृढीकरण, विपद् व्यवस्थापन, लागु औषध नियन्त्रणजस्ता क्षेत्रमा विशेष चासोका साथ दीर्घकालीन महत्त्वका काम भइरहेको जानकारी उनले दिए।

नागरिकलाई पूर्ण सुरक्षाको अनुभूति हुने गरी काम गर्न भन्दै लामिछानेले सुरक्षा अधिकारीले गलत प्रवृत्ति र पात्रसँग सम्झौता गरेको पाइए निर्मम हुने चेतावनीसमेत दिए।

‘कानुन कार्यान्वयन गर्ने अधिकार तपाईंहरूसँगै छ। निर्देशन चाहिन्न। तर, नियतवश अधिकार दुरुपयोग गरेको पाइए कारबाही हुन्छ,’ उनले भने।

नागरिकलाई लोकतन्त्रको लाभ लिनबाट वञ्चित गर्ने कुनै पनि गतिविधि नियन्त्रणमा निर्मम हुन निर्देशन दिएका मन्त्री लामिछानेले कारागार सुधार र विपद् व्यवस्थापनमा प्रदेश सरकारसँग थप सहकार्य गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

मंगलबारदेखि २ दिन चलेको गोष्ठीमा गृह मन्त्रालयका उच्च अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसहित बाग्मती प्रदेशका सबै जिल्लाका सुरक्षा अधिकारी सहभागी थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .