ad ad

विचार


२०२२ का सबैभन्दा महत्वपूर्ण तीन घटना, जो इतिहासमा उल्लेखनीय हुनेछन्

२०२२ का सबैभन्दा महत्वपूर्ण तीन घटना, जो इतिहासमा उल्लेखनीय हुनेछन्

बिल एमट
पुस १६, २०७९ शनिबार २१:९,

म इकोनोमिस्टमा छँदा एक मित्र थिए। वर्षको अन्त्यमा यो वर्ष किन खास र महत्वपूर्ण रह्यो भनेर कुनै आलेख छाप्न जोकसैले दिएको सुझावलाई ती मित्र तिरस्कारपूर्वक अस्वीकार गर्ने गर्थे। 

उनी सही थिए। किनभने क्यालेन्डर र वर्षहरु कृत्रिम हुन्। र, हरेक वर्ष यसकारणले यो साल महत्वपूर्ण रह्यो भनेर लेख्ने आदत बसाल्दा आफैँमा हास्यास्पद बन्ने जोखिम हुन्छ। यो त्यस्तो मूल्यांकन हो, जसलाई विरलै प्रयोग गरिनुपर्छ। त्यसैअनुसार हेर्दा पनि सन् २०२२ समाप्त हुँदैगर्दा के देखिन्छ भने यो वर्ष केही खास र महत्वपूर्ण घटना भए। किनभने यो वर्षले केही यस्ता अत्यन्त स्पष्ट रेखा कोरेको छ। जुन रेखा ऐतिहासिक रुपले उल्लेख्य लाग्छन्।

युक्रेन युद्ध
स्वाभाविक रुपमा पहिलो त्यस्तो स्पष्ट रेखा हो– युक्रेनमाथि रुसको युद्ध। गत फेब्रुअरी २४ मा सुरु भएको त्यो आक्रमण १९५० मा तिब्बतमाथि चीनको हमलायताको सम्भवतः पहिलो आक्रमण हो, जसमा ठूलो देशले सानो छिमेकीको भूमि आफूमा मिलाउने प्रयास गरेको छ।

यसले अनेक अन्तर्राष्ट्रिय सन्धिहरु उल्लंघन गरेको छ। १९४५ मा राष्ट्रसंघीय बडापत्र (जसको रुस (सोभियत संघ) संस्थापक हस्ताक्षरकर्ता थियो) देखि १९९४ को बुडापेस्ट सम्झौता (जसअन्तर्गत भर्खर स्वतन्त्र भएका युक्रेन, बेलारुस र कजाकस्तानले सुरक्षा ग्यारेन्टीको बदलामा आणविक हतियार समर्पण गरेका थिए र सो सम्झौतामा रुस, बेलायत र अमेरिकाले हस्ताक्षर गरेका थिए) सम्म उल्लंघन गरेको छ।

सबैभन्दा महत्वपूर्ण कुरा चाहिँ यो युद्धले रुसको सेना र भूराजनीतिक शक्ति दुवैको निकै ठूलो परीक्षा लिएको छ। साथै, युक्रेन र झण्डै दुई दशकदेखि युक्रेन सामेल हुन खोजिरहेको पश्चिमको संकल्पको पनि परीक्षा हो यो।

त्यो परीक्षाको अन्तिम नतिजा के होला, देखिन बाँकी नै छ। तर, मध्य जाडो आइपुग्दा अहिलेसम्मको स्थिति युक्रेन र उसका पश्चिमा सहयोगीहरुको पक्षमै देखिन्छ।

युक्रेन युद्धले कोरेको रेखा भने अहिले नै प्रस्ट देखिन्छ– १९९१ मा स्वतन्त्र बनेको युक्रेनलाई जित्ने रुसको प्रयासले एउटा प्रयोजनलाई जन्म दियो। दिन र हप्ता बित्दै जाँदा त्यो प्रयोजन युक्रेन, अमेरिका, बेलायत र युरोपका लागि झनझन् आधारभूत र अस्तित्वका लागि निर्णायक बन्दै छ यो।

यो युद्ध कसरी अन्त्य होला, अहिले कसैलाई थाहा छैन। तर, के स्पष्ट भइसकेको छ भने यो युद्धमा हार्ने जोखिम मोल्न न युक्रेनले सक्नेछ, न त उसका पश्चिमा सहयोगीले नै। किनभने त्यो प्रयोजन हार्यो भने पश्चिम र उसका सारा मान्यता पनि हार्नेछ।

वास्तविक र सबैलाई एकताबद्ध बनाउने प्रयोजन दुर्लभ कुरा हो। त्यसैले जब त्यस्तो क्षण आउँछ, त्यो अत्यन्त महत्वपूर्ण हुन जान्छ। यो लडाइँ धेरै हदसम्म हिटलरविरुद्धको लडाइँजस्तै हो। त्यतिबेला र अहिले पनि संवादको कुनै सम्भावना वा तर्क छैन। यो प्राविधिक विषय होइन। अन्तर्राष्ट्रिय मामिला कसरी सञ्चालन गर्ने र सार्वभौमसत्ताको नियम के हुने भन्ने विषयमा यो एकदम आधारभूत विवाद हो।

युद्धको सुरुदेखि नै रुसविरुद्ध लड्न युक्रेनलाई साथ दिने पश्चिमाहरुको संकल्प कति समय टिक्ला भनेर सन्देह प्रकट गरिँदै आएको छ। द्वन्द्वग्रस्त स्थानबाट निकै टाढा रहेका जापानजस्ता पश्चिमासमर्थक मुलुकहरुमा पनि थुप्रै गम्भीर विश्लेषकहरुले अन्ततः पश्चिमा संकल्पलाई रुसी दृढताले हराउने तर्क गरेका छन्।

यो दृष्टिकोणको गल्ती के हो भने त्यसले यो द्वन्द्वमा पश्चिमाहरुको स्वार्थ के हो भन्ने कुरा बुझ्न सकेको छैन। पश्चिमा संकल्प बलियो रहनेछ। किनभने त्यसको कुनै विकल्प छैन। युरोपेलीहरु, अमेरिकीहरु र म के आशा गर्छौं भने डगमगाउनुमा जापानी नेताहरुले कुनै फाइदा नदेखुन्। 

युक्रेन युद्ध कुनै खालको भौगोलिक लेनदेनको मोलमोलाइमा फस्ने छैन। यो विषय लेनदेनभन्दा धेरै आधारभूत बनिसकेको छ। अन्तर्राष्ट्रिय नियम र मान्यताको विषयमा सम्झौताको कुनै सम्भावना छैन। या त ती ती टिक्छन् (रुस युक्रेनमा असफल भए), या ती सकिन्छन्।

चीनका ‘सुपरमेन’
२०२२ ले गरेको दोस्रो स्पष्ट संकेत चीनसँग सम्बन्धित छ। चीनलाई माया वा घृणा जे गरे पनि अघिल्लो वर्षसम्म के धारणा व्याप्त थियो भने चीनमा शासन गर्ने नेताहरुमा त्यस्तो दीर्घकालीन सोच छ, जुन सोच पश्चिमा लोकतान्त्रिक मुलुकका नेताहरुमा छैन। त्यस्तै, तिनको ‘टेक्नोक्र्याटिक’ विज्ञता पनि उपल्लो दर्जाको छ भन्ने सोचिन्थ्यो।

यो दृष्टिकोण १९८० को दशकमा जापानका ‘ब्युरोक्र्याट’प्रति राखिने धारणासँग धेरै मिल्दोजुल्दो थियो। पूर्वका यी रहस्यमयी मुलुकहरु ‘सुपरमेन’ ले चलाएको जस्तो लाग्थ्यो। तर, १९९० पछि जापानको सेयर, घरजग्गा बजार तथा बैंकिङ प्रणाली ध्वस्त भएसँगै त्यो मिथक मर्न पुग्यो। तर, अमेरिकीहरुको त्यो धारणा बदलिन वर्षौं लाग्यो।

२०२२ मा चीनमा ठ्याक्कै यस्तै भयो। चीनको नेतृत्व दुरदर्शी, अत्यन्त योग्य छ भन्ने मिथक ध्वस्त भयो। म आशा गर्छु, सदाका लागि। चीन आफैँले अपनाएको शून्य कोभिड नीतिले त्यही काम गर्यो, जुन काम जापानमा वित्त बजारले गरेको थियो। 

नयाँ सम्राटका रुपमा उदाएका सी चिनफिङ जति लामो समय सत्तामा बसे पनि चीन र विश्वमा उनको मिथक टुटिसकेको छ। व्यावहारिक रुपमा चीनको भविष्य र विश्वको भविष्यबारे गरिएका सबै किसिमका अनुमानहरुमाथि प्रश्न उठेको छ।

कोभिडअगाडिको आम प्रश्न थियो– विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रका रुपमा चीनले अमेरिकालाई कहिले उछिन्ला? जवाफ थियो– चाँडै।

अहिलेको सही उत्तर हो– हामीलाई थाहा छैन। तर, अब चीनले अमेरिकालाई कहिल्यै उछिन्न नसक्ने सम्भावनालाई पनि उत्तिकै वजन दिनुपर्छ। किनभने चिनियाँ अर्थतन्त्रका थुप्रै क्षेत्रमा कमजोरी देखिएको छ भने जनसंख्या बुढो हुँदै र घट्दै गएको छ। जसले भविष्यको वृद्धिको अनुमान अनिश्चित बनाएको छ।

चीनले शासन सञ्चालन र आर्थिक मोडेलको विकल्प प्रस्तुत गरेको छ भन्ने विचारलाई २०२२ ले भत्काइदिएको छ। चीनको राजनीतिक र आर्थिक व्यवस्था कमसेकम पश्चिमा मोडलजत्तिकै कमजोरीयुक्त र नाजुक मात्रै होइन, निर्णयप्रक्रियामा चीनले देखाएको कठोरताले त्यो अझ कमजोर छ भन्ने देखाएको छ। 

ताइवान र तेस्रो विश्वयुद्ध
२०२२ ले कोरेको तेस्रो स्पष्ट रेखा युक्रेन र चीन दुवैसँग जोडिन्छ। यो सालले थुप्रै मानिस र देशलाई के स्पष्ट पारेको छ भने आउँदा दशकहरुको सबैभन्दा आधारभूत रणनीतिक काम भनेको चीनलाई सैन्य कारबाही गर्नबाट रोक्नु हो। खासगरी ताइवानमाथिको आक्रमण र नाकाबन्दीबाट। किनभने त्यो तेस्रो विश्वयुद्धको कारण बन्न सक्छ।

यो निश्चय नै युक्रेनमाथि रुसी आक्रमणको प्रतिध्वनि हो। जुन रुस र चीनले आपसी रणनीतिक साझेदारी घोषणा गरेको २० दिन लगत्तै सुरु भएको थियो।

रुस र युक्रेनको सवालमा रोकथामको उपाय असफल भयो। २००८ मा जर्जिया र २०१४ मा क्रिमिया तथा दोनबासमा रुसको कदमलाई हेर्दा पछिल्लो आक्रमणबाट पनि चकित हुन आवश्यक छैन।

रुसले युक्रेनमा जस्तो कदम चाल्यो, चीनलाई ताइवानमा त्यस्तै कदम चाल्नबाट कसरी रोक्ने? पूर्वी तथा दक्षिणपूर्वी एसियाका सरकारहरुको मुख्य ध्याउन्न यही भएको छ। त्यस्तै, ताइवानमाथि चिनियाँ आक्रमणलाई प्रेरित गर्नेगरी कुनै कदम चाल्नबाट अमेरिकालाई रोक्ने विषय पनि उनीहरुका लागि उत्तिकै महत्वपूर्ण बनेको छ।

रोकथामका अनेक रुप हुनसक्छन्। पूर्वी र दक्षिणपूर्वी एसियाका कुनै पनि मुलुक चिनियाँ शिविर वा पश्चिमा शिविरमा संलग्न हुन चाहँदैनन्। लामो समयदेखि अमेरिकाका साझेदार रहँदै आएका दक्षिण कोरिया र जापान पनि यस्तो चाहँदैनन्। चीन र अमेरिकाको पक्ष लिनुपर्ने बाध्यताबाट बच्नुपर्ने टड्कारो आवश्यकता अहिले यी प्रत्येक मुलुकले देखेका छन्।

ताइवानले विश्वमा आणविक प्रलय निम्त्याउने सम्भावना जति छ, त्यति अरु कुनै पनि द्वन्द्वको जोखिम बोकेको क्षेत्रसँग छैन। २०२२ ले यो सैद्धान्तिक जोखिमलाई वास्तविक र विद्यमान खतरामा बदलिदिएको छ। 

पछि फर्केर हेर्दा यो वर्ष अन्य ठूला परिवर्तन पनि देखिन्छन्। जीवाष्म इन्धनबाट टाढिने वास्तविक विन्दु सायद यही वर्ष थियो। यही वर्ष सायद विश्वव्यापीकरणको पुनर्संरचना, युरोपेली संघको आवश्यकताको स्वीकार, अमेरिका र बेलायतमा ट्रम्प र जोनसनको कानुन तथा संविधान तोड्ने पपुलिस्ट, तानाशाही शासनको पतन पनि सुरु भयो।

यी सबै कुरा स्पष्टताभन्दा पनि सम्भावना हुन्। तर, माथि उल्लिखित तीन प्रवृत्ति भने स्थायी प्रकृतिका देखिन्छन्।

(एसिया टाइम्सबाट। बिल एमट १९९३ देखि २००६ सम्म दि इकोनोमिस्टको प्रधानसम्पादक थिए)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .