ad ad

विचार


धानखेत मास्दै छौँ, हाम्रो खाना अर्को कुनै ग्रहबाट आउँछ?

धानखेत मास्दै छौँ, हाम्रो खाना अर्को कुनै ग्रहबाट आउँछ?

डा. महेश पन्त
मंसिर २२, २०७८ बुधबार २०:४६, नर्विच (बेलायत)

यो लेख नेपालका विभिन्न जिल्ला र बेलायतको एउटा सानो सहर नर्विचमा मेरो झण्डै ४ दशक लामो अनुभव र अध्ययनमा आधारित छ। यो लामो यात्रामा मैले मुख्यतया दुई भूमिका निर्वाह गरेको छु। पहिलो– ‘विकासे ठेकेदारी’, जसलाई अंग्रेजीमा ‘कन्सल्टेन्सी’ भनिन्छ। यो भनेको खेताला काम हो। दिनभरि मालिकले लाए/अह्राएको काम गर्याे  र त्यसैबाट आएको ज्यालाले जीविका चलायो। मालिक राम्रै परे र काम पनि राम्रै पाइयो भने चाँडै धनी हुने बाटो हो यो।

मेरो दोस्रो भूमिका भनेको सामाजिक कार्यकर्ता हो र आजसम्म मैले तीनवटा कार्यक्रममा प्रत्यक्ष संलग्न भएर काम गरेको छु। यो काममा ज्याला न्यून वा शून्य भए पनि आत्मसन्तुष्टि धेरै हुन्छ। विगत १६ वर्ष बेलायतको नर्विच शहरमा त्यहाँका जनतासँग ‘स्वावलम्बन विकास’को अभ्यास गरेँ।

विकास कार्यमा यति लामो समयसम्मको संलग्नताले मलाई विकास भनेको के हो भन्नेबारे स्पष्ट बनाउनुको साटो झन् दिगभ्रमित बनाएको छ। तीस वर्षअघि विकाससम्बन्धी लेख लेख्दा ममा जति स्पष्टता थियो, अहिले छैन। अहिले मेरासामु यस्ता प्रश्न छन्, जुन पाठकसँगको अन्तरक्रियाबाट केही हदसम्म उत्तर पाउने आशा राखेको छु। 

विकास भनेको के हो? कसका लागि र कसले गरिदिने?  यो त्यस्तो प्रक्रिया हो, जसको सीधा सम्बन्ध आर्थिक समृद्धिसँग छ? विकास हुनुपूर्वको अवस्थालाई हामी अविकास भन्छौं भने विकासपछिको विनासलाई के भन्ने?

‘कुविकास’?

यो कान्तिपुर (काठमाडौंको पुरानो नाम), जहाँ यो देशका वरिष्ठ नेता, नीति–निर्माता, विज्ञ, वातावरणविद् बस्छन्, यसको अहिले कान्ति छैन, कुरूप छ। प्रकृतिले उपहार दिएको स्वच्छ हावा र शुद्ध पानी पनि अभाव छ। हामीले सोचेको विकास यस्तै हो र नेपालका अरू ठाउँमा पनि यसैको नक्कल गर्दै जाने हो भने (धेरै हदसम्म भइसकेको पनि छ) यो सुन्दर, शान्त नेपालको गति अबको १०—२० वर्षमा कस्तो होला? उत्तर छैन। 

धान फल्ने खेत कंक्रिटका जंगलले भरिएका छन्, यो काम अहिले राजधानीपछि जिल्ला–जिल्लामा थालिएको छ। भविष्यमा हाम्रो खाना अर्को कुनै ग्रहबाट आउँछ? यिनै प्रश्न, प्रसंगको सेरोफेरोमा यो लेख केन्द्रित हुनेछ।

विकास के हो र कसका लागि?
यस विषयमा चर्चा गर्नुअघि केही मान्यताबारे प्रस्ट पारौं। 

१. आर्थिक विकास र मानवीय विकासको अन्तर–सम्बन्ध : आर्थिक विकास मानवीय विकासका लागि आवश्यक सर्त हो, तर आर्थिक र भौतिक विकास भन्नु नै मानवीय विकास हो भन्न सकिन्न। किनभने मानवीय विकासका लागि आर्थिक र भौतिक विकासको सही प्रयोग हुन आवश्यक छ। 

२. साधन र साध्यमा फरक : आम्दानी, रोजगारी साधन हुन् भने मानवीय विकास साध्य। त्यसैले पैसा कमाउनु वा देशको आर्थिक विकास गर्नु मात्र विकासको लक्ष्य हुन सक्दैन। 

३. आकांक्षा/चाहना र आवश्यकताबीचको फरक : हाम्रा आकांक्षा अनगन्ती हुन सक्छन्, तर नैसर्गिक आवश्यकता सीमित हुन्छन्। उदाहरणका लागि तपाईंको छिमेकीले कार किनेको देखेर तपाईंलाई पनि कार किन्ने चाहना हुन सक्छ, तर तपाईंको जीवन त्यति व्यस्त छैन भने तपाईंलाई कारको आवश्यकता छैन। 

विकासको परिभाषा
द्रुततर आर्थिक विकास, औद्योगिकीकरण, प्रतिव्यक्ति आम्दानीलाई विकासका सूचक मानिने परिपाटीबाट विकास हुँदै आएर अहिले आधारभूत आवश्यकताको परिपूर्ति, राजनीतिक स्वतन्त्रता, लैंगिक एवं जातिगत, आर्थिक समानताजस्ता सूचक समावेश भएका छन्।

अहिले अपनाइएका दिगो विकासका अवधारणा बहुआयामिक छन्।

विकासको उपलब्धि
बितेका ५ दशकमा विश्वले आर्थिक विकासमा ठूलो फड्को मारेको छ। हाम्रै देशमा पनि २—३ दशकमा भएको आर्थिक प्रगति उल्लेखनीय छ। जसका उदाहरण काठमाडाैँमा देखिने चिल्ला कार, गगनचुम्बी भवन, सपिङ मल आदि हुन्।

त्यसैगरी विज्ञान–प्रविधिको विकासले आज पेटभर खान नपाउनेहरू पनि मोबाइलमा कुरा गर्न सक्ने भएका छन्। हाम्रोजस्तो आर्थिक रूपमा पिछडिएको देशमा पनि सञ्चारमाध्यम प्रयोगमा उल्लेखनीय प्रगति भएको छ। 

मानवीय विकास– शिक्षा, स्वास्थ्य क्षेत्रका सवालमा सर्वसाधारणको पहुँच बढेको छ। साथै हाम्रो औसत आयु पनि उल्लेखनीय रूपमा बढेको छ; बाल मृत्युदर घटेको छ। यस्तै उल्लेखनीय प्रगति राजनीतिक स्वतन्त्रता, लैंगिक एवं जातीय असमानता घटाउने काममा पनि भएको छ। 

त्यसो हो भने समस्या के त?
अब विकासको अर्को पाटोतर्फ पनि हेरौं। 

१. असमानता 
विश्व अर्थ–व्यवस्थाले गरेको यत्रो प्रगतिका बीच अहिले पनि विश्वमा झन्डै एकतिहाइ जनता गरिबीको अवस्थामा छन्। नेपालका सन्दर्भमा पनि एकचौथाइ नागरिक अझै गरिबीको रेखामुनि छन्। विश्व साथै नेपालले पनि आर्थिक सम्पन्नता हासिल गर्दा पनि यति ठूलो संख्यामा मानिस गरिबीको अवस्थामा रहन बाध्य हुनु दुःखद हो।

धन हुनेलाई त्यसको आनन्द लिने फुर्सद छैन भने गरिबलाई आज चुलो कसरी बाल्ने भने चिन्ताले पिरोलेको छ। त्यस्तै एकातिर कतिपय खान नपाएर कुपोषणको सिकार भएका छन् भने अर्कातिर कोही मोटाएर उठ्न/बस्नसमेत नसक्ने भएका छन्। 

यी सबैको मूल कारण हो– असमानता। जुन गरिब र धनी देशबीच मात्र नभएर धनी र गरिब देशभित्रै पनि छ। 

२. आर्थिक विकासको सीमितता
आर्थिक विकास भनेको बेलुनजस्तै जति बढाए पनि हुने चिज होइन। हुन त बेलुन पनि धेरै फुक्यो भने फुट्छ। प्राकृतिक साधनको प्राप्यता, यो पृथ्वीको क्षमता, वातावरणीय असन्तुलन, प्रदूषण, फोहरमैलाको व्यवस्थापन, व्यापक गरिबी र असमानताका कारण आर्थिक विकासको गति सीमित हुन जान्छ।

यस्तो हुँदैन थियो भने धनी औद्योगिक राष्ट्रहरूको आर्थिक वृद्धिदर कहिल्यै घट्ने थिएन।​

३. नवउदारवादी विश्व–पुँजीवादी व्यवस्था
यो पुँजीवादी व्यवस्था भागवत गीतामा श्रीकृष्णले भनेजस्तै सर्वव्यापी छ। उत्तर–दक्षिण, पूर्व–पश्चिम, वामपन्थी, दक्षिणपन्थी सबै मुलुकमा यो हावी छ। यसको मूलमन्त्र भनेको हजमोलाको विज्ञापन ‘पेटभरि खाऊ’ हजमोलाले ‘पचाऊ’ भनेजस्तै हो– उपभोक्तावाद।

​यसमा जसरी भए पनि बढीभन्दा बढी सामान, सेवा, बेचेर नाफा कमाउनुपर्छ भन्ने सोच हुन्छ। व्यक्तिको भलाइ, वातावरण संरक्षणजस्ता विषयमा खासै मतलब हुँदैन। 

आर्थिक मन्दीका कारण आधारभूत सेवा– शिक्षा, स्वास्थ्य, यातायातमा पनि पुँजीवादको प्रभाव धनी मुलुकमा पनि बढ्दो छ। हाम्रै देशमा पनि एकातिर शिक्षा, स्वास्थ्यजस्ता सेवालाई अधिकार भनिएको छ भने अर्कातिर पैसा नतिरी यी सेवा कि पाइँदैन, कि गुणस्तरहीन छन्। यसको मतलब पैसा हुनेले मात्र यी सेवा पाउने भए। अनियन्त्रित बजारमा यी सेवाको मूल्यमा हुने वृद्धिदर ज्यालामा हुने वृद्धिको तुलनामा धेरै छ। 

यो पुँजीवाद सर्वमान्य मात्र नभएर, निर्विकल्प पनि भएको छ। किनभने अहिले यसको सामना गर्ने कुनै अर्को शक्ति छैन।

विचरा! ती कार्लमार्क्स जीवित भएका भए के भन्थे होलान्? उनका सर्वहाराहरू अहिले निजी स्कुल, अस्पतालका मालिक छन्, सुपरमार्केट जान्छन्, आइफोन चलाउँछन्। वास्तवमा यिनीहरूले पनि पुँजीवादीलाई टेको दिएका छन्। 

राज्य–व्यवस्था
‘पुँजीवादी व्यवस्थामा सरकार भनेको पुँजीवादको दाहिने हात हो’ भन्ने माक्र्सको भनाइ अहिले सान्दर्भिक भएको छ। हाम्रोजस्तो गरिब देशमा मात्र नभएर धनी मुलुकहरूमा पनि सरकार जनताका आधारभूत आवश्यकता परिपूर्ति गर्न असफल भएका छन्।

बेलायतजस्तो सम्पन्न मुलुकमा पनि खाद्य बैंक (मनकारी व्यक्तिहरूले दान दिएको खाना जम्मा गरेर गरिबहरूलाई वितरण गरिने व्यवस्था) मा भरपर्ने व्यक्तिहरूको संख्या बढ्दो छ। 

बढ्दो आर्थिक असमानता, भ्रष्टाचार, कालोबजारीका कारण सर्वसाधारण जनतामा सरकारले केही गर्न सक्छ भन्ने विश्वास घट्दै गएको छ। 

के ग र ने वा के गर्ने?
के ग र ने, यहाँ यस्तै छ भनेर बस्ने हो भने यथास्थितिमा कुनै परिवर्तन आउँदैन। त्यसैले हामीले आआफ्ना ठाउँबाट के गर्न सकिन्छ भनेर सोच्ने र त्यो सोचाइलाई व्यवहारमा उतार्न सक्नुपर्छ। हामी सबैमा त्यो क्षमता छ भन्ने कुरामा विश्वास गर्नुपर्छ। यस विषयमा यसपछिका लेखमा चर्चा गर्दै जानेछु। 

(डा. महेश पन्त अर्थशास्त्री हुन्) 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .