छापा खबर


ओलीले यसो भनेर थर्काएपछि महराको राजीनामा

ओलीले यसो भनेर थर्काएपछि महराको राजीनामा

नेपालखबर
असोज १५, २०७६ बुधबार १:७,

सोमबार साँझ सनसनीपूर्ण खबर फैलियो- सभामुख कृष्णबहादुर महराले संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीलाई बलात्कार प्रयास गरे।

यो कुरा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालका कानमा पुग्दा रात छिप्पिन लागेको थियो।

भएको के थियो भन्ने बुझ्न नेकपा प्रवक्ता एवं सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ मंगलबार बिहानै महराको सरकारी निवास बालुवाटर पुगे। तर महरा खुल्न चाहेनन्। पारिवारिक सम्बन्ध भएकाले पहिलेपहिले जाने गरेको तर यसपालि ती महिलाको कोठामा नगएको जिकिर गरे।

त्यसपछि सोधपुछका लागि अध्यक्ष दाहाल आफैं गए। ‘महराले त्यही कुरा दोहो¥याउनुभयो,’ स्रोतले भन्यो, ‘तर दाहालले यस्तो टालटुले जवाफले हुँदैन भन्नुभएपछि उहाँले थप जवाफ दिनुभएन।’

महरासँग छोटो कुराकानीपछि दाहाल परामर्शका लागि प्रधानमन्त्री ओलीलाई भेट्न उनकै निवासमा पुगे। नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ पहिल्यै त्यहाँ पुगिसकेका थिए। तीनै जना भेला भएपछि ओलीले महरालाई फोन गरे। महराको बोली फेरियो। स्रोतका अनुसार ओलीसँगको फोनमा महाराले भने, ‘म ती महिलालाई चिन्दा पनि चिन्दिनँ र अहिलेसम्म उनको डेरामा गएको पनि छैन।’

दुई अध्यक्षसँग केही समयको अन्तरालमा भएको संवाद नै बाझिएपछि ओलीले महरालाई आफूले आइतबार साँझ भएको घटनाको सबै रिपोर्ट पाइसकेकाले झूट नबोल्न भने। त्यसपछि महराले भने, ‘म छानबिनका लागि बाटो खोलिदिन्छु।’ लगत्तै फोन काटियो।

अध्यक्षद्वयले तुरुन्तै सचिवालय बैठक बोलाउने निधो गरे। बिहान ११ बजे बसेको सचिवालय बैठकमा महराले सभामुख र सांसद पदबाट राजीनामा दिनुपर्ने निर्णय भयो। प्रवक्ता श्रेष्ठले सञ्चारकर्मीलाई निर्णयको जानकारी गराए। यो खबर आजको कान्तिपुरमा बिनु सुवेदीले लेखेकी छन्।

‘सचिवालय बैठकले महरा आइतबार साँझ ती महिलाको डेरामा गएकै हुन् भन्ने निष्कर्ष निकालेको छ,’ बालुवाटार स्रोतले भन्यो, ‘सुरक्षा स्रोतबाट प्रधानमन्त्रीलाई भएको रिपोर्टिङमा पनि त्यही बिफ्रिङ छ।’ सचिवालयले निर्णय गरेको करिब आधा घण्टापछि महराले सभामुख पदबाट राजीनामा दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad