छापा खबर


डेंगुले अस्पतालमा ठेलमठेल, डाक्टर भन्छन्-खाना खान पनि फुर्सद छैन

डेंगुले अस्पतालमा ठेलमठेल, डाक्टर भन्छन्-खाना खान पनि फुर्सद छैन

नेपालखबर
भदौ २३, २०७६ सोमबार १:१९,

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा‍.शेरबहादुर पुनलाई बिरामी जाँच्न भ्याइनभ्याइ छ। भन्छन्, ‘खाना खान पनि फुर्सद छैन।’

उनी बिहान ९ बजे अस्पताल पुग्छन् । डेंगुको शंका गर्दै जाँच गर्न आएका बिरामीको लाइन हुन्छ । उपचारमा संलग्न चिकित्सक पानी पिउनै नपाई जाँच्न व्यस्त हुन्छन्। ‘बिरामीलाई सोध्ने र उनीहरूका जिज्ञासा समाधान गर्दा नै मुख प्याकप्याक हुन्छ’, अर्का चिकित्सक भन्छन्।

भीडभाडले अस्पतालमा जात्रा लागेझैं देखिन्छ । ठेलमठेल हुन्छ। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा दिनेश गौतमले लेखेका छन्।

बिरामीको अनुहार निन्याउरो देखिन्छ । उनीहरूका आफन्त आक्रोशित भेटिन्छन् । अस्पतालनजिकै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको टिकट काउन्टरमा पनि यस्तै दृश्य देखिन्छ । डेंगुको आशंकामा रगत जँचाउने र रिपोर्ट लिनेको लाइन बिहानदेखि लागेको हुन्छ।

‘बिहान ६ बजेदेखि साँझसम्म रगत जँचाउने र रिपोर्ट लिनेको भीड लाग्छ’, प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ता भन्छन् । शंकास्पद बिरामीलाई शुक्रराज ट्रपिकल अस्पतालमा रेफर गर्न साध्य नभएपछि वीर अस्पतालले शुक्रबारदेखि डेंगु परीक्षण थालेको छ । वीरका निर्देशक डा। केदार सेन्चुरी भन्छन्, ‘बिरामीलाई रेफर गर्दा रिपोर्ट आउन ढिलो हुने भएपछि यतै (वीरमा) परीक्षण गर्न थाल्यौं।’

शुक्रराज अस्पतालमा डेंगुका बिरामीको उपचार निःशुल्क हुने घोषणापछि चाप बढेको हो । अस्पतालमा गत वैशाख र जेठमा एक÷एक जना संक्रमित उपचार गर्न आएका थिए।

असारमा ९ र साउनमा २३ जना उपचार गरी फर्किएको अस्पतालले जनाएको छ । भदौमा ४४ महिला र ४१ पुरुष उपचारपछि फर्किए । जँचाउन आउनेको संख्या बढेको छ।

डेंगुबाट संक्रमित भई सार्वजनिक र निजी अस्पताल जानेहरू बढेका छन् । सरकारसँग यकिन तथ्यांक भने छैन । इपिडिमियोलोजी तथा रोग नियन्त्रण शाखाका वरिष्ठ स्वास्थ्य प्रशासक डा. प्रकाश शाहका अनुसार ४८ जिल्लामा डेंगु संक्रमण भएको पाइएको छ । ७ हजार ३ सय १५ जनाको रगत परीक्षण गर्दा डेंगु पोजेटिभ देखिएको डा. शाह बताउँछन्।

तर, डेंगु सुरु भएको धरानमा सरकारी र निजी अस्पतालमा जाँच गराएकामध्ये १० हजारभन्दा बढीमा डेंगु पोजेटिभ पाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad