छापा खबर


पुडासैनी आत्महत्या प्रकरण : यस्तो छ अर्का आरोपित युवराजको बयान

पुडासैनी आत्महत्या प्रकरण : यस्तो छ अर्का आरोपित युवराजको बयान

नेपालखबर
भदौ १०, २०७६ मंगलबार ३:०,

न्युज २४ मा रवि लामिछानेले प्रस्तुत गर्ने सीधा कुरा जनतासँग भन्ने कार्यक्रमको रिपोर्टरका रूपमा कार्यरत छु।

मृतक शालिकराम पुडासैनीले करिब डेढ वर्षपहिले कुनै सरकारी कार्यालयको बेथितिबारे समाचार ल्याई हाम्रो कार्यक्रममा आएका थिए।

उनले ल्याएको सूचना राम्रो लागी कार्यक्रमका प्रोड्युसर दीपक बोहरा र रवि लामिछानेको सिफारिसमा उनलाई रिपोर्टरका रूपमा हामीसँगै काम गर्ने गरी आबद्ध बनाउने क्रममा उनलाई चिनेको हुँ।

शालिकराम पुडासैनी आत्महत्या प्रकरणका तीन अभियुक्तमध्ये न्युज २४ का पत्रकार युवराज कँडेलले चितवन जिल्ला अदालतमा दिएको बयान आजको नयाँ पत्रिकाले जस्ताको तस्तै छापेको छ।

युवराज आफ्नो बयानमा अगाडि भन्छन् :

उनले करिब डेढ वर्ष हामीसँगै काम गरे । उनले ल्याएका विभिन्न सूचनालाई मैले काटछाँट गरी समाचारको रूपरेखा दिई कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई दिने गरेको थिएँ । हामीसँग काम गर्ने क्रममा उनको घर नुवाकोट हो, श्रीमती सम्झना हुन् र उनीहरू नयाँ बसपार्कतिर बस्छन् भन्नेबाहेक अन्य केही पनि थाहा थिएन । उनीसँगको हाम्रो सम्बन्ध राम्रै थियो।

करिब डेढ महिनापहिले माउन्टेन टेलिभिजनमा राम्रो तलब पाएकाले शालिकरामले न्युज २४ टिभी छोडी गएको भन्ने रवि लामिछानेबाट थाहा पाएको हुँ । सोपश्चात् उनीसँग मेरो फोन तथा सामाजिक सञ्जालसमेतबाट कुनै सम्पर्क तथा कुराकानी भएन । वारदातभन्दा करिब दुई–तीन दिनपहिले दीपक बोहरा, रवि लामिछाने र मलगायत न्युज २४ का अन्य कर्मचारीहरूसमेत भएको वेला क्यामेराम्यान अनिल ढुंगेलले शालिकरामको प्रेमिकासँग सम्बन्ध बिग्रिएकाले गुनासो गर्दै थिइन् भनेकाले त्यस्तो छ भने प्रहरीकोमा जान भन्दिनु भनी दीपक बोहराले भनेका थिए।

२० साउन रातको करिब २३ः३० बजे म आफ्नै डेराकोठामा थिएँ, सहकर्मी रिया भण्डारीले फोन गरी शालिकराम पुडासैनी चितवनको एक होटेलमा झुन्डिएको अवस्थामा फेला परेको भनेर जानकारी गराएकीले मैले पूर्वसहकर्मीको नाताले घटनाबारे रवि लामिछाने र दीपक बोहरालाई जानकारी गराएको थिएँ। शालिकराम पुडासैनीले मर्नुअघि रवि लामिछाने, मेरो र आफ्नी प्रेमिका अस्मिताको नाम लिएको छ भन्ने विभिन्न समाचारहरूबाट थाहा पाएको थिएँ।

पछि, अनुसन्धानका क्रममा प्रहरीद्वारा पक्राउ गरी शालिकरामको मोबाइलबाट बरामद भएका दुईवटा भिडियोहरूसमेत हेरी सो सम्बन्धमा थप जानकारी भयो । उनले सो भिडियोमा भनेजस्तो मैले उनलाई कुनै दुःख दिएको छैन । उनले ल्याएका समाचारका टिपोटहरूलाई कहिलेकाहीँ निकाल्ने र थप्ने हुन्थ्यो । सोही कुरामा उनले मसँग चित्त दुखाएको हुनुपर्छ । सोबाहेक अन्य केही कारण छैन भन्नेसमेत व्यहोराको युवराज कँडेलको बयान कागज ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad