छापा खबर


सरकारी अध्ययनले नै भन्यो- १५ प्रतिशत विद्यालय मात्रै पठनपाठन योग्य !

सरकारी अध्ययनले नै भन्यो- १५ प्रतिशत विद्यालय मात्रै पठनपाठन योग्य !

नेपालखबर
भदौ १०, २०७६ मंगलबार ३:३५,

सरकारी निकायले नै देशका सामुदायिक माध्यमिक विद्यालयमध्ये १५ दशमलव पाँच प्रतिशत मात्रै पठनपाठनका दृष्टिकोणले उपयुक्त भएको निचोड निकालेको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको शैक्षिक गुणस्तर परीक्षण केन्द्र (ईआरओ)ले २४ जिल्लाका एक हजार ९९९ वटा विद्यालयमा गरेको कार्यसम्पादन परीक्षणपछि करिब ८५ प्रतिशत विद्यालय पठनपाठन गर्न अनुपयुक्त भएको निष्कर्ष निकालेको हो।

यो खबर आजको गोरखापत्र दैनिकले छापेको छ।

शिक्षा पत्रकार सञ्जालले सोमबार आयोजना गरेको अन्तक्रियामा ईआरओका महानिर्देशक टेकनारायण पाण्डेले भने, “यो नमुनाले समग्र मुलुककै प्रतिनिधित्व गर्छ। यसैका आधारमा देशभरिको अवस्था आकलन गर्न सकिन्छ। ८५ प्रतिशत माध्यमिक विद्यालय गुणस्तरका हिसाबले काम लाग्ने अवस्थाका छैनन्।”

ईआरओले लगानी, प्रक्रिया र उपलब्धिलाई परीक्षणको स्तर निर्धारणको आधारका रूपमा लिएको छ। विद्यालयको भौतिक संरचना, शिक्षण र सामुदायिक सहभागितालाई लगानीअन्तर्गत समावेश गरिएको छ भने कक्षा शिक्षण, विद्यार्थी मूल्याङ्कन, शिक्षकको पेसागत विकास, नेतृत्व र व्यवस्थापनलाई प्रक्रियाअन्तर्गत तथा सेवाग्राहीको सन्तुष्टि, सिकाइ उपलब्धि आदिलाई उपलब्धिअन्तर्गत समावेश गरिएको छ। यी आधारलाई समग्रमा २६४ अङ्क कायम गरिएको छ।

पछिल्लो आर्थिक वर्ष शिक्षामा राज्यको लगानी घट्दै गएको छ । यो वर्ष कुल बजेटको १० प्रतिशतमा झरेको छ। माध्यमिक तहको शिक्षामा लगानी वृद्धि नगर्दासम्म विद्यालयको अवस्थामा सुधार सम्भव नभएको ईआरओको ठहर छ।

ईआरओको परीक्षणपछि तयार पारिएको प्रतिवेदनमा ८३.३ प्रतिशत विद्यालय सामान्य, १५.५ प्रतिशत विद्यालय मध्यम, शून्य दशमलव नौ प्रतिशत विद्यालय कमजोर र शून्य दशमलव एक प्रतिशत विद्यालय उत्तम रहेको उल्लेख छ।

४० प्रतिशतभन्दा कम प्राप्ताङ्क भएका कमजोर, ४० देखि ७० प्रतिशतसम्मका सामान्य, ७० देखि ९० प्रतिशतसम्मका मध्यम र ९० प्रतिशतभन्दा माथि प्राप्ताङ्क भएका उत्तम विद्यालय हुन् ।

विद्यालयको सूचकका रूपमा रहेको लगानी, प्रक्रिया र उपलब्धि शतप्रतिशत पुग्नुपर्नेमा लगानी सरदर ६१ प्रतिशत, प्रक्रिया ५९ प्रतिशत र उपलब्धि ६१ प्रतिशतको अवस्थामा रहेको देखिएको छ।

परीक्षणका क्रममा २३ वटा नमुना विद्यालयलाई समावेश गरिएको थियो। एउटा पनि नमुना विद्यालयको अवस्था उत्तम रहेको नपाइएको ईआरओका महानिर्देशक पाण्डेले बताए। सरकारले भौतिक पूर्वाधार, नतिजालगायतका आधारमा साढे २०० भन्दा बढी विद्यालयलाई नमुना विद्यालयका रूपमा घोषणा गरी त्यहाँ ठूलै लगानी गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad