ad ad

छापा खबर


वैदेशिक रोजगार पुनः प्रभावित, खाडी मुलुकले रोक्न थाले अन्तर्राष्ट्रिय उडान

वैदेशिक रोजगार पुनः प्रभावित, खाडी मुलुकले रोक्न थाले अन्तर्राष्ट्रिय उडान

नेपालखबर
पुस १३, २०७७ सोमबार २३:२२,

कोरोना भाइरसको नयाँ स्वरूप देखिन थालेपछि खाडीलगायतका मुलुकहरूले अन्तर्राष्ट्रिय उडान रोक्न थालेका छन्।

नेपाली श्रमिकहरूको मुख्य गन्तव्य मानिएको साउदी अरब, ओमान र कुवेतले केही समयका लागि अन्तर्राष्ट्रिय उडान रोकिसकेका छन्। त्यस्तै, खाडीका अन्य मुलुकहरूले पनि उडान रोक्ने तयारी गरिरहेको वैदेशिक रोजगार व्यवसायी संघले जनाएको छ।

संघका सचिव मेघनाथ भुर्तेलका अनुसार कतारबाहेक मलेसिया र खाडीका मुलुकहरूले उडान रोक्ने विषयमा छलफल गरिरहेका छन् । अन्तर्राष्ट्रिय उडान बन्द हुन थालेपछि वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारहरू पुनः प्रभावित हुने उनको भनाइ छ । यो खबर आजको नयाँ पत्रिका दैनिकमा मुना कुँवरले लेखेकी छन्।

नयाँ भाइरसका कारण खाडी मुलुकहरूले अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध थपिए नेपाली श्रमिकहरू प्रभावित हुने कुवेतका लागि नेपाली राजदूत डा.दुर्गाप्रसाद भण्डारीले बताए । ‘पहिलो चरणमा १० दिन उडान रोकिएको सूचना आएको छ । प्रतिबन्ध थपिन पनि सक्ने देखिएको छ । यदि यो प्रतिबन्ध लम्बियो भने नेपाली श्रमिक प्रभावित हुनेछन्,’ उनले भने।

कुवेत सरकारले श्रमिकका लागि भिसा रोकेको भए पनि बिदामा रहेका श्रमिकहरूलाई कुवेत प्रवेशका लागि भने खुला गरेको छ । हाल कुवेतबाट जजिरा एयरलाइन्सले नेपालका लागि सातामा तीनवटा उडान भर्दै आएको छ । तर, नेपालबाट भने एयरलाइन्सले यात्रु लैजान रोक लगाएको छ।

एयरलाइन्सले सातामा औसतमा ३ देखि ४ सय नेपाली श्रमिक कुवेतदेखि नेपालमा उडाउने गरेको राजदूत भण्डारीले बताए । तर, छुट्टीमा नेपाल आएका श्रमिकहरू भने युएई ट्रान्जिट हुँदै कुवेत पुग्ने गरेको उनले बताए।

त्यस्तै, साउदी सरकारले पनि अर्को एक साता प्रतिबन्ध लम्ब्याउन सक्ने साउदीका लागि नेपाली राजदूत डा.महेन्द्रप्रसाद सिंहले बताए । उनका अनुसार साउदी सरकारले पठाएको पत्रमा नै थप एक साता लम्बिन सक्ने उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .