छापा खबर


शीतलहर छल्न परालको सहारा, जाडोले मर्ने डर

शीतलहर छल्न परालको सहारा, जाडोले मर्ने डर

नेपालखबर
पुस ५, २०७७ आइतबार १:२९,

परालले छाएको सानो छाप्रो। एकातिर काठ र अर्कातिर परालकै बोझाले बारबेर गरेर चिसो भुइँमा बनाइएको डसना। त्यसमाथि पातलो सुकुल ओछ्याइको छ। नजिकै चिथ्रा परेका पुराना कपडा जोडेर बनाइएको ओढ्ने राखिएको छ।

यो सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिका–६ सीतापुरका परमेश्वर पासवानको ओछ्यान हो। गत वर्ष शीतलहरमा यस्तै ओछ्यानमा कठ्यांग्रिएर उनकी पत्नी माकोदेवी पासवानको मृत्यु भएको थियो।

यसपटकको शीतलहर कसरी कटाउने चिन्ताले उनलाई सताएको छ। यो खबर आजको नागरिक दैनिकमा मिथिलेश यादवले लेखेका छन्।

सुकुमबासी परमेश्वरसँग एकसरो लुगाका भरमा शीतलहर कटाउनुपर्ने बाध्यता छ। उनका लागि जाडोको सहारा घुर हो। तीन दिनदेखि चलेको शीतलहरका कारण परमेश्वरसँगै सुकुमबासी बस्तीका अन्य पनि आत्तिएका छन्।

ऐलानी जग्गामा फुसको छाप्रो बनाएर परमेश्वरको परिवार बस्दै आएको छ। जेनतेन ओत लाग्ने ठाउँमा घुर बालेर जाडो छल्दै आएका उनलाई शीतलहरले निकै अत्याएको छ। उनले भने, ‘शीतलहर हामी गरिबका लागि कालै बनेर आउँछ।’ शरीर छोप्ने कपडा जोड्न मुस्किल भएका बेला ओढ्ने–ओछ्याउने न्यानो कपडाको जोहो आफूहरूका लागि आकाशको फल जस्तै भएको उनले बताए।

न्यानो ओढ्ने–ओछ्याउने नहुँदा गत वर्ष पत्नी गुमाउनुपरेको पीडाले अहिले पनि उनलाई सताएको छ। मौसम र सरकार दुवै गरिबमारा रहेको उनको बुझाइ छ। ‘ठन्ढियो गरिबे सबके उपर हमला करै छै (चिसोले पनि हामीजस्ता न्यानो जोड्न नसक्नेलाई नै हमला गर्दो रहेछ),’ उनले भने, ‘गरिब मरलो पर सरकार कोनो मोजर नै करै छै (गरिब मरे पनि सरकारले चासो देखाउँदैन)।’

चिसो सुरु भएपछि सरकारले लगाउन र ओछ्याउन न्यानो कपडाको प्रबन्ध गरिदिएको भए गरिबको प्राण जोगिने यहाँका विपन्न बासिन्दा बताउँछन्। राजदेव पासवानले भने, ‘चुनावके बाद घरेमे सरकार यतै कहैछेलै (चुनाव भएपछि गाउँघरमै सरकार आउँछ भन्थे, अखनी तक सरकार याल जका नै बुझहाय ९अहिलेसम्म सरकार भएको अनुभूति भएको छैन)।’

चिसो बढेसँगै ७८ परिवारको बसोबास रहेको सुकुमबासी पासवान बस्तीमा त्रास फैलिएको छ। यसपटकको शीतलहरले मरिने हो कि भन्ने डर उनीहरूमा जागेको छ। बस्तीका प्रायः सबैको जीवनशैली उस्तै छ। सुत्ने, ओढ्ने, ओछ्याउनेदेखि खानपान पनि मिल्दोजुल्दो। जीवन धान्ने सहारा पनि उही अर्थात् मजदुरी हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad