छापा खबर


अझै कति लाग्छ बंगलादेशसँग पैंचो मागेको मल ल्याउन? कहाँ अड्कियो प्रक्रिया?

अझै कति लाग्छ बंगलादेशसँग पैंचो मागेको मल ल्याउन? कहाँ अड्कियो प्रक्रिया?

नेपालखबर
असोज ७, २०७७ बुधबार १:११,

नेपाल सरकारले बंगलादेशबाट सापटीमा ५० हजार टन युरिया मल ल्याउने पक्का भएको छ । बंगलादेशले ५० हजार टन युरिया पैँचोमा दिन लिखित पत्राचार गरिसकेको कृषि तथा पशुपक्षी मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले जानकारी दिए ।

‘बंगलादेशले चितगाउँ बन्दरगाहबाट ५० हजार टन युरिया दिने लिखित सहमति जनाइसकेको छ । उसले त्यहाँको कुन कम्पनीलाई सम्पर्क गरेर दिने भनेर पनि खुलस्त पारेको छ,’ केसीले भने, ‘बंगलादेशले सहमति दिएपछि कृषि सामग्रीले ढुवानीका लागि टेन्डर पनि खोलिसकेको छ ।’ पैँचो मल ल्याउन मन्त्रालयमातहतको कृषि सामग्री कम्पनी लिमिटेडले एक हप्ताको समय राखेर गत शनिबार नै टेन्डर खोलिसकेको छ ।

कम्पनीले रेल, सडकमार्ग र समुद्रीमार्ग कहाँबाट ल्याउँदा सस्तो पर्छ, सोहीअनुसार ल्याउने गरी टेन्डर भर्न इच्छुक ढुवानीकर्तालाई आग्रह गरेको छ। कृषि सामग्रीका प्रबन्ध सञ्चालक नेत्रप्रसाद भण्डारीले ढुवानीकर्ता छनोटपछि ७० दिनको समय दिएर बंगलादेशबाट मल ल्याउन सुरु गर्ने बताएको खबर आजको नयाँपत्रिकामा अजित अधिकारीले लेखेका छन।

‘हामीले ढिलोमा कात्तिक पहिलो साताबाट बंगलादेशी मल भित्र्याउन सुरु गर्ने गरी प्रक्रिया अघि बढाएका छौँ,’ उनले भने, ‘यो युरिया आउँदो गहुँ सिजनका लागि हो । गहुँ लगाउने किसानलाई कुनै समस्या नहोस् भन्नका लागि छिटो प्रक्रियाबाट मल ल्याउने प्रयत्न गरेका हौँ।’

ठूलो परिमाणमा रहेको मलको प्याकेजिङ जिम्मा भने नेपालले नै लिएको छ । ढुवानीका लागि छनोट भएको ठेकेदारले नै प्याकेजिङ गरी ल्याउनुपर्ने सर्त राखिएको छ।

यो मल वीरगन्ज, भैरहवा र नेपालगन्ज नाकासम्म ल्याइदिनुपर्ने हुन्छ। पैँचो ल्याएको मल बंगलादेशलाई आठ महिनाभित्र तिरिसक्ने समझदारी भएको छ । कृषि सामग्रीले ग्लोबल टेन्डरबाट सो परिमाणको मल खरिद गर्ने ठेकेदारलाई कलकत्ता बन्दरगाहसम्म ल्याउने जिम्मा दिने र त्यहाँबाट चित्तगाउँ बन्दरगाहसम्म कृषि सामग्रीले नै ढुवानी गरेर पुर्‍याइदिने समझदारी भएको छ ।

नेपाल भित्र्याउने मल भने विभिन्न नाकामा रहेका कृषि सामग्रीको गोदामसम्म वा भन्सार यार्डमा रहेको एकीकृत जाँचचौकीसम्म ल्याउने गरी टेन्डर हुने गरेको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad