छापा खबर


एमाले-माओवादी गुटको द्वन्द्वमा यसरी पिल्सिए घिसिङ

एमाले-माओवादी गुटको द्वन्द्वमा यसरी पिल्सिए घिसिङ

नेपालखबर
भदौ ३१, २०७७ बुधबार ३:१३,

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको चारवर्षे कार्यकाल आइतबार सकिएको थियो ।

सोमबारको मन्त्रिपरिषद् बैठकले घिसिङलाई सोही पदमा पुनर्नियुक्ति गर्ने विषय बिहानैदेखि चर्चामा थियो । तर उक्त बैठकमा त्यो अजेन्डाले प्रवेशै पाएन।

मन्त्रालय स्रोतका अनुसार ऊर्जामन्त्री वर्षमान पुनले घिसिङको पुनर्नियुक्तिको अजेन्डा आइतरबार नै तयार पारेर पठाएका थिए । तर प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसलाई बैठकमा प्रवेशै गराएनन् ।

एक मन्त्रीका अनुसार पुनले बैठकमा ‘प्रधानमन्त्रीज्यू, मेरो अजेन्डा’ भन्नासाथ ओलीले ‘पछि’ भनेर जवाफ दिएका थिए । यो खबर आजको नागरिक दैनिकमा प्रशान्त वलीले लेखेका छन्।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र एकीकरणपछि बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा सोहीअनुसार विभिन्न गुट छन् । त्यस्ता गुटको अन्तरद्वन्द्वको भुंग्रोमा घिसिङ पुनर्नियुक्तिको विषय पिल्सिन पुगेको नेकपाका एक नेताको बुझाइ छ।

सोमबार बिहान र साँझ नेकपाका दुई नेताले सामाजिक सञ्जालमा अभिव्यक्त गरेको मतले पनि उनको बुझाइलाई पुष्टि गर्छ । मन्त्रिपरिषद्को बैठक बस्ने दिन सोमबार बिहान नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले कुलमानको पुनर्नियुक्ति हुनेमा आफू विश्वस्त रहेको भन्दै ट्विट गरेका थिए।

साँझपख प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले घिसिङकै विषयमा प्रवक्ता श्रेष्ठलाई कटाक्ष गर्दै फेसबुकमा लामो स्टाटस लेखे।

नेकपाभित्र घिसिङलाई तत्कालीन माओवादी केन्द्र समूहनिकट मानिन्छ । उनलाई विद्युत् प्राधिकरणको नेतृत्वमा सोही पार्टीको प्रतिनिधित्व गर्ने तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माले ल्याएका थिए। कतिपयले घिसिङलाई नेकपा अध्यक्ष पुष्पकमल दाहालनिकट पनि मान्ने गरेका छन्।

घिसिङ नेतृत्वमा आएपछि दैनिक १४ घन्टा लामो लोडसेडिङबाट जनताले मुक्ति पाए । यसैकारण उनको चौतर्फी प्रशंसा हुने गरेको छ । उनको चुलिएको प्रशंसाले सरकारलाई नै अप्ठ्यारोमा पारेको प्रधानमन्त्रीनिकटहरूको बुझाइ छ।

कार्यकाल सकिने समयमा उनलाई पुनर्नियुक्ति दिन माग गर्दै सडकमा प्रदर्शनसमेत हुन थालेका छन् । ‘सरकारी स्रोतसाधन प्रयोग गरेर आफू हिरो हुने तर त्यसको जस सरकारले नपाउने स्थिति आयो,’ नेकपाका एक नेताले भने, ‘यसैले उहाँबारे पार्टीभित्रै असन्तुष्टि देखिन्छ।’

नेकपाभित्र पूर्वएमाले समूह घिसिङसँग असन्तुष्ट हुनुको कारण खोज्ने हो भने राधा ज्ञवाली ऊर्जामन्त्री भएको समयसम्म फर्किनुपर्छ । घिसिङले रसुवाको चिलिमे हाइड्रो पावरको प्रबन्ध निर्देशक भएर लामो समय काम गरे । चिलिमेको आम्दानीबाट अन्य आयोजना पनि सुरु गरियो।

तर त्यति नै बेला उनलाई तत्कालीन ऊर्जामन्त्री राधा ज्ञवालीले केन्द्रीय कार्यालयमा तानिन् । चिलिमेको सेयर उनले सर्वसाधारणका लागि समेत पहिलोपटक जारी गर्ने व्यवस्था मिलाएका थिए । सोही कारण उनी चर्चामा आए।

उनलाई चिलिमेबाट सरुवा गरेर केन्द्रीय कार्यालय ल्याई जिम्मेवारीविहीन बनाइएको थियो । करिब दुई वर्षजति उनी जिम्मेवारीविहीन नै रहे । उनलाई चिलिमेबाट सरुवा गर्दा रसुवामा उनका पक्षमा आन्दोलन नै चलेको थियो भने ज्ञवालीको तीव्र आलोचना भएको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad