छापा खबर


यी हुन् प्रधानमन्त्रीले कुनै पनि हालतमा हटाउन नचाहेका दुई मन्त्री र मन्त्री बनाउन नचाहेका दुई नेता

यी हुन् प्रधानमन्त्रीले कुनै पनि हालतमा हटाउन नचाहेका दुई मन्त्री र मन्त्री बनाउन नचाहेका दुई नेता

नेपालखबर
भदौ ३१, २०७७ बुधबार ३:१,

अन्ततः प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् हेरफेरसम्बन्धी आफ्नो बटमलाइन अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सुनाएका छन्।

उच्चस्रोतले जनाए अनुसार दुई जना व्यक्तिलाई कुनै हालतमा मन्त्रिपरिषद्मा नलैजाने र अर्का दुईलाई कुनै पनि हालतमा नहटाउने सोच ओलीमा छ। यो खबर आजको जनआस्था साप्ताहिकले छापेको छ।

यसरी प्रधानमन्त्रीले अबको क्याबिनेटमा सामेल नगरिने भनेकामध्येका एक उपाध्यक्ष वामदेव गौतम र अर्का प्रवक्ता नारायणकाजी श्रेष्ठ हुन्।

अर्कातिर नहटाइनेमध्येका भनि रामबहादुर थापा बादल र ईश्वर पोखरेलको नाम सुनाइएको छ। तर, नहटाइने भनिएका यी दुई मन्त्रीका पोर्टफोलियो के हुन्छन्, त्यो चाहिँ टुंगो लागेको छैन।

त्यस्तै मन्त्रीहरुमध्ये सातदेखि १० जनासम्मलाई बिदा गर्न प्रधानमन्त्री तयार भएका छन्। हेरफेर गर्दा तीन जना राज्यमन्त्री हटाउने र केही मन्त्रालय फुटाउने सम्भावना पनि छ।

अहिले प्रधानमन्त्रीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र जनस्रोतमन्त्री वर्षमान पुनलाई नहटाउने संकेत दिइसकेका बुझिएको छ। बाँकीको हकमा छलफलको प्रक्रियाबाट टुंगो लाग्ने घडी नजिकै छ।

नेकपाभित्र चलेको चर्चाअनुसार स्थायी कमिटी सदस्यमध्ये प्रतिनिधिसभामा निर्वाचितमध्येबाट अब मन्त्री बन्न बाँकी देवेन्द्र पौडेल सुनिल मात्रै हुन्। बाबुरामको नयाँ शक्तिबाट विद्रोह गरेर नेकपामा फर्किएका उनी शायद अब मन्त्री बन्दै छन्।

यस्तै पम्फा भुसालको पनि सम्भावना छ। एमसिसीको विरोधी र कडिकडाउ बोल्ने स्वभाव तथा उपप्रधानमन्त्री रहिसकेको मर्यादाक्रमको कारण भीम रावलको सम्भावना छैन।

प्रदीप ज्ञवाली अर्थमा जान इच्छुक रहेको बताइन्छ। यदि, नारायणकाजी मन्त्री बनेमा गिरिराजमणि पोखरेलले शिक्षामन्त्रीबाट बहिर्गमित हुनुपर्नेछ।

शुरुमा मन्त्री बनेका सबैलाई हटाइने मापदण्ड बन्यो भने घनश्याम भुसाल, योगेश भट्टराई, पार्वत गुरुङ र शिवमाया तुम्बाहाम्फेबाहेक सबैजना बिदा हुनुपर्ने हुन्छ।

तर, प्रधानमन्त्री स्वयंले बादल र ईश्वरको हकमा अडान लिएरै त्यो सम्भावनालाई धमिलो बनाइसकेका छन्। मन्त्रिमण्डल ढिलोमा असोज दोस्रो सातासम्म पुनर्गठन भैसक्छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad