छापा खबर


‘पञ्चहरु’ बलात्कारीकै पक्षमा, न्याय नपाएपछि १७ वर्षीया किशोरीले त्यागिन् प्राण

‘पञ्चहरु’ बलात्कारीकै पक्षमा, न्याय नपाएपछि १७ वर्षीया किशोरीले त्यागिन् प्राण

नेपालखबर
भदौ ३१, २०७७ बुधबार ३:३४,

आफू सामूहिक बलात्कारमा परे पनि गाउँको ‘पञ्चेती’ले उजुरी दिन रोकेपछि पीडित १७ वर्षीया नन्की भनिने संगीता मण्डलले मंगलबार आत्महत्या गरेकी छन्।

सप्तरीको डाकनेश्वरी नगरपालिका–७ ललितपुरकी संगीताको मृत्युलगत्तै चार आरोपित फरार भएका छन्। आरोपितमा ३० वर्षीय धर्म मण्डल, ३५ वर्षीय विष्णु मण्डल, १८ वर्षीय रञ्जित मण्डल र १९ वर्षीय बब्लु मण्डल छन्। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा सप्तरीबाट मनोहर पोखरेलले लेखेका छन्।

पीडितलाई प्रहरी कार्यालय जान रोक लगाएको आरोपमा चार पञ्चलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्थानीय जयकान्त मण्डल, वासुदेव मण्डल, सत्यनारायण मण्डल छन्।

उनीहरूले पीडित संगीता र उनकी आमालाई प्रहरी कार्यालय जान रोक लगाउँदै आरोपितहरूबाट ५५ हजार रुपैयाँ क्षतिपूर्ति भराउने ‘फैसला’ सुनाएका थिए। उक्त निर्णयप्रति असन्तुष्ट पीडितले पीडा सहन नसकी आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

किशोरीकी आमाका अनुसार घटना सोमबार बिहानको हो। किशोरी हिलो लागेको रगतपच्छे अवस्थामा रुँदै घर आइन्। हातका चुरा फुटेका थिए। कपाल पूरै फुकेको थियो। धेरै बेरसम्म एकनास रोइरहिन्। चार जनाबाट आफू बलात्कृत भएको सुनाएर केहीबेर बेहोस भएको पीडितकी आमाले बताइन्।

चार जनाले पछाडिबाट झ्याप्पझुप्प समातेर खेतमै लडाए। वरपर अरू कोही थिएनन्। लुगा फुकाल्न थालेपछि जोरजोरले चिच्याउन खोजे पनि उनको केही सीप लागेन। उनको मुख बन्द गरिएको थियो। आवाज नै बाहिर गएन। बलात्कारीहरू जबरजस्ती गरेर फर्किए। पीडित किशोरी एकछिन बेहोस भइन्। उठ्नै सकिनन्।

जसोतसो घर फर्किएकी उनले आफ्नो पीडामा गाउँलेको सहयोग पाउने अपेक्षा गरेकी थिइन्। तर, त्यसो भएन। आमाले घटनाबारे जानकारी दिँदै न्यायको भिख माग्दै आफ्नै गाउँ र समुदायका मुख्य व्यक्तिहरूलाई बोलाइन्। भेला भएका १०–१२ जना पञ्चले आरोपितहरूबाट क्षतिपूर्ति भराई दिनुपर्ने र पीडितले कतै उजुरी गर्न नपाउने ‘फैसला’ सुनायो। आमाछोरी दुवैले त्यसको विरोध गरे।

पञ्चले एक जनाको इज्जत ठूलो कि सिंगो गाउँको भन्दै धम्क्याए। प्रहरीमा उजुरी गरे साक्षी प्रमाण जुटाउन नसक्ने भएकाले चुपचाप रहन उनीहरूले चेतावनी दिएको छिमेकी बताउँछन्। बलात्कारको उजुरी गरे किशोरीकै बदनाम हुने, त्यसले बिहे पनि नहुने, आरोपितबाट पाउने क्षतिपूर्ति पनि छुट्ने भन्दै घटना बिर्सिन गाउँका ‘जान्ने–बुझ्ने’ले भनेपछि किशोरी तनावमा परेको छिमेकी पाचीलाल मण्डलले बताए।

‘जबरजस्ती गरेर दबाउन खोज्नेले भोलि अरूलाई पनि यस्तै नगर्लान् र ?, पीडितकी आमाले भनिन्, ‘यस्तो अवस्थामा पुर्‍याउनेहरूलाई कडा दण्ड सजाय होस् भन्ने चाहना छ। तर, म एक्लै के गरुँ? के गर्नेुपर्ने हो? त्यो पनि थाहा छैन।’

गाउँलेबाट त्यस्तो होला भन्ने कल्पनासमेत नगरेको उनले बताइन्। किशोरीकी बुवा उमा मण्डलको चार वर्षअघि मृत्यु भएको थियो। दिदीको विवाह भइसकेको छ। त्यसैले उनी घर र खेतीको काममा एक वर्ष जेठा दाजुसँगै खटिन्।

सोमबार बिहान पनि धानखेतमा पानी धेरै लागेको भएर त्यसलाई आली काटेर बगाउन उनी खेतमै गएकी थिइन्। आफ्नो खेत नभएकाले अरूको जग्गा किशोरीको परिवारले बटियामा लिएर उब्जनी बाँडफाँट गर्ने गरेको थियो।

जिल्ला प्रहरीका इन्स्पेक्टर सन्तोष खड्काले घटनास्थलमा पीडितले जोगिन संघर्ष गर्दा धान मडारिएको, चुराहरू फुटेको पाइएको बताए। पीडित किशोरीको शव मंगलबार साँझ राजविराज ल्याइएको छ।

बुधबार पोस्टमार्टम गर्न धरान लगिने इन्स्पेक्टर खड्काले बताए। जिल्ला प्रहरीबाट खड्का नेतृत्वको टोली अनुसन्धान गर्न घटनास्थल पुगेको थियो। अन्य तीन टोली पनि घटनास्थलमा खटिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad