छापा खबर


बिएन्डसीलाई सम्बन्धन दिन बिपीलाई विश्वविद्यालय बनाउने तयारी

बिएन्डसीलाई सम्बन्धन दिन बिपीलाई विश्वविद्यालय बनाउने तयारी

नेपालखबर
साउन ३२, २०७७ आइतबार ३:१५,

झापास्थित बिएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विश्वविद्यालयमा रूपान्तरण गर्ने प्रक्रिया अघि बढाइएको छ।

स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा एकरूपता ल्याई व्यवस्थित गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्र श्रेष्ठको संयोजकत्वमा गठित एकीकृत छाता ऐन मस्यौदा तर्जुमा समितिले प्रतिवेदन नदिँदै प्रतिष्ठानका सहकुलपति तथा मन्त्री भानुभक्त ढकालको अध्यक्षतामा बसेको सिनेट बैठकले प्रतिष्ठानलाई विश्वविद्यालयमा रूपान्तरण गर्ने प्रस्ताव पास गरेको छ।

यो खबर आजको नागरिक दैनिकमा सुनिल सापकोटाले लेखेका छन्।

आर्थिक वर्ष २०७७र७८ को बजेट तथा कार्यक्रममा स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा एकरूपता ल्याई व्यवस्थित गर्न क्षेत्रगत एकीकृत छाता ऐन तर्जुमा गर्ने रहेको र सोहीबमोजिम मन्त्रालयले असार १२ गते मन्त्रीस्तरीय निर्णय गर्र्दै डा. श्रेष्ठको संयोजकत्वमा ऐनको मस्यौदा तर्जुमा समिति गठन गरेको थियो।

तर मन्त्री ढकालले आफ्नै निर्णय लत्याउँदै बिएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने उद्देश्यले हतारमा प्रतिष्ठानको सिनेट राखेर उपकुलपति ज्ञानेन्द्र गिरीको संयोजकत्वमा नौ सदस्यीय अर्को कार्यदल गठन गरेको स्वास्थ्य मन्त्रालयका उच्च अधिकारी बताउँछन्।

छाता ऐन आएपछि त्यसैअनुसार व्यवस्थित ढंगले अघि बढ्नुपर्नेमा मन्त्री ढकाल, उपकुलपति गिरीलगायतले कोरोना महामारीको मौका छोप्दै काठमाडौं बूढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा शुक्रबार प्रतिष्ठानको ४४औं सिनेट बैठक राखेर बिएन्डसी कलेजलाई सम्बन्धन दिन प्रतिष्ठानलाई विश्वविद्यालयमा परिणत गर्ने निर्णय गराएका हुन्।

कार्यकारिणी समितिले बिपी कोइराला स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्भाव्यता अध्ययन कार्यदल बनाउन सिनेटमा प्रस्ताव लगेको थियो।

निजी मेडिकल कलेजको स्वार्थमा सिनेटले सो प्रस्ताव अनुमोदन गरेको एक सदस्यले बताए। २५ सदस्यीय सिनेटमा अर्थसचिव, स्वास्थ्यसचिव अनुपस्थित थिए भने १० जनाले महामारीबीच सिनेट राखिएकोमा असन्तुष्टि जनाउँदै बहिष्कार गरेको स्रोतको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad