छापा खबर


ओलीको प्रस्ट अडान : जस्तोसुकै स्थिति पनि सामना गर्छु, तर दुवै पद छाड्दिनँ

ओलीको प्रस्ट अडान : जस्तोसुकै स्थिति पनि सामना गर्छु, तर दुवै पद छाड्दिनँ

नेपालखबर
साउन २, २०७७ शुक्रबार १:२२,

सहमति गर्ने दुई सातादेखिको प्रयास असफल भएपछि नेकपाको आन्तरिक विवाद फेरि स्थायी कमिटीमै फर्किने भएको छ । स्थायी कमिटीबाट केन्द्रीय कमिटी बैठक बोलाउने तयारी भएको छ।

१७ असारयता चारपटकसम्म स्थगित स्थायी कमिटी बैठक शुक्रबार बालुवाटारमा बोलाइएको छ। स्थायी कमिटी बैठकमा पेस भएका एजेन्डा र पार्टी विवादमाथि छलफलका लागि भदौ पहिलो साता केन्द्रीय कमिटी बैठक बोलाउने तयारी छ ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहीबार भएको अध्यक्ष ओली, पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालसहितको छलफल निष्कर्षविहीन भएपछि विवाद स्थायी कमिटीमै फर्किने निश्चित भएको हो । सहमतिको कुनै नयाँ निकास नआए पनि बैठक नरोक्ने विषयमा ओली, प्रचण्ड र नेपालबीच सहमति जुटेको थियो ।

स्थायी कमिटी बैठक रोकेर केन्द्रीय कमिटी बैठक बोलाउने र त्यसबीचमा सहमतिको प्रयास गर्ने नेताहरूको तयारी छ । यो खबर आजको नयाँ पत्रिका दैनिकमा शुरोजंग पाण्डेले लेखेका छन्।

अहिलेकै स्थायी कमिटी बैठकबाट केन्द्रीय कमिटी बैठक बोलाउन प्रधानमन्त्री ओली पनि सकारात्मक बनेपछि पार्टी विभाजन हुन नदिन केही समय लिएर स्वेच्छाले ओलीलाई दुईमध्ये एक पद रोज्नका लागि संवाद जारी राख्ने निष्कर्षमा प्रचण्ड–नेपाल समूह पुगेको छ ।

बिहीबारको बालुवाटार छलफलमा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालले एकै स्वरमा पार्टी र सरकार दुवैतिरको नेतृत्वमा असफल भइसकेका कारण सहमतिका लागि प्रधानमन्त्रीबाट राजीनामा दिएर निकास दिन पुरानै प्रस्ताव दोहो¥याएका थिए भने ओलीले पनि दुवै पद नछाड्ने विगतकै अडान राखेका थिए ।

‘तपाईंबाट देश र पार्टी चलेन, दुवैतिरको नेतृत्व गर्न असफल हुनुभो, अब तपाईंबाट देश र पार्टी दुवै चल्दैन, त्यसैले लामो समय पार्टी र देश दुवैलाई बन्धक नबनाउनुस्, कमसेकम प्रधानमन्त्री पदबाट राजीनामा दिएर निकास दिनुस्,’ प्रचण्ड–नेपालको संयुक्त प्रस्ताव उद्धृत गर्दै एक शीर्ष नेताले भने । पछिल्ला मुद्दामा एउटै गठबन्धनमा रहेका प्रचण्ड–नेपाल ओलीसँगको वार्ताअघि आवश्यक गृहकार्य गरेर बालुवाटार पुगेका थिए ।

ओलीले पनि देशमा संकट निम्त्याउन राजीनामा मागिएको भन्दै अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा नदिने अडान राखेका थिए । ‘तपाइँहरु देशमा संकट निम्त्याउन खोजिरहनुभएको छ, गठबन्धन गरेर आउनुहुन्छ, म दुवै पदबाट राजीनामा दिन्नँ,’ प्रधानमन्त्रीको जवाफ उद्धृत गर्दै बालुवाटार स्रोतले भन्यो, ‘जे गर्नुपर्ने हो गरे हुन्छ।’

ओलीले आफू जुनसुकै परिस्थिति सामना गर्न तयार रहेको जवाफ फर्काएपछि शुक्रबार डाकिएको स्थायी कमिटी बैठक नरोक्ने समझदारीसहित छलफल टुंगिएको थियो ।

त्यसलगत्तै वरिष्ठ नेता नेपाल बालुवाटारबाट बाहिरिएका थिए भने ओली र प्रचण्डबीच केहीबेर बेग्लै छलफल भएको थियो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad