समाज


चार हजार जनाको नतिजाले काठमाडौंमा समुदायमा काेराेना फैलिएको छैन भन्ने देखाउँछ : विज्ञ

चार हजार जनाको नतिजाले काठमाडौंमा समुदायमा काेराेना फैलिएको छैन भन्ने देखाउँछ : विज्ञ

नेपालखबर
साउन २, २०७७ शुक्रबार १:२६,

काठमाडौं उपत्यकाका चार हजार जनाको नमुना (स्वाब) परीक्षण गर्दा तीन जनामा मात्र कोरोना संक्रमण देखिएको छ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेका अनुसार काठमाडौं उपत्यकाका भिडभाड हुने ठाउँका अग्रपंक्तिमा काम गर्ने ४ हजार २ सय जनाको नमुना परीक्षण गर्दा तीन जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको हो।

ती तीन जनामध्ये पनि दुई जना बाहिर मुलुकबाट आएका व्यक्ति हुन्। पाँच हजारमा गरिएको नमुना परीक्षणमध्ये ८०० जनाको नतिजा आउन बाँकी छ।

केही दिनयता बाहिर जिल्लामा संक्रमण दर घटे पनि उपत्यकामा संक्रमित बढेपछि महाशाखाले उपत्यकाका भिडभाड हुने ठाउँका मानिसको स्वास्थ्य परीक्षण गरेको हो।

‘हामीले उपत्यकामा समुदायस्तरमै संक्रमण छ वा छैन भनेर ५ हजार व्यक्तिमा परीक्षण गरेका थियौं,’ उनले भने, ‘तर ४ हजारको नतिजा आउँदा ३ जनामा मात्र संक्रमण देखियो। यसले उपत्यकाको समुदायमा संक्रमण छैन भन्ने देखाउँछ।’

उनले अहिलेको नतिजाले उपत्यकाको समुदायमा संक्रमण नआउने भन्न नमिल्ने भन्दै सचेत रहन सबैमा आग्रह गरे।

गत बिहीबारदेखि महाशाखाले उपत्यकाका बैंक, यातायात कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय, अस्पतलामा अग्रपंक्तिमा रहेर काम गर्ने व्यक्तिको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको थियो।

महाशाखाले उपत्यकाका तीनै जिल्लाका ती ठाउँमा गएर एउटा कार्यालयका ६० देखि ७० जनासम्मको नमुना संकलन गरेको थियो।

अस्पतालमा सघन उपचार कक्षका बिरामी, अर्बुदरोग र मिर्गौलाका डायलासिस गराइरहेका बिरामी तथा उनीहरूको उपचारमा संलग्न स्वास्थ्यकर्मीको परीक्षण गरिएको थियो।

अहिलेसम्म उपत्यकामा ३ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हिजो मात्र काठमाडौं जिल्लामा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

यसैगरी कोरोना भाइरस संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)ले बाहिरी मुलुकबाट आउने सम्भावित ४४ हजार व्यक्तिको नमुना संकलन गरी परीक्षण गरिरहेको छ।

सीसीएमसीले स्थलमार्गबाट आउनेलाई सोही नाका र हवाइमार्गबाट आउनेलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा परीक्षण गरिरहेको छ।

नेपालमा अहिलेसम्म ३ लाख ३ हजार ८ सय १० को पीसीआर परीक्षण गर्दा १७ हजार ३४४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

तीमध्ये ११ हजार २४९ जना संक्रमण मुक्त भई घर फर्किसकेका छन्। नेपालमा हालसम्म कोरोना संक्रमणबाट ३९ जनाको मृत्यु भइसकेको छ।रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad