छापा खबर


बलात्कार मुद्दामा बयान फेर्ने युवतीलाई एक महिना कैद र ६३ हजार जरिवाना

बलात्कार मुद्दामा बयान फेर्ने युवतीलाई एक महिना कैद र ६३ हजार जरिवाना

नेपालखबर
असार १९, २०७७ शुक्रबार ०:२५,

बलात्कार मुद्दामा पीडित भनिएकी युवतीले बयान फेरेकै आधारमा चितवन जिल्ला अदालतले एक महिना कैद र ६३ हजार रुपैयाँ प्रतिवादी युवकलाई क्षतिपूर्तिबापत दिनुपर्ने फैसला सुनाएको छ।

जिल्ला न्यायाधीश हेमन्त रावलको एकल इजलासले पीडित भनिएकी युवतीले सुरुमा आफू बलात्कृत भएको भनेको र पछि बयान फेरेकै आधारमा कैद र जरिमाना हुने फैसला गरेको खबर आजको राजधानी दैनिकमा निराजन पौडेलले लेखेका छन्।

१२ कक्षामा अध्ययनरत युवतीले अदालतमा बयान दिने क्रममा जबर्जस्ती करणीको उद्योग नगरेको र घटनास्थल भनिएको होटेलमा आफूहरू नगएको भनी जाहेरी बेहोरा प्रतिकूल हुने गरी अदालतमा बकपत्र गरेकी थिइन्।

सुरुमा युवतीले आफूलाई प्रतिवादी युवकले बलात्कार गरेको भनी किटानी जाहेरी दिएकी थिइन् । युवतीको किटानी जाहेरीकै आधारमा प्रहरीले विवेक पंगेनीलाई पक्राउ गरेर जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता गरेको थियो।

प्रहरीमा बलात्कार भएको भनी दिएको बयान अदालतमा पुगेपछि होइन भनी बयान दिएपछि अदालतले बयान फेरेकै आधारमा उनलाई कैद सजाय सुनाएको हो।

आरोपित युवकले आफूहरू होटेलमा बसेको तर करणीको प्रयास नगरेको बयान दिएका थिए।

अदालतको फैसलासँगै अब ती युवतीले एक महिना कैद र प्रतिवादीलाई ६३ हजार क्षतिपूर्तिबापत तिर्नुपर्नेछ। प्रतिवादी युवक सात महिनादेखि अदालतको आदेशपछि जेलमा बसेको र प्रतिदिन ३ सय रुपैयाँको दरले हुन आउने बराबरको रकम उनलाई क्षतिपूर्ति भराउन अदालतले फैसला जारी गरेको छ।

चितवनको रत्ननगर नगरपालिका–६ स्थित सौराहको नमुना भिलेज रिसोर्टको कोठामा गत २७ कात्तिकमा बलात्कार गरेको भन्दै युवतीले गत १ मंसिरमा जाहेरी दिएकी थिइन् । जाहेरीका आधारमा पक्राउ परेका स्थानीय विवेक पंगेनी चितवन जिल्ला अदालतको आदेशपछि पुर्पक्षका लागि थुनामा थिए । अदालतको फैसला चित्त नबुझे ३५ दिनभित्र पुनरावेदन गर्न पाउनेसमेत न्यायाधीश रावलले गरेको फैसलामा उल्लेख छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad