दुई दिन केही कम भएको वर्षाको मात्रा आज (शुक्रबार) बाट फेरि बढ्ने सम्भावना देखिएको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार आजदेखि मनसुन सक्रिय भएका कारण कम्तीमा तीन दिन देशभर वर्षाको मात्रा बढ्ने सम्भावना देखिएको हो।
माैसमविद्का अनुसार बुधबार र बिहीबार मनसुन सामान्य अवस्थामा रहेका कारण यी दुई दिन तुलनात्मक रूपमा वर्षा केही कम भइरहेकाे थियाे। तर आजबाट मनसुन पुनः ‘एक्टिभ’ भएका कारण वर्षाको मात्रा बढ्ने भएको हो।
‘हामी सामान्यतया ७२ घण्टा (तीन दिन) को मौसम अनुमान गर्छाैं,’ मौसमविद् मानन्धरले शुक्रबार बिहान नेपालखबरसँग भनिन्, ‘यस अवधिभर वर्षा अलि बढी हुने सम्भावना देखिएको छ।’
मैसम पूर्वानुमान महाशाखाले शुक्रबार बिहान जारी गरेको मौसम बुलेटिनअुनसार आज, भोलि र पर्सिसम्मै देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म तथा कही स्थानमा भारी (ठूलो) वर्षा हुने सम्भावना छ।
यस क्रममा आज दिउँसो सबै प्रदेशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। प्रदेश १, बागमती, गण्डकी, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा ठूलो वर्षा हुने सम्भावना छ।
यसैगरी राति पनि देशका धेरै स्थान वर्षा हुनेछ भने प्रदेश १, २, बागमती, गण्डकी, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।

Shares

प्रतिक्रिया