छापा खबर


स्वास्थ्यमन्त्रीको बोली एउटा, वास्तविकता अर्कै

स्वास्थ्यमन्त्रीको बोली एउटा, वास्तविकता अर्कै

नेपालखबर
असार १५, २०७७ सोमबार ०:४५,

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले १५ असारदेखि दैनिक १० हजार जनाको कोरोना परीक्षण गरिने बताए पनि पछिल्लो एक सातामा परीक्षण दर भने खुम्चिँदै गएको छ।

पछिल्लो एक सातामा औसत दैनिक पाँच हजार आठ सय नौ जनाको मात्रै कोरोना परीक्षण हुँदै आएको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री ढकालले गत २६ जेठमा बसेको संसद् बैठकमा १५ असारदेखि दैनिक १० हजार जनाको कोरोना परीक्षण गरिने जानकारी दिएका थिए।

निजी प्रयोगशालाले तीन हजार र बाँकी सरकारी ल्याबबाट गरी प्रतिदिन १० हजारको पिसिआर विधिमा परीक्षण गर्ने स्वास्थ्य मन्त्रालयको तयारी थियो । जनशक्ति व्यवस्थापन, ल्याबलाई २४ घण्टा सञ्चालन गर्ने र निजी क्षेत्रबाट परीक्षण गर्ने गरी तयारी अगाडि बढाइएको स्वास्थ्यमन्त्री ढकालले बताएका थिए।

प्रतिप्रदेशबाट एक हजारका दरले र निजी क्षेत्रबाट तीन हजारका दरले प्रतिदिन परीक्षण हुने बताए पनि कार्यान्वयन भएन। यो खबर आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन्।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दीपेन्द्ररमण सिंहले आज (सोमबार)देखि दैनिक १० हजारको हाराहारीमा कोरोना परीक्षण गर्ने गरी तयारी भएको बताए । उनले भने, ‘दैनिक आठ हजार जनाको कोरोना परीक्षण गर्ने गरी क्षमता अभिवृद्धि भएको छ।’

पछिल्लो एक सातामा ४० हजार ६ सय ६६ जनाको आरटी–पिसिआर प्रविधिबाट कोरोना परीक्षण हुँदै आएको छ । गत सोमबार ६ हजार एक सय ९८, मंगलबार चार हजार नौ सय ९५ र बुधबार ६ हजार आठ सय २८ जनाको कोरोना परीक्षण गरिएको थियो।

यस्तै, गत बिहीबार ६ हजार पाँच सय ४३, शुक्रबार ६ हजार पाँच सय ३४, शनिवार चार हजार ६ सय ६ र आइतबार चार हजार ९ सय ६२ जनाको कोरोना परीक्षण भएको थियो।

किन खुम्चियो पिसिआर परीक्षणको दायरा?

देशभर रहेका प्रयोगशालामा निकै न्यून मात्रामा नमुनाहरू आएका कारण परीक्षणको दायरा कम हुँदै गएको पाइएको छ । सरकारले ‘नेसनल टेस्टिङ गाइडलाइन कोभिड १९’ मापदण्ड बनाएर परीक्षणको दायरालाई खुम्चाउँदै गएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण भई अस्पताल भर्ना भएका संक्रमितलाई परीक्षण नगरी डिस्चार्ज गर्न देशभरका सबै कोभिड–१९ अस्पताललाई गत २४ जेठमा निर्देशन दिएको थियो।

लक्षण भएका संक्रमितलाई लक्षण देखिन छोडेको तीन तीन दिनभित्र र लक्षण नभएकालाई भर्ना भएको १४ दिनभित्र परीक्षण नगरी डिस्चार्ज गर्न मन्त्रालयले निर्देशन दिँदै पत्राचार गरेको हो । यो गाइडलाइनले पनि परीक्षणको दायरा खुम्चिएको विज्ञहरू बताउँछन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले प्रयोगशालामा नमुना होल्ड नभएको बताए । उनले भने, ‘आएका सबै नमुनाको परीक्षण गरिरहेका छौं । हामीसँग नमुना मौज्दात छैन । प्रयोगशालमा न्यून मात्रामा नमुना आएका छन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad