छापा खबर


मृतकमा भाइरस देखिएपनि अब अन्य समस्याले मृत्यु भएकालाई कोरोनामा गणना नहुने

मृतकमा भाइरस देखिएपनि अब अन्य समस्याले मृत्यु भएकालाई कोरोनामा गणना नहुने

नेपालखबर
जेठ २३, २०७७ शुक्रबार ३:५३,

कोरोना भाइरसको संक्रमणबाट बिहीबारसम्म नेपालमा मृत्यु हुनेको संख्या १० पुगेको छ। अब भने मृत्यु भएको व्यक्तिमा कोरोनाको जीवाणु फेला परे पनि त्यसको कारण यकिन गरिने भएको छ।

स्वास्थ्यमा अन्य कुनै समस्या नभएको र मृत्यु हुँदा कोरोना पुष्टि भए मात्रै कोरोनाको कारणले मृत्यु भएको उल्लेख गरिने भएको खबर आजको नयाँ पत्रिका दैनिकमा अर्जुन अधिकारीले लेखेका छन्।

अहिलेसम्म संक्रमण देखिएका सबैजसो व्यक्तिमा कोरोनाका लक्षण देखिएका छैनन् । लक्षणविना नै संक्रमितको कोरोनाकै कारण मृत्यु हुन नसक्ने भन्दै आवाज उठ्न थालेपछि सरकारले मृत्युको कारण यकिन गरेर मात्रै सार्वजनिक गर्ने भएको हो।

अहिलेसम्म कोरोनाबाट मृत्यु भएका व्यक्तिहरूमा अन्य गम्भीर स्वास्थ्य समस्या रहेको अस्पतालको नियमित रिपोर्टमा उल्लेख भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तर, मन्त्रालयले मृत्युको कारण यकिन गर्नुको सट्टा कोरोनाले नै भएको बताउँदै आएको थियो।

अब त्यसको यकिन गर्न ‘शव व्यवस्थापनसम्बन्धी संक्षिप्त कार्यविधि २०७६’लाई संशोधन गरेको छ । संशोधित कार्यविधिमा मृतक व्यक्तिमा कोरोनाको जीवाणु फेला परे पनि अन्य रोगका कारण संक्रमितको मृत्यु भएको स्पष्ट भएमा त्यसलाई कोरोना भाइरसबाट मृत्यु भएको मान्न नमिल्ने व्यवस्था गरिएको छ।

कोरोनाबाट मृत्यु भन्नाले कुनै अन्य स्पष्ट र कोरोनासँग सम्बन्धित नहुने (जस्तैः गम्भीर चोटपटक) र क्लिनिकल चिह्न, लक्षणहरू र निदानका आधारमा सम्भावित वा पुष्टि भएका केसहरूलाई बुझ्नुपर्ने उल्लेख गरेको छ । त्यस्तै, कोरोना संक्रमण भएदेखि मृत्यु हुँदासम्मको अवधिमा पूर्णतः निको नभएको हुनुपर्ने उल्लेख गरिएको छ।

चिकित्सकहरूका अनुसार बाजुराकी बालिका झाडापखाला, सिन्धुपाल्चोककी महिला सुत्केरीसँग सम्बन्धित समस्या, टिचिङमा बुधबार मृत्यु भएका व्यक्ति ब्रेनह्यामरेजका कारण मृत्यु भएको थियो । तर, उनीहरूमा संक्रमण देखिएपछि सरकारले कोरोनाबाटै मृत्यु भएको स्पष्ट पारेको थियो । आगामी दिनमा यस्ता केसहरूको थप अध्ययनपछि मात्रै मृत्युको कारण उल्लेख गरिने भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad