ad ad

छापा खबर


बन्दाबन्दीकै बीच कर्णाली करिडोरको काम पुनः सुरु

बन्दाबन्दीकै बीच कर्णाली करिडोरको काम पुनः सुरु

नेपालखबर
बैशाख १६, २०७७ मंगलबार १:६,

कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमणको त्रासले बन्दाबन्दीसँगै रोकिएको कर्णाली करिडोरको निर्माण कार्य पुनः सुरु भएको छ।

राष्ट्रिय गौरवको आयोजनासमेत रहेको कर्णाली करिडोरको काम निर्धारित समयमा सम्पन्न गर्न निर्माण कार्य अगाडि बढाएको खबर आजको गोरखापत्र दैनिकमा सिमकोटबाट राजन रावलले लेखेका छन्।

‘कोरोना त्रासका कारण बन्दाबन्दी हुँदा करिब एक महिना अघिदेखि बन्द रहेको करिडोरको काम पुनः सुरु भएको छ’, कर्णाली करिडोर सडक निर्माण कार्य दलका आयोजना प्रमुख इन्जिनियर एवं सेनानी मिलन कार्कीले भने।

रोकिएको काम सुचारु भएको भन्दै ताँजाकोट गाउँपालिकाका अध्यक्ष बाग्दल मल्लले खुसी व्यक्त गरे। ‘‘अब करिडोरको कवाडीदेखि सलिसल्ला खण्डको काम निर्धारित मितिमा सम्पन्न हुने आशा पलायो’, उनले खुसी हुुँदै भने।

नेपाली सेनाले काम अगाडि बढाउन कामदार पठाउन गाउँपालिकासँग सहयोग मागेको र त्यही अनुसार गाउँपालिकाले कामदार पठाएको उनले बताए।

सेनाको जङ्गी अड्डाको निर्देशन अनुसार बन्दाबन्दी अघि काम गर्ने कामदारलाई परिचालन गरेर काम सुचारु गर्नुपर्ने निर्देशन अनुसार कार्य भएको कार्कीको भनाइ छ। निर्माण कार्यमा नयाँ कामदार परिचालन गर्न भने पाइने छैन।

सेनानी कार्कीका अनुसार अहिले सय जना कामदार कार्य स्थलमा खटिएको, कोही गाउँबाट आउँदै गरेको र कोही कामदार बाटोमा रहेका छन् । यसअघि त्यस खण्डमा तीन सयभन्दा बढी नेपाली सेना र अन्य कामदारले काम गर्दै आएका थिए।

करिडोरको खुलालु, लैफु कवाडी हुँदै सलिसल्लासम्म १२३ किलोमिटर सडक निर्माणको जिम्मा नेपाली सेनाको निर्माण दललाई भएकोमा बन्दाबन्दी अघिसम्म ११५ किलोमिटर सडकको ट्र्याक खोल्ने कार्य सम्पन्न गरेर अधिकांश क्षेत्रमा गाडी गुडिरहेको छ।

प्रमुख कार्कीले अब करिडोरको बाँकी खण्डमा सेनाले काम सुरु गरिरहेको बताए। निकै असजिलो क्षेत्र बालुकुनादेखि सलिसल्ला खण्डको अधिकांश भागमा अहिले धमाधम काम भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .