ad ad

छापा खबर


राजधानीका केही सामुदायिक विद्यालमा अनलाइनबाट पठनपाठन

राजधानीका केही सामुदायिक विद्यालमा अनलाइनबाट पठनपाठन

नेपालखबर
बैशाख १०, २०७७ बुधबार ३:५,

सर्वसाधारण विद्यार्थी अध्ययन गर्ने भनेर परिचय बनाएका सामुदायिक विद्यालय पनि अनलाइन प्रविधिबाट पठनपाठन अगाडि बढाउन सक्षम रहेको पाइएको छ।

सरकारले कोरोना भाइरस औकोभिड-१९) को सङ्क्रमणका कारण विद्यार्थीलाई अनलाइनबाट अध्यापन गराउन विद्यालयमा यसको पहुँचबारे भर्खरै तथ्याङ्क लिन प्रारम्भ गरेको बेला सामुदायिक विद्यालयले भने अनलाइन प्रविधिबाट पढाउन नै सुरु गरेका खबर आजको गोरखापत्र दैनिकमा शेषकान्त पण्डितले लेखेका छन्।

ललितपुरको आदर्श सौल युवक माविले केही दिनेदेखि विद्यार्थीलाई अनलाइन प्रविधिको माध्यमबाट पठनपाठन गराउन थालेको छ।

विद्यालयका प्रधानाध्यापक सरोजभक्त आचार्यले एसईई दिने १६२ जना विद्यार्थीलाई चारवटा समूह बनाएर ग्रुप च्याट (समूह कुराकानी)बाट अध्यापन गराउने कार्य भइरहेको जानकारी दिए।

विद्यार्थीलाई समूहमा नै प्रश्न पठाइदिएर गणित, अङ्ग्रेजी लगायतका विषयको अध्यापन गराएको जनाइएको छ । विद्यार्थीले समूहमै नजानेको कुरा सोध्ने र समूहमै छलफल गरेर अध्ययन गराउने गरिएको छ।

कक्षा १० का प्रायः विद्यार्थी सम्पर्कमा रहेका र सिकाइलाई प्रविधिको माध्यमबाट निरन्तरता दिइएको जनाइएको छ।

काठमाडौँको जनपथ माविले सामाजिक सञ्जालबाट एक सातादेखि विद्यार्थीलाई पढाउन थालेको छ । यस क्रममा अङ्ग्रेजी, गणित र अतिरिक्त गणित अध्यापन गराउने शिक्षकले पढाउने र गृहकार्यसमेत दिने गरेका छन्।

हाल १५ जना विद्यार्थी यो माध्यममा जोडिएका छन् । काठमाडौँमा बसेका विद्यार्थी प्रविधिसँग जोडिए पनि बाहिरका विद्यार्थीसँग सम्पर्क हुन कठिनाइ भइरहेको बताइएको छ।

डिल्लीबजारस्थित विजय स्मारक माविले प्रविधिबाट विद्यार्थीलाई पढाउन सुरु गर्दैछ । म्यासेन्जर या युट्युबबाट विद्यार्थीसँग सम्पर्क स्थापित गर्ने प्रयास गरिएको प्रअ डिल्लीप्रसाद शर्माले जानकारी दिए।

शिक्षाविद् डा. विद्यानाथ कोइरालाले सङ्कटका बेलामा पनि शिक्षक चुप लागेर बस्न नहुने भन्दै प्रविधिको प्रयोग गरेर पढाउने विकल्प अगाडि बढाउनुपर्ने बताए।

प्रविधिबाट पढाउन थाले पनि विद्यार्थीलाई अध्यापनमा रुचि जगाउन समस्या भएको प्रअहरूको भनाइ छ।

कोरोनाको त्रासका कारण विद्यार्थीले पढ्नेतर्फ राम्रो वातावरण बनाउन नसकेको जनपथ माविका प्रअ जितबहादुर लामिछानेले बताए।

पढाइमा विद्यार्थीको रुचि र लगाव देखिन केही समय लाग्ने आकलन प्रअहरूको छ । प्रअहरूले आफ्ना विद्यार्थीलाई उत्प्रेरित गरिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .