प्रकाश सपुतको ‘गलबन्दी’ गीत युट्युबमा हिट छ। यसअघि उनका ‘बोल माया’ र ‘दोहोरी ब्याटल’ले पनि करोडभन्दा माथि भ्युअर्स बटुलेको थियो।
बाग्लुङ, धम्जाका प्रकाशले बाल्यकाल र संगीतयात्रामा भोगेका विभेदका केही घटना ‘झन् नयाँ’ लाई सुनाएका छन्। उनीसँग राजु स्याङ्तानले कुराकानी गरेका थिए।
०००
टिभीमा राजेश हमालको फिल्म ‘एक नम्बरको पाखे’ आउँछ रे भन्ने हल्ला चल्यो । त्यसवेला कुनै पनि दलितको घरमा टिभी थिएन।
राति घरबाट टाढा गैरदलितको घरमा टिभी हेर्न गएँ । ढोकाको चेपबाट टिभी हेरिरहेको थिएँ। एकजनाले मलाई धकेलेर ढोकाभित्र पुर्याइदियो । घरबेटी झम्टिन आइपुग्यो।
त्यसपछि मलाई बेस्सरी गाली गर्याे। म रुँदै–रुँदै घर फर्किएँ । त्यसदिन म अबेलासम्म निदाउन सकिनँ।
धेरै रोएँ। कसैलाई केही पनि भनिनँ । १४ वर्षको उमेरमै मैले विभेद भोगेँ । समाजको पिँधमा रहेछु भन्ने त्यसवेला धेरै महसुस गरेँ । त्यो घटनापछि ६ महिनासम्म स्कुल गइनँ। कसैसँग बोल्न मन लागेन। म विचलित नै भएँ। त्यो घटनाभन्दा अगाडि जात व्यवस्थाबाट म कन्भिन्स भइरहेको थिएँ। बाहिर बसेर खानुपर्छ, भाँडा माझेर हिँड्नुपर्छ भन्नेमा अभ्यस्त भइसकेको थिएँ। तर, त्यो घटनापछि मैले जात व्यवस्थालाई राम्रैसँग बुझेँ ।
०००
हजुरबुबा लालबहादुर विश्वकर्मा आरनमा काम गर्नुहुन्थ्यो । बुबा बलबहादुर विश्वकर्मा कहिले भारत कहिले दुबई–कतार जानुभयो । आमा मीनाकुमारी विश्वकर्माले हामी चार दाजुभाइलाई हुर्काउनुभयो । हजुरबुबाले वर्षभरि आरनमा बसेर काम गर्नुहुन्थ्यो । अन्न भित्र्याउने वेला हजुरबुबा बोरा बोकेर बाली उठाउन गाउँमा जानुहुन्थ्यो, हाम्रो जीविकोपार्जनको आधार त्यही थियो । किनकि, हाम्रो बारीमा उब्जनी भएको अन्नले वर्षभरि खान पुग्दैन थियो।
हाम्रो गाउँमा सांस्कृतिक कार्यक्रम भन्नु नै भजन गाउनु हुन्थ्यो । विदेशबाट कोही लाहुरे फर्किएमा, कसैको घरमा छोरा जन्मिएमा रातभरि भजन गाइन्थ्यो । हजुरबुबा गैरदलितको बीचमा बसेर भजन गाउनुहुन्थ्यो । म पनि हजुरबुबासँगै जान्थेँ । हजुरबुबा ८० वर्षको उमेरमा बित्नुभयो । बित्नुभन्दा केही दिनअघिसम्म पनि आरनमै काम गरिरहनुभयो।
घरबाट स्कुल १ घन्टा टाढा थियो । बिहान दाउरा–घाँस काट्ने र दिउँसो स्कुल जाने गर्दै जनता प्राथमिक विद्यालयमा प्राथमिक तह पास गरेँ । एसएलसी लक्ष्मी माध्यमिक विद्यालयबाट पास गरेँ । बुबा भारतबाट नेपाल फर्केपछि साउदी जाने चक्करमा लाग्नुभयो । तर, उहाँको ४ वर्षसम्म भिसा आएन । त्यो चार वर्ष हामीले चरम अभावका दिनहरू भोग्यौँ । त्यही अवधिमा हामी गोठमा समेत बस्यौँ।
४ वर्षपछि बल्ल बुबाको भिसा आयो । बुबा साउदी जानुभयो । त्यसपछि हामीलाई अलि सहज भयो । तर, दसैँ–तिहारमा घर एकदमै शून्य लाग्थ्यो । बुबाको न्यास्रो लाग्थ्यो। म घरको जेठो छोरा भएकाले बुबा नहुँदा मैले नै जिम्मेवारी बहन गर्नुपथ्र्यो। मेरा गीत प्रायः विदेश जाने सन्दर्भसँग मिल्नु पनि बुबाकै कारणले हो ।
०००
सानोमा हजुरबुबासँग बाली उठाउन दुई–चारपटक हिँडे । त्यसवेला खान पाउने लोभ पनि हुन्थ्यो । हजुरबुबा अरूले लिएको अन्न अलग्गै थाप्नुहुन्थ्यो । खाएको भाँडा माझेर हिँड्नुपथ्र्यो । सबै सामान्य रूपमै लिइन्थ्यो । ‘म दलित समुदायको हुँ’, ‘मैले छोएको अरूले खाँदैनन्,’ ‘मैले खाएको भाँडा माझ्नुपर्छ’ भन्ने पहिला नै दिमागमा सेट भइसकेको हुँदोरहेछ । त्यसवेला विभेदका व्यवहारले दुखाएन।
गाउँमा भलिबल खेल्थेँ । एकपटक घरबाट अलि टाढा भलिबल खेल्न जाँदा रात पर्यो । त्यसदिन हामी घर फर्किन सकेनौँ । एकजना गैरदलितको घरमा खाना खान गयौँ । गैरदलित साथीहरू घरभित्र फटाफट गए । म भित्र जान सकिनँ । एक्लै बाहिर बसिरहेँ । भित्र गएका कुनै पनि साथीले मलाई सम्झिएनन् । उनीहरूले मेरो भाग पनि नराखी सबै खाना सकाएछन् । म भोकै परेँ ।
रातको ११ बजेतिर एकजना साथी बाहिर आएर सोधे, ‘तिमीले खाना खाएनौ?’ मैले ‘छैन’ भनेँ । त्यही वेला घरबेटी आइपुग्यो । म बाहिर बसेको थाहा पाएपछि घरबेटीले यो हुलमा दलित पनि आएका रहेछन् भन्ने थाहा पायो । त्यही हुलमूलमा भित्र पसेर दुईजना दलित साथीले खाना खाइसकेका थिए । त्यसपछि घरबेटीले मलाई नराम्रोसँग गाली गरे।
एसएसली पास गरेपछि प्लस टु पढ्न बाग्लुङ आएँ । पढ्दै फर्निचरमा काम गर्न थालेँ। त्यसपछि रेडियोका कार्यक्रम चलाउन थालेँ । नाटक, गीत–संगीतमा सहभागी हुन थालेँ । म बाग्लुङ बस्दाबस्दै अन्तरजातीय विवाह गर्ने एक जोडीले आत्महत्या गरे । त्यसपछि मैले छुवाछुतविरुद्ध नाटक बनाएँ । बाग्लुङ बजारमा त्यो नाटक एकदमै लोकप्रिय भयो। रेडियोमा छुवाछुतविरुद्ध कार्यक्रम पनि चलाएँ।
बाग्लुङ पढ्दापढ्दै संगीतप्रति झुकाव बढ्दै गयो । गीत गाउँदै विभिन्न मञ्चहरूमा पुग्न थालेँ । म गायक भनेर चिनिन थालिकेको थिएँ । तर, संगीत क्षेत्रमा पनि विभेद भोगेँ। कार्यक्रमहरूमा जाँदा नाम, थर ढाँट्नुपथ्र्यो । कति आयोजक आफैँले मेरो नाम र थर जुराइदिन्थे । कतिले स्टेज पछाडि भन्थे, ‘तँइले थर ढाँट्दे है।’
बाग्लुङ बजार साँघुरो लाग्न थाल्यो । मलाई अब काठमाडौं जानुपर्छ भन्ने लाग्यो । तर, कलाकार नै बन्छु भन्ने उद्देश्य थिएन । घरबाट विदेश जाऊ भन्ने दबाब आइरहेको थियो । त्यसपछि म पैसा कमाउँछु भन्दै ०६९ मा काठमाडौं छिरेँ।.........
बाँकी आज (शनिबार)को नयाँ पत्रिकाको ‘झन् नयाँ’ मा पढ्न सक्नु हुनेछ।

प्रतिक्रिया