नेपालीमा एउटा भनाइ छ, ‘सानो परिवार, सुखी परिवार।’ त्यसैले एकल परिवारप्रतिको आकर्षण बढ्दो छ।
मुलुकमा परिवार विभाजन भएर एकल हुने क्रम बढेको बेला कैलालीमा एकै परिवारका ४९ जना सदस्य मिलेर बसेका छन्। यो खबर आजको गोरखापत्र दैनिकमा कैलालीबाट अविनाश चौधरीले लेखेका छन्।
कैलारी गाउँपालिका–१, मनाउँमा रहेको अङ्ग्रेजीलाल कठरियाका ४९ जना सदस्य एउटै छानामुनि मिलेर बसेका छन् । तीन पुस्ते यो परिवारमा पाँच दाजुभाइका छोराछोरी÷बुहारी र नातिनातिना छन्।
घरको जेठो अङ्ग्रेजीलालको सात छोरा र दुई छोरी गरी नौ जना सन्तान छन् । सबैको विवाह भइसकेको छ । यसैगरी, माइलो रामचन्दरको तीन छोरामध्ये दुई जनाको विवाह भइसकेको छ।
साइँलो लक्ष्मणको दुई छोरी, काइँलो चुन्नुको एक छोरा र दुई छोरी गरी तीन सन्तान रहेका छन् । कान्छो भाइ दयाशङ्करको तीन छोरा छन्।
गत वर्षसम्म ५० जना सदस्य रहेको यो परिवारले साइँलो भाइ लक्ष्मणलाई भने गुमाइसकेको छ । गएको साउनमा लक्ष्मणको मृत्यु भएको थियो।
संयुक्त परिवारको नमुना नै रहेको कठरिया परिवार अहिलेसम्म मिलेर बस्नुको प्रमुख कारण हो, कुशल पारिवारिक व्यवस्थापन । माइलो भाइका माइला छोरा डिल्लीराज परिवारको घरमूली हुन्। आफूले सबैको चित्त बुझाउन सकेका कारण अहिलेसम्म मिलेर बसेको उनले बताए।
“सानोतिनो झगडा हुँदा पनि सबै मिलेर समाधान गर्ने गरेका छौँ”, घरमूली डिल्लीराजले भने, “अहिलेसम्म ४९ जना एउटै परिवारमा रहनुको कारण कुशल पारिवारिक व्यवस्थापन नै हो।”
प्रायः सबैलाई आफूले काममा लगाएको उनले बताए। “सबै काममा व्यस्त भएपछि एकले अर्काको कुरो काट्ने कसैलाई फुर्सद छैन”, डिल्लीराजले भने।आमाबुवा र छोराछोरी मात्रै भएको परिवार पनि मिलेर बस्न नसकिरहेको बेला पाँच दाजुभाइका सन्तान मिलेर बस्दा अङ्ग्रेजीलालको खुसीको सीमा नै छैन।
ठूलो परिवार भएकाले चाडपर्वबाहेक अरू दिन सबै सदस्य घरमा सँगै हुँदैनन् । कोही न कोही हरेक दिन बाहिर जाने गरेको बताइएको छ । परिवारका लागि साँझबिहान दुई÷तीन जना गृहिणीले मिलेर खाना पकाउने गर्दछन् । दिनभरि खानाको मेस चल्ने गरेको छ।
भान्साको काम गर्दै गरेको अवस्थामा भेटिएकी सुशीलाले संयुक्त परिवारका लागि खाना पकाउँदा राम्रै लाग्ने गरेको सुनाइन्। दुई÷तीन जना मिलेर खाना पकाउँछौँ,’ नउले भनिन्, ‘परिवार ठूलो भए पनि मिलेर खाना पकाउँदा झ्याउ लाग्दैन। ’
उक्त परिवारका लागि एकै छाकमा झन्डै २०÷२५ किलो चामल पाक्ने गरेको छ । घरका सदस्यहरू पालैपालो आएर खाना खाने गरेको अर्की गृहणी सीता चौधरी कठरियाले सुनाए।
वर्षमा दुईपटकसम्म परिवारका सदस्यलाई लत्ताकपडा खरिद गर्ने गरिएको छ । यसैगरी, चाडपर्व र विशेष अवसर पारेर परिवारलाई मासु खुवाउने गरेको घरमूली डिल्लीराजले बताए।
“एकै छाकका लागि कम्तीमा दुईवटा खसी आवश्यक पर्दछ”, उनले भने, “वर्षभरि मासुमा मात्रै तीन लाख रुपियाँ खर्च गर्ने गरेको छु।”

प्रतिक्रिया