ad ad

छापा खबर


कोरोना संक्रमणको डरले तनावमा हुनुहुन्छ? चिकित्सकहरुको सुझाब यस्तो छ

कोरोना संक्रमणको डरले तनावमा हुनुहुन्छ? चिकित्सकहरुको सुझाब यस्तो छ

नेपालखबर
चैत १०, २०७६ सोमबार १:२४,

कोरोना भाइरस (कोभिड-१९) संक्रमण हुन्छ कि भन्ने चिन्तामा हुनुहुन्छ? नआत्तिनुहोस्।

यो विषम परिस्थितिमा तनाव लिनुको साटो आन्तरिक शक्ति वृद्धिमा लाग्नुपर्ने सुझाव चिकित्सकले दिएका छन्। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा दिनेश गौतमले लेखेका छन्।

वरिष्ठ मनोचिकित्सक डा.कपिलदेव उपाध्याय चौतर्फी रूपमा कोरोना फोबिया देखिएको बताउँछन्। ‘समस्यासँग जुध्न समयमा आन्तरिक शक्ति वृद्धि गर्ने हो’, उनी भन्छन्, ‘आत्तिने होइन, अहिलेको समय त समस्याहरूसँग लड्नका लागि आत्मविश्वास बढाउने हो।’

चीन, दक्षिण कोरिया, जापान, ताइवान, सिंगापुर र हङकङमा संक्रमितको संख्यामा क्रमशः ह्रास आइरहेको छ। झन्डै ९६ हजार संक्रमित निको भएका छन्। धेरै उपचाररत छन्। ‘सबै सचेत हुने हो भने कोरोना भाइरस नियन्त्रण गर्न सकिन्छ भन्ने उदाहरण छन्’, उनी भन्छन्।

स्वास्थ्य सेवा दिने चिकित्सकीय टिम झन् बढी सचेत र सतर्क हुनुपर्ने देखिन्छ। युवाले समुदायमा रहेका वरिपरिका व्यक्तिको मनोबल बढाउनुपर्ने चिकित्सक बताउँछन्।

‘सावधानी अपनाउने हो। साबुनपानीले हात धुने, संक्रमित व्यक्तिबाट टाढा रहने हो। मास्क उपयोग गर्ने हो’, डा. उपाध्याय भन्छन्, ‘स्यानिटाइजर हातमा दल्ने हो।’

हल्ला र भ्रमबाट प्रभावित हुनेहरू बढी आतंकित देखिन्छन्। विज्ञ एवं चिकित्सकको सुझाव पालना गर्ने हो भने संक्रमणबाट जोगिन सकिन्छ। वृद्धवृद्धा र जोखिममा रहेको समूहलाई संक्रमण नहोस् भनेर सावधानी अपनाउनुपर्ने चिकित्सक बताउँछन्। यति बेला जिम्मेवारीबोध र मानवीय भावना आवश्यक पर्ने उनीहरूको भनाइ छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालअन्तर्गत क्लिनिकल रिसर्च युनिटका संयोजक डा.शेरबहादुर पुनका अनुसार कोरोना मान्छेबाट मान्छेमा सर्ने भएकाले भीडभाडमा जानुहुँदैन।

‘हात नियमित रूपमा धुनुपर्छ। हात नधोईकन अनुहारमा लैजानुहुँदैन’, उनी भन्छन्।

विकसित मुलुकमा पनि संक्रमण नियन्त्रण गर्न धौधौ परिरहेका बेला नेपालमा के होला भन्ने सोचाइ धेरैमा देखिन्छ। एकातर्फ नेपालमा भाइरस देखिएको छैन भनेर आत्मबल बढाइरहेको देखिन्छ भने अर्कातर्फ अमेरिका र युरोपमा पनि त थिएन भन्ने तर्क गर्नेहरू छन्।

‘विकसित मुलुकमा पनि नियन्त्रणमा हम्मेहम्मे परिरहेको छ भने हामीकहाँ आयो भने के होला?’ डा.उपाध्याय भन्छन्, ‘यसको आकलन गर्दै आतंकित हुनेहरू धेरै छन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .