ad ad

छापा खबर


वीरगन्जमा कोरोनाबारे सांसद र सिडिओले नै यस्तो अफवाह फैलाएपछि देश बन्यो आतंकित

वीरगन्जमा कोरोनाबारे सांसद र सिडिओले नै  यस्तो अफवाह फैलाएपछि देश बन्यो आतंकित

नेपालखबर
चैत १०, २०७६ सोमबार १:२८,

कोरोना भाइरसबारे गलत सूचना सम्प्रेषण नगर्न सरकारले पटकपटक आग्रह गरिरहेको छ। त्यस्तो गर्ने व्यक्तिलाई कारबाही गर्ने निर्णय पनि गरेको छ। तर, जिम्मेवार व्यक्तिले नै हल्ला फैलाउँदा आइतबार देशभर त्रास फैलियो ।

वीरगन्जका व्यवसायी शिवकुमार रुंगटामा कोरोनाको संक्रमण देखिएको भन्दै आइतबार सांसद प्रदीप यादवले सामाजिक सञ्जालमा लेखेपछि देशभर सनसनी मच्चियो।

पर्साका सिडिओ विष्णुकुमार कार्की र सहायक सिडिओ ललितकुमार बस्नेतले समेत रुंगटालाई कोरोना पोजेटिभ देखिएको भनेर मिडियालाई प्रतिक्रिया दिएपछि सिंगो देश आतंकित बनेको हो। यो खबर आजको नयाँ पत्रिकाले लेखेको छ।

खासमा व्यवसायी रुंगटालाई संक्रमण भएको आशंकामा परीक्षण मात्र गरिएको थियो। उनलाई संक्रमण नभएको रिपोर्ट अस्पतालले दिएको थियो।

पटना अस्पतालमा उपचाररत उनमा संक्रमण नभएको रिपोर्ट आएको रुंगटाका आफन्त तथा पूर्वसांसद अनिल रुंगटाले बताए।

‘उहाँलाई ज्वरो आएको हो, यस्तो वेलामा ज्वरो आउँदा स्वाभाविक रूपमा कोरोना टेस्ट हुन्छ, तर उहाँको रिपोर्टमा कोरोना नेगेटिभ देखिएको छ,’ उनले भने, ‘पटनास्थित मेडिकल कलेजमा उहाँको उपचार भइरहेको छ।’

सिडिओ कार्की र सहायक सिडिओ ललितकुमार बस्नेतले हल्लाकै भरमा रुंगटामा संक्रमण देखिएको प्रतिक्रिया मात्रै दिएनन्, उनको परिवारका सदस्यलाई क्वारेन्टाइनमा राख्न घरमा सुरक्षाकर्मीसमेत पठाएका थिए।

उनले लेखेका थिए, ‘भारत, बिहार पटनाको पिएमसिएच अस्पतालमा भर्ती भएका वीरगन्जनिवासी ७६ वर्षीय शिवकुमार रंगटाको कोरोना (कोभिड–१९) पुष्टि भएको खबर छ। वीरगन्ज आदर्शनगरका शिवकुमार रंगटा खदान व्यवसायी हुन्।’

तर, आफूले लेखेको खबर गलत साबित भएपछि यादवले स्टाटस मेटेका छन्। यसरी अफवाह फैलाउने सांसद र अधिकारीलाई कारबाही गर्ने दबाब सरकारमाथि परेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .