ad ad

छापा खबर


कलंकी दुर्घटना : श्रीमतीको झोलामा लाइसेन्स छुट्दा...

कलंकी दुर्घटना : श्रीमतीको झोलामा लाइसेन्स छुट्दा...

नेपालखबर
फागुन १४, २०७६ बुधबार ३:२७,

प्रहरी वृत्त थानकोटको क्यान्टिनमा एउटा समूह मलिन आवाजमा कुरा गरिरहेका थिए । एक जना पुरुष भने नेपाली कागजमा घटना विवरण लेखिरहेका थिए।

आजको कान्तिपुर दैनिकका अनुसार एउटी महिला हातमा पानीको बोतल लिएर सुक सुकाइरहेकी थिइन्। अरू दुई महिलाचाहिँ उनलाई सम्झाइरहेका थिए।

कलंकीमा सोमबार भएको दुर्घटनामा श्रीमान् शम्शेर गुरुङको मृत्यु भएपछि रिता गुरुङ बहिनी र आफन्तसहित प्रहरी कार्यालयमा उजुरी गर्न पुगेकी थिइन् । जुन दुर्घटनाले ११ वर्षदेखिको रिता र शम्शेरको सम्बन्ध टुटाएको छ । शम्शेर ट्रक चालक थिए।

झापाबाट सिमेन्टको कच्चा पदार्थ हेटौंडामा झारे अनि त्यहाँबाट सिमेन्ट लिएर सोमबार अपराह्न काठमाडौं आइपुगे । उनीसँगै रिता पनि गएकी थिइन् । बालकुमारीमा सामान झारेर शम्शेर थानकोटको ग्यारेजतिर लागे ।
रिता भने कलंकी झरेर गोंगबुस्थित कोठातिर । शम्शेरले गाडी ग्यारेजमा राखेर फर्कने बताएका थिए ।

तर, नवलपरासीमा सिमेन्ट लिने ट्रिप पाएको भन्दै शम्शेरले रितालाई फोन गरे । उनी गाडी लिएर नागढुंगा पुगेपछि सवारीचालक अनुमतिपत्र ९लाइसेन्स० त रिताको झोलामा परेको थाहा पाए । झापाबाट फर्कंदा हेटौंडामा शम्शेरले आफ्नो लाइसेन्स रितालाई राख्न दिएका थिए।

ब्लुबुक पनि ट्राफिक प्रहरीले लिएपछि उनी कागजपत्रविहीन भएका थिए । अनि गाडी फर्काएर ग्यारेजमा थन्क्याए।

‘ब्लुबुक लिए पनि चिट नदिएपछि ट्राफिक प्रहरी खोज्दै नागढुंगातिर गएका थिए । ब्लुबुक लिने ट्राफिक प्रहरी नभेटेपछि फकिएर ग्यारेजमै आए,’ ट्रक धनी निरनकुमार प्रधानले भने, ‘मेरो एउटा सामान छुटेको छ । सामान लिन घर जानुपर्ने भयो भनेर मेरो स्कुटर लिएर कलंकीतिर आएको थियो । दुर्घटनामा परेछ।’

शम्शेरले श्रीमती रितालाई लाइसेन्स लिएर कलंकीसम्म आउन अर्‍हाएका रहेछन् । थानकोट–कलंकी साँझको जाममा बा४४प १८१० नम्बरको स्कुटर लिएर उनी कलंकीतिर आउँदै थिए । रिता पनि चिनजानको दाइको मोटरसाइकलमा कलंकीतिर आइरहेकी थिइन्।

गंगबुबाट नयाँबसपार्क आएदेखि रिताले शम्शेरलाई फोन गर्न थालिन् । तर, फोन उठेन।

‘कति पटक फोन गरेँ । कहिले लागेन । कहिले घण्टी जान्थ्यो उठ्दैन्थ्यो,’ रिताले भनिन्, ‘बाफल आएर फेरि फोन गरे तर, फोन अर्कै मान्छेले उठाएर उहाँ दुर्घटनामा पर्नुभएको छ तपाईं वीर अस्पताल आउनुस् भन्दा त होसहवास उड्यो।’

फोनमा कुरा हुँदा शम्शेर र रिताबीच कलंकीमा भेट्ने कुरा भएको थियो । तर, कलंकी पुग्न करिब ५०० मिटर मात्रै बाँकी छँदा ढुंगेअड्डाको ओरालोबाट खडकुले पुल नपुग्दै पछाडिबाट ना ६ ख २८७१ नम्बरको अनियन्त्रित ट्रकले शम्शेर चढेको स्कुटरलाई ठक्कर दियो।

उनीभन्दा अघिअघि बा १५ ख ४५४३ नम्बरको स्कारपियो जिप अमृतबहादुर थापामगरले चलाइरहेका थिए । त्यही जिप र ट्रकको बीचमा च्यापिएर उनले ज्यान गुमाए ।

घटना भएको आधा घण्टापछि मात्रै रिताले शम्शेरको दुर्घटना भएको थाहा पाइन् । अस्पतालमा पुगेपछि जब उनलाई भेट्न दिइएन, त्यसपछि उनको मनमा चिसो पस्यो । आफन्तलाई फोन गर्न थालिन्।

५ कक्षामा अध्ययन गर्ने १० वर्षे छोरा पनि अस्पताल आइपुगे । शम्सेरको भने अस्पताल पुग्नुअघि नै मृत्यु भइसकेको थियो । ‘हामी कलंकीबाट छुटेको डेढ घण्टा पनि नभई यस्तो घटना भयो,’ उनले रुँदै भनिन्, ‘अब हाम्रो विजोग हुन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .