छापा खबर


भारतको मणिपुरमा २३ नेपाली महिला प्रहरी नियन्त्रणमा

भारतको मणिपुरमा २३ नेपाली महिला प्रहरी नियन्त्रणमा

नेपालखबर
माघ २९, २०७६ बुधबार २:४१,

सुर्खेतकी सावित्री विकका श्रीमान् विगत तीन वर्षदेखि गायब छन् । कमाइ गरेर पाल्ने श्रीमान् नै हराएपछि दुई छोराछोरीसहित सावित्री माइतीमा बस्दै आएकी छिन्।

छोराछोरी हुर्काउन उनी दिल्लीका विभिन्न सहरमा मजदुरी गर्छिन् । दाजुभाइसँग वर्षमा चार–पाँच महिना दिल्ली र बाँकी समय सुर्खेत बस्ने गर्छिन् । यही क्रममा उनको विदेश पठाउने राज नाम गरेका व्यक्तिसँग भेट भयो ।

उनले कुवेतमा राम्रो आम्दानी हुने आस देखाएपछि सावित्री पनि लोभिइन् । दुई छोराछोरीलाई आमाको जिम्मा लगाएर सावित्री गत १८ कात्तिकमा सुर्खेतदेखि कुवेतका लागि हिँडिन् ।

दलालले उनलाई सडकको बाटो दिल्ली पुर्यायो । उनी त्यहीँ दुई दिन बसिन् । दिल्लीबाट जहाजमा उनलाई कोलकाता पुर्याइयो । तस्कर समूहले दिल्लीबाट मणिपुरको इम्फाइलमा जहाजमै लग्यो । तर, विमानस्थलमा प्रहरीले उनीसहित अन्य चारजना महिलालाई समात्यो।

छोरीलाई श्रीमान्को जिम्मा लगाएर हिँडेकी रमा बीचमै अलपत्र
रुपन्देहीकी रमा क्षेत्री २० कात्तिकमा कुवेतका लागि दिल्ली हिँडेकी थिइन् । सामान्य चिनजानकी मुना थापाले उनलाई कुवेतमा राम्रो कमाइ हुने आश्वासन दिएपछि छोरीलाई श्रीमान्को जिम्मा लगाएर हिँडेकी रमा अहिले बीचमै अलपत्र परेकी छिन्।

दुबईमा राम्रो कमाइ हुने लोभ, गुवाहटी हुँदै इम्फाइल पुर्याइयो
काभ्रेकी मुना गुरागाईं १५ कात्तिकमा काठमाडौंबाट दुबई हिँडेकी थिइन् । दिल्लीमा बस्ने ईश्वर न्यौपाने र दुबईमा बस्ने अनिल न्यौपानेले उनलाई दुबई जाने सेटिङ मिलाएका थिए ।

दलालले भनेअनुसार नै उनी बसबाट काठमाडौंदेखि दिल्ली पुगिन् । दलाल समूहले उनलाई दिल्लीबाट हैदराबाद हुँदै चेन्नई पु(यायो । तर, चेन्नईमा उनलाई स्थानीय नेपालीले नै समाते र दिल्ली फकाईदिए।

आजको नयाँ पत्रिकामा मुना कुँवरले लेखेको समाचारअनुसार नेपाली महिलालाई दलालहरूले कसरी भारतबाट अर्को देश हुँदै खाडी मुलुक पुर्याउँछन् भन्ने उदाहरण हुन् यी माथिका घटना ।

नेपाल सरकारले महिलालाई रोजगारका लागि खाडी मुलुकमा जान प्रतिबन्ध गरेको छ । तर, जान चाहने महिला अनेकौँ जोखिम मोलेर खाडी मुलुक जान खोजिरहेका हुन्छन्, दलालले पनि अनेकौँ रुट प्रयोग गरी नेपाली महिलालाई खाडी मुलुक पु(याइरहेका छन् ।

पछिल्लो समय सडकमार्ग हुँदै भारतको आसाम, मणिपुर, मिजोरम हुँदै म्यानमार पु(याउने र त्यहाँबाट श्रीलंका हुँदै खाडी मुलुक पु(याउन गिरोह सक्रिय हुन थालेको छ । अहिले मणिपुरमा करिब २३ जना नेपाली महिला प्रहरी नियन्त्रणमा छन् ।

खाडीका विभिन्न मुलुक लैजाने क्रममा उनीहरू मणिपुरको इम्फाइल विमानस्थल र मोरे नाकाबाट समातिएका हुन् । अहिले उनीहरू मणिपुरको विभिन्न गैरसरकारी संस्थाको संरक्षणमा छन् ।

केही एबिसिडिओ प्रोएक्टिम एन्ड रिहालिबेटिम होम्स, इपाम्लम्डम उजाला होम्स अफ सेन्टर र सेन्टर फर डेभलपमेन्ट एक्टिभिटिजमा रहेको माइती नेपालका अध्यक्ष विश्वराम खड्काले बताए ।

सरकारले घरेलु कामदार रूपमा खाडी मुलुक जान नेपाली महिलालाई बन्देज गर्दै त्रिभुवन विमानस्थलबाटै कडाइ गरेपछि दलालले सडकमार्गको विकल्प प्रयोग गरेका हुन् ।

गत फागुनमा ब्युरोले १७९ जना नेपालीलाई मणिपुरबाट उद्धार गरेको थियो। अवैध बाटोबाट खाडी मुलुक लगिएका ती महिलालाई माइती नेपालले पाएको सुराकीका आधारमा भारतीय प्रहरीको सहयोगमा उद्धार गरिएको थियो ।

म्यानमार हुँदै खाडी मुलुक जान चाहनेमा १४७ जना महिला र ३२ जना पुरुष थिए । उनीहरूलाई काँकडभिट्टा हुँदै नेपाल ल्याइएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad