छापा खबर


श्रीमतीलाई भेन्टिलेटरमा राखेर यी युवक प्रहरी कार्यालय किन छिरे हँ! 

श्रीमतीलाई भेन्टिलेटरमा राखेर यी युवक प्रहरी कार्यालय किन छिरे हँ! 

नेपालखबर
माघ २९, २०७६ बुधबार २:४२,

मंगलबार दिउँसो १२ बजेर ९ मिनेटमा बा २ झ ४२६८ नम्बरको एम्बुलेन्स महानगरीय प्रहरी वृत्त तीनकुनेको गेटबाट भित्र छिर्छ। गेटमा बसेका प्रहरी सोधखोजविनै मुल गेट खोलिदिन्छन्।

एम्बुलेन्सको पछाडिको ढोकाबाट एक युवक ओर्लिन्छन् अनि ह्वील चियरमा रहेकी बिरामीलाई उतार्न सहयोग माग्छन्। प्रहरीहरूकै सहयोगमा ती बिरामी महिलालाई भुइँमा राखिन्छ।

उनलाई किन प्रहरीमा ल्याइयो ? को हुन् उनीहरू? वरिपरि भेला भएकाहरू जिज्ञासु नजरले हेर्न थाल्छन्। एकाएक यहाँ भीड जम्मा हुन्छ। ह्वील चियरको एकातिर पिसाबको पाइप झुन्ड्याइएको छ। बिरामीको घाँटीमा राखिएको पोर्टेबल पाइप (बोकेर हिँड्न मिल्ने) भने भेन्टिलेटरमा जोडिएको छ। यसकै सहायताले ती बिरामी सास फेरिरहेकी छन्।

उनी हुन्, चेली तामाङ। जो जेब्रा क्रसबाट बाटो काट्ने क्रममा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते बन्न पुगिन्। तीनकुने प्रहरी वृत्तअगाडिको जेब्राक्रसमा बा ६५ प ७५४९ नम्बरको मोटरसाइकलले २०७३ चैत २५ मा ठक्कर दिएपछि उनको अवस्था यस्तो बनेको हो। दुर्घटनापछि उनी उठ्न र बोल्न नसक्ने गरी थलिएकी छन्। उनी दुई वर्ष १० महिनादेखि भेन्टिलेटरमा छिन्।

‘ठक्कर दिने कोही पनि सम्पर्कमा नआएपछि जहाँ दुर्घटना भएको हो, त्यहीँको प्रहरीलाई दबाब दिन बिरामी लिएर आएको हुँ,’ चेलीका श्रीमान् वसन्त झोँक्किए, ‘जसले मेरो श्रीमतीको हालत यस्तो बनायो, उसैले खर्च गर्ने दायित्व होइन?’

यसअघि महानगरीय प्रहरी कार्यालय रानीपोखरी अगाडि पनि उनले श्रीमतीलाई ह्वील चियरमा राखेर लगेका थिए। त्यहाँ लैजाँदा पनि ठक्कर दिने चालक र मोटरसाइकल धनी सम्पर्कमा नआएको भन्दै उनले मंगलबार भेन्टिलेटरबाट झिकेर श्रीमतीलाई तीनकुने लगेका हुन्। उनको साथमा थिइन्, आठ वर्षीया छोरी आलिया पनि। यो खबर आजको कान्तिपुरमा छापिएको छ।

‘अस्पतालमा उपचार खर्च नभएर मार्नुभन्दा त मैले कस्तो मान्छेको स्याहार गरिरा’छु भन्ने थाहा दिन पनि श्रीमतीलाई प्रहरीमा ल्याएको हुँ,’ उनी भनिरहेका थिए।

श्रीमतीको उपचारमा खटिएका बसन्त ट्रमा सेन्टरमै गार्डको काम गर्छन् । दिनभरि श्रीमतीको स्याहार गर्छन्, उपचार खर्चमा भरथेग गर्न राति श्रीमती राखेको पाँचौ तलामा गार्ड बस्छन् । अस्पतालको सुरक्षा गार्ड व्यवस्थापन गरेको निजी कम्पनीले वसन्तलाई मासिक १८ हजार दिने गरेको छ।

रातको निद्रा वास्ता नगरी उनी मंगलबार भने अचेत श्रीमतीलाई लिएर प्रहरीकहाँ पुगेका हुन्। विदेशमा काम गरेर कमाएको ५० लाख खर्च गरेर पनि थप ४० लाख ऋण रहेको उनले बताए।

‘१३ महिना आइसीयूमा राखेर उपचार गराएँ,’ उनले भने, ‘अहिले ट्रमा सेन्टरको ५१४ नम्बर बेडमा राखेर उपचार गराइरहेको छु ।’ तीनकुने प्रहरी वृत्तका प्रहरी नायव उपरीक्षक दुर्गाप्रसाद रेग्मीले बिरामीको अवस्था नाजुक देखेर ठक्कर दिने मोटरसाइकलका धनी रेशम केसीलगायतलाई बोलाएर मंगलबार छलफल गरेको बताए।

‘मेरो छोराको बाइक भए पनि अर्को मान्छेले चलाउँदा दुर्घटना भएको हो,’ रेशमले भने, ‘हामीले १८ लाख खर्च गरिसक्यौं । थप १० लाख रुपैयाँ र बिमाबाट आएको रकम दिन तयार छौं ।’ छलफलमा वसन्तले २५ लाख मागेको उनले बताए । ‘यतिका रकम त हामी दिन सक्दैनौं,’ रेशमले भने।

छलफल चलुन्जेल चेली बोल्न खोजिन् तर आवाज निस्किएन । उनको घाँटीमुनिको भाग चल्दैन। यताउता फर्कनसमेत सहारा चाहिन्छ । उनलाई खाना खुवाउने, दिसापिसाब गराउने काममा वसन्त खटिने गरेका छन् । भेन्टिलेटरविना उनी सास फेर्न सक्दिनन्। वसन्तले भेन्टिलेटर मिलाए र श्रीमतीलाई प्रहरी वृत्तबाट पुनः ट्रमातिरै फर्काएर ल्याए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad