नेत्रविक्रम चन्द समूहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको हत्यामा संलग्नलाई कारबाही गर्न माग गर्दै उनकी आमा दुर्गादेवीले शुक्रबार हुलाकमार्फत जाहेरी दिएका छन्।
प्रहरीले दर्ता गर्न नमानेपछि ७० वर्षीया दुर्गादेवीले सर्लाहीका तत्कालीन प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत, प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराई, वाग्मती नगरपालिकाका मेयर भरत थापा र घटनामा संलग्न प्रहरीसहित दस जनाविरुद्ध हुलाकबाट जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी पठाएकी खबर आजको कान्तिपुर दैनिकले छापेको छ।
जाहेरीमा गृहमन्त्री रामबहादुर थापा र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालमाथि पनि अनुसन्धानको माग गरिएको छ । मानवअधिकारकर्मी चरण प्रसाईंका अनुसार जाहेरीमा छोराको गैरन्यायिक हत्या गरिएको उल्लेख छ।
‘छोराको हत्याको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा दुर्गादेवीसहित हामी जाँदा दर्ता गर्न नमिल्ने बताइएपछि हामीले हुलाकमार्फत दर्ता गरायौं,’ उनले भने, ‘सरकारी वकिलको कार्यालयमा पनि हुलाकमार्फत नै बुझाएका छौं।’
जिल्ला प्रहरी कार्यालयले भने कुमार पौडेलको मुद्दामा अनुसन्धान भइरहेकाले अर्को मुद्दा दर्ता गर्न नमिल्ने जनाएको छ। ‘पहिलादेखि नै इलाका प्रहरी कार्यालय लालबन्दीमार्फत मुद्दा चलिरहेको छ, एउटामा अनुसन्धान चलिरहँदा भइरहेको अनुसन्धान प्रभावित हुन सक्छ, त्यही भएर अर्को मुद्दा दर्ता गरिनँ,’ प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले भने, ‘उहाँहरूको कुरा भने बुझेको छु।’
गत असार ५ गते दिउँसो लालबन्दी नगरपालिका–१ स्थित लखन्देही खोलादेखि पूर्वको जंगलमा कुमारको गोली हानी हत्या गरिएको थियो । प्रहरीले कुमार इन्काउन्टरमा मारिएको दाबी गर्दै आएको छ।
Shares

प्रतिक्रिया