छापा खबर


राजधानीमै भारतीयलाई नागरिकता दिने प्रयास, चार पक्राउ

राजधानीमै भारतीयलाई नागरिकता दिने प्रयास, चार पक्राउ

नेपालखबर
माघ २५, २०७६ शनिबार २:५५,

भारतीय बाबुबाट जन्मिएकी महिलालाई नेपाली नागरिक बनाउन खोज्ने चार जना पक्राउ परेका छन्।

फर्जी कागजातका आधारमा नागरिकता बनाउन खोज्ने काठमाडौँ टोखा नगरपालिका–३ का रेशमलाल गुरुङ, कल्पना गुरुङ, उर्मिला गुरुङ र मधुविलास अधिकारी पक्राउ परेका खबर आजको राजधानी दैनिकमा भवनाथ प्याकुरेलले लेखेका छन्।

उनीहरूलाई जिल्ला प्रशासन कार्यालय काठमाडौँ हाताभित्रैबाट पक्राउ गरिएको हो। भारतीय नागरिकसँग विवाह गरेकी कल्पना गुरुङले तिनै भारतीय नागरिकबाट दार्जिलिङमा जन्मिएकी आफ्नी छोरी उर्मिलाको नेपाली नागरिकता बनाउन खोज्दा उनीहरू पक्राउ परेका हुन्।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले नक्कली कागजात लिएर नागरिकता बनाउन आएका चार जनालाई पक्राउ गरिएको जानकारी दिए।

आचार्यका अनुसार उर्मिला आफ्नी आमाका दोस्रा पति रेशमलाल गुरुङसँग नागरिकता बनाउन आएकी थिइन् । जबकि, उनी भारतीय नागरिककी छोरी हुन् । उनकी आमाले भने उनी जन्मिएपछि भारतीय नागरिकलाई छोडेर नेपालकै रेशमलालसँग दोस्रो विवाह गरेकी थिइन्।

भारतीय नागरिकबाट जन्मिएकी भए पनि उर्मिलाको नागरिकताका लागि तयार पारिएको सिफारिसमा बाबुको नाम रेशमलाल उल्लेख गरिएको थियो।

जिल्ला प्रशासन कार्यालका अधिकारीले नागरिकता का लागि उर्मिलासँग बाबुका बारे सोधीखोजी गर्दा उनले कुन बाबु? पहिलो कि दोस्रो भनेर जवाफ दिएपछि उनी भारतीय नागरिक भएको खुलेको थियो।

त्यसलगत्तै उनीहरूलाई पक्राउ गरिएको थियो। उर्मिला भारतीय नागरिकबाट जन्मिएकी भएकाले उनलाई नागरिकता दिने नमिल्ने सहायक प्रमुख जिल्ला अधिकारी आचार्यले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad