पश्चिमी वायुबाट विकसित पश्चिमी न्यून चापीय प्रणालीका कारण आज (शनिबार) देशका केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुुसार आज पश्चिमी पहाडमा हल्का वर्षा तथा उच्च पहाडी हिमाली भेगमा हल्का हिमपात हुने सम्भावना छ।
यसैगरी मध्य क्षेत्रका पहाड तथा तराईका केही स्थानमा पनि आज हल्का वर्षाको सम्भावना छ।
‘खासगरी पहाडी क्षेत्रमा पानी पर्ने देखिन्छ,’ मौसमविद् मानन्धरले नेपालखबरसँग भनिन्, ‘तर मध्य नेपालका तराई क्षेत्रमा पनि आज छिटफुट वर्षा हुने देखिन्छ।’
उल्लिखित क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना अपराह्नपछि रहेको उनको भनाइ छ।
तर पहाडी भेगअन्तर्गत काठमाडौं उपत्यकामा आज वर्षाको सम्भावना छैन। ‘उपत्यकामा आज आंशिक बदली (कहिले घाम कहिले बादल) मात्र हुने देखिन्छ,’ उनले भनिन्।
शनिबार बिहान साढे ८ बजेतिरको रेकर्डअनुसार काठमाडौं उपत्यकाको तापक्रम ७ डिग्री सेल्सियस छ भने बिहान ५ः४५ बजेकाे मापनअनुसार उपत्यकाको न्यूनतम तापक्रम ५.१ डिग्री रहेको उनले जानकारी दिइन्।
उनका अनुसार आजलाई पूर्वी क्षेत्रमा भने वर्षा तथा हिमपातको सम्भावना छैन।
‘आजलाई पश्चिमी न्यून चापीय प्रणालीको विशेष प्रभाव पश्चिमी क्षेत्रमा पर्ने देखिन्छ,’ उनले भनिन्, ‘यो प्रणाली पूर्व सर्ने क्रममा छ, भोलि (आइतबार) भने यसले मध्य र पूर्वी क्षेत्रमा बढी प्रभाव पार्ने देखिन्छ।’
मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशको पश्चिमी पहाडी भूभागमा सामान्य बदली र अन्य पहाडी भूभागका स्थानमा आंशिक बदली छ। तराईका भूभागमा भने मौसम सामान्यतया सफा छ।
महाशाखाले शनिबार बिहान ६ बजे प्रकाशन गरेको बुलेटिनमा आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श दिँदै भनेको छ :
नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात र पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ।

प्रतिक्रिया