ad ad

छापा खबर


अर्थमन्त्री युवराजको ‘यु-टर्न’

अर्थमन्त्री युवराजको ‘यु-टर्न’

नेपालखबर
माघ ३, २०७६ शुक्रबार ३:३३,

विगतमा उद्योगी एवं व्यवसायीप्रति रुखो व्यवहार देखाउँदै आएका अर्थमन्त्री युवराज खतिवडाको कार्यशैली र अभिव्यक्ति पछिल्लो समय नाटकीय रूपमा फेरिएको छ।

नेपाल राष्ट्रबैंकको गभर्नर छँदा र अर्थमन्त्री भएपछि पनि उद्योगी, व्यवसायीलाई पहुँच नै नदिएका खतिवडाले एक–डेढ महिनायता भने सबैसँग नरम र भद्र व्यवहारसँगै त्यसैअनुसार भाषण गरिरहेका छन्। निजी क्षेत्रका संघसंस्था तथा सरकारी संस्थानहरूमा जाँदा उनी समस्या समाधान गर्ने सहयोगीका रूपमा प्रस्तुत भइरहेका छन्।

नेपाल चेम्बर अर्फ कमर्सको यही साता भएको ७०औं वार्षिकोत्सवमा खतिवडाले भने, ‘सरकार धरपकडमा जाँदैन, विगतमा केही गल्ती भएकै हुन्। अब यो गर्नुहुँदैन भनेर मैले सार्वजनिक रूपमा भनेकै हुँ। व्यवसायीलाई निरुत्साहित गरेर सुशासन कायम गर्न नसकिने रहेछ। स्वेच्छाले राज्यको कानुन पालना गराउनु नै लोकतान्त्रिक सरकारको पहिलो प्राथमिकता हो।’

निजी क्षेत्रसँग मात्र होइन, विगतमा सेयर बजारविरुद्ध चर्को स्वरमा बोल्ने खतिवडा मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कार्यक्रममा नरम रूपमा प्रस्तुत मात्र भएनन्, सेयर बजारमा समस्या भए आफू समाधान गर्न तयार भएको समेत बताए।

उनले करसम्बन्धी समस्या भए आगामी बजेटबाट समाधान गर्ने आश्वासन दिँदै पुँजी बजारको विकासमा थुप्रै काम भइसकेको र अरू थप काम पनि प्रक्रियामा रहेको जानकारी दिए। 

‘आज (मंगलबार)को खतिवडाको भाषणले पहिलेका अर्थमन्त्री यिनै हुन् र भन्ने पो बनायो,’ एक्सचेन्जका एक अधिकाीले भने, ‘सेयर बजारको विरोधीका रूपमा देखिएका खतिवडा आज हितैषीका रूपमा प्रस्तुत भए।’ यी तिनै खतिवडा हुन् जसले गत वर्ष लगानीकर्तालाई भेट दिन अस्वीकार गर्दै उनीहरूलाई अर्थ मन्त्रालयको ढोकाबाटै फर्काएका थिए।

नेप्सेमा मात्र होइन, बुधबार अटोमोबाइल्स एसोसिएसन अफ नेपाल नाडाका पदाधिकारीसँगको भेटमा पनि अर्थमन्त्री खतिवडाले यो क्षेत्रको समस्या समाधानमा खुलेर सहयोग गर्ने बताए। सवारीसाधनमा सम्भवतः विश्वमा नै सबैभन्दा धेरै प्रतिशत कर उठाउने खतिवडाले ‘नेपाल विश्व व्यापार संगठनको सदस्य भएको हैसियतले सवारीसाधनमा लाग्ने करको दरमा पुनर्विचार गर्छु’ सम्म भने। उनले यो वर्ष सुस्ताएको अटोमोबाइल व्यवसायलाई उठाउन व्यवसायीले महसुस गर्नेगरी आगामी वर्ष कार्यक्रम ल्याउने वाचा पनि गरे।

यी केही उदाहरण हुन् अर्थमन्त्री खतिवडाको फेरिएको व्यवहारका। यो खबर आजको नागरिक दैनिकमा बालकृष्ण ज्ञवालीले लेखेका छन्।

खतिवडाको यस्तो ‘युटर्न’लाई अर्थ मन्त्रालयभित्रको उनको सहयोगी टिमका सदस्य र उद्योगी व्यवसायीले अर्थमन्त्रीको निरन्तरतासँग जोडेर हेर्ने गरेका छन्।

खतिवडाको राष्ट्रियसभा सदस्यको म्याद फागुन २० मा सकिँदैछ। पहिलो चरणमा अवधि सकिने १८ सदस्यमध्ये खतिवडा राष्ट्रपतिबाट चुनिएका एकमात्र सदस्य हुन्।

१७ रिक्त पदमा निर्वाचनका लागि मतदानको मिति तय भइसकेको छ भने राष्ट्रपतिबाट हुने एकजनाको मनोनयन बाँकी छ। त्यसैले खतिवडा अर्थमन्त्रीमा रहने कि नरहने भन्ने चर्चा चलिरहेको छ। विगतमा रुखो व्यवहार देखाएका कारण निजी क्षेत्र खतिवडासँग सन्तुष्ट छैन। उद्योगी व्यवसायी, सेयर बजारका लगानीकर्तालगायत सम्पूर्ण निजी क्षेत्रले खतिवडाको विकल्प खोजिरहेको छ।

त्यसैअनुसार उनलाई निरन्तरता दिन नहुनेमा निजी क्षेत्रले सक्दो लबिङ गरिरहेको छ। सबै क्षेत्रबाट विरोध भए अर्थमन्त्रीमा निरन्तरता पाउन कठिन हुने देखेपछि खतिवडाले पछिल्लो समय नरम व्यवहार देखाउन थालेको निजी क्षेत्रको बुझाइ छ।

खतिवडा राष्ट्रबैंकको गभर्नर भएपछि समय लिएर भेट्न पुगेका बैंकरहरूलाई आफू सबैभन्दा जान्ने भएजस्तो गरी रुखो व्यवहार देखाएको भन्दै त्यसबेला उनको आलोचना भएको थियो।

‘तपाईंहरूले मलाई कुनै सुझाव दिनुपर्दैन, समस्या छन् भने राख्न सक्नुहुन्छ,’ गभर्नर खतिवडाले त्यसबेला बैंकरहरूलाई भनेका थिए। अध्यापन क्षेत्रबाट राष्ट्रबैंकमा आएका खतिवडामा आफू सबैभन्दा जान्ने भन्ने अहं छ। निजी क्षेत्र मात्र नभएर सरकारी कर्मचारीको हकमा पनि खतिवडाको रबैया उस्तै हो।

खतिवडाले गत वर्ष धितोपत्र बोर्डको वार्षिकोत्सवमा पनि बैंकरहरूलाई जस्तै लगानीकर्तालाई होच्याउने गरी भाषण गरेका थिए। कार्यक्रममा सहभागीहरूले दुई तिहाइको सरकार गठन भए पनि सेयर बजार लगातार घटिरहेको भनेपछि त्यसको उत्तरमा खतिवडाले ‘तपाईंहरूले सेयरबारे कखग सिक्दा मैले यसमा पिएचडी गरेको थिएँ’ भन्दै होच्याएर भाषण गरेका थिए।

निजी क्षेत्र जोडिएका विषयमा खतिवडाको व्यवहार सहयोगी अर्थमन्त्रीको जस्तो नभएर एउटा कठोर शासकको जस्तो देखिन्छ। सेयर बजारको सबालमा खतिवडालाई खलनायककै रूपमा हेरिएको छ। केपी ओली नेतृत्वमा सरकार बनेपछि लगातार सेयर घटेको विषयलाई अर्थमन्त्रीले सम्बोधन गर्नुपर्छ भन्ने आवाज लगानीकर्ताले उठाउँदा खतिवडाले अर्थमन्त्रीलाई देखाएर सेयरमा चलखेल गर्न खोजिएको आरोप लगाएका थिए। संसारभर सेयर बजारसँग अर्थमन्त्री जोडिने भए पनि नेपालमा खतिवडा जोडिन चाहेनन्, उल्टै आरोप लगाएर पन्छिने काम गरे।

गत वर्ष खतिवडाले नै प्रस्तुत गरेको बजेटमा समावेश पुँजीगत लाभकर गणनाको विषय विवादित बन्दा उनी वर्षभरि बोलेनन्। लगानीकर्ताले लामो समयसम्म विरोध गरे। फलस्वरूप चालु वर्षको बजेटमार्फत त्यसलाई सुल्झाउने काम गरियो। मातृका यादव उद्योगमन्त्री हुँदा निजी क्षेत्रले सधैं एउटा गुनासो गरिरहन्थ्यो,

‘अर्थमन्त्री कुरै सुन्दैनन्। उद्योगमन्त्री कुरै बुझ्दैनन्।’ अर्थमन्त्री खतिवडाले कार्यकालको सुरुका दिनमा निजी क्षेत्रले समस्या लिएर जाँदा पनि भेट दिने गरेका थिएनन्। निजी क्षेत्रले बजेटमा दिने सुझावसम्म अर्थमन्त्रीले लिएका थिए। ‘हामीले प्रधानमन्त्रीलाई भने सजिलैसँग भट्न सक्छौं तर अर्थमन्त्री खतिवडालाई भेटन सकिँदैन,’ नेपाल उद्योग परिसंघमा आबद्ध एक उद्योगीले भने, ‘खतिवडाका नजरमा उद्योगी व्यवसायी अवसरवादीमात्र देखिन्छन्।’

खतिवडाले जस्तो व्यवहार देखाए पनि उनी प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष व्यक्ति भएको र ओलीकै समर्थनमा अर्थमन्त्री बनेका कारण उद्योगी व्यवसायीले सिधै उनको विरोध गर्न सकेका छैनन्। खतिवडाले ल्याएको नीति र उनको भाषणप्रति टिप्पणी वा विरोध गरेमात्र पनि कोपभाजनमा परिने डर उद्योगी व्यवसायीमा छ। व्यवसायीहरूका अनुसार सञ्चारमाध्यममार्फत वा कार्यक्रममा भाषणका क्रममा खतिवडाको विरोध गरे उनले त्यसलाई व्यक्तिगत ‘इगो’का रूपमा लिने गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .