छापा खबर


चिनियाँ मोडलमा चल्छ नेकपाको भोटेकोसी गाउँ कमिटी, लोगो र ड्रेस अनिवार्य

चिनियाँ मोडलमा चल्छ नेकपाको भोटेकोसी गाउँ कमिटी, लोगो र ड्रेस अनिवार्य

नेपालखबर
पुस २४, २०७६ बिहिबार २:२१,

नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच ६ बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको साढे तीन महिनापछि सिन्धुपाल्चोकमा स्थानीय कमिटीले चिनियाँ कम्युनिस्ट पार्टी सञ्चालनकै मोडल अभ्यास गर्न थालेको छ।

नेकपाको भोटेकोसी गाउँपालिका कमिटीले चिनियाँ कम्युनिस्ट पार्टीकै मोडलमा पार्टीका सांगठनिक गतिविधि सञ्चालन सुरु गरेको खबर आजको नयाँ पत्रिका दैनिकमा सिन्धुपाल्चोकबाट रामकृष्ण थापाले लेखेका छन्।

चिनियाँ कम्युनिस्ट पार्टीकै मोडलअनुसार बैठकमा पार्टीको लोगो अंकित ड्रेसमा उपस्थित हुन अनिवार्य गरिएको छ। मंगलबारको गाउँपालिका कमिटी बैठकमा सबै सदस्यले पार्टीको लोगो लगाएका थिए ।

चिनियाँ कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ता पार्टीको लोगोसहितको ड्रेसमा मात्र बैठक बस्छन् भने अनुशासनको कडाइका साथ पालना गर्छन् ।

पार्टी कार्यालयमा राखिने झन्डा र अन्य सामग्री पनि चिनियाँ कम्युनिस्ट पार्टीकै मोडलमा राखिएको गाउँपालिका कमिटी अध्यक्ष आङछिरी शेर्पाले बताए ।

‘अहिलेलाई लोगो अनिवार्य गरिएको छ । आगामी बैठकदेखि पार्टीले तोकेको युनिफर्म लगाएर बैठकमा आउनुपर्नेछ । पार्टीको लोगो र ड्रेस पनि चाइनाबाटै बनाएर ल्याएका छौँ,’ शेर्पाले भने, ‘पार्टी सदस्यले मात्रै लोगो र ड्रेस लगाउन पाउनेछन् ।’

७५ सदस्यीय कमिटीलाई बैठक बस्दा आवश्यक पार्टी चिह्न खासाको चिनियाँ कम्युनिस्टसँग सहकार्य गरेर तयार पारेको उनले बताए । गाउँ कमिटीमा रहेका ७५ सदस्यले अब तीन–तीनजना साधारण सदस्यको नेतृत्व गर्नेछन् ।

अध्यक्ष आङछिरी शेर्पा भन्छन् ‘दुवै पार्टीको राम्रो पक्षलाई अंगीकार गरेर स्थानीय पार्टी सञ्चालन गर्ने निर्णय खासा बैठकले गरेको थियो । त्यसैअनुसार काम गरेका हौँ ।’

शेर्पाको नेतृत्वमा १७ असोजमा खासा पुगेको टोलीले जांमुपोर्टस्थित चिनियाँ कम्युनिस्ट पार्टीको खासा प्रशासन समितिसँग बैठक गरेको थियो ।

नेपाल र चीनका कम्युनिस्ट पार्टीबीच स्थानीयस्तरमा बैठक भएको यो नै पहिलोपटक थियो । टोली खासा भ्रमणबाट फर्किएलगत्तै २ कात्तिकमा बसेको गाउँपालिका कमिटी बैठकले चिनियाँ मोडल अनुसरण गरेको थियो ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad