छापा खबर


गोप्य बैठकमा प्रचण्डले भने : ‘मैले ओलीलाई प्रधानमन्त्री छाड्न भनेको छु’

गोप्य बैठकमा प्रचण्डले भने : ‘मैले ओलीलाई प्रधानमन्त्री छाड्न भनेको छु’

नेपालखबर
पुस २४, २०७६ बिहिबार २:३७,

सभामुख चयनका सन्दर्भमा प्रस्तावित उपाध्यक्ष वामदेव गौतम निवासमा ओली इतरका नेताहरूको ‘गोप्य’ जमघट भएको छ।

नेकपाभित्र दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहालबीच सहमति जुट्न सकस भइरहेका बेला भएको यो बैठकलाई अर्थपूर्ण मानिएको छ।

भैंसेपाटीस्थित गौतम निवासमा अध्यक्ष दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र स्थायी समिति सदस्य भीम रावल सहभागी भएका खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा रामकृष्ण अधिकारीले लेखेका छन्।

सहभागी नेताहरूले अध्यक्ष एवं प्रधानमन्त्री ओलीसँग परामर्श गरेरै उक्त बैठक राखिएको जिकिर गरेका छन्।

तर, बुधबार साँझ २ घण्टा भएको छलफलमा ओली स्वयं र उनी पक्षधर भनी चिनिएका नेताहरू ईश्वर पोखरेल र महासचिव विष्णु पौडेल गएनन्। सचिवालय सदस्य गृहमन्त्री रामबहादुर थापा चीन भ्रमणमा छन्।

छलफल सभामुख चयन र एमसीसीका विषयमा केन्द्रित भएको स्रोतले जनायो। यसअघि २०७५ माघ १० गते प्रधानमन्त्री ओली विदेश भ्रमणमा रहँदा बहुमत सचिवालय सदस्यले झम्सिखेलमा यस्तै गोप्य छलफल गरेका थिए।

त्यस बेला ओलीविरुद्ध ध्रुवीकरणका लागि त्यस्तो छलफल भएको भन्दै ओली पक्षले असन्तुष्टि जनाएको थियो। यसपटक भने सचिवालय सदस्य गौतमको निवासमै नेताहरूले गोप्य छलफल गरेका थिए।

वरिष्ठ नेता खनालले पार्टीभित्रको आन्तरिक विषयमा सामान्य छलफल भएको प्रतिक्रिया दिए। ‘पार्टीभित्रका आन्तरिक समस्याका विषयमा सामान्य छलफल भएको हो। सभामुख चयनलगायतका विषयमा छलफल भएको होइन,’ उनले भने।

स्रोतका अनुसार अध्यक्ष दाहालले सभामुख चयनका विषयमा प्रधानमन्त्री ओलीसँग भएका छलफलबारे ब्रिफिङ गरेका थिए।

‘पहिले सभामुख र प्रधानमन्त्री पद भागबन्डा भएको हो। प्रधानमन्त्री आलोपालो गर्दा सभामुख पनि छोड्ने सहमति भएको थियो। तर प्रधानमन्त्री पूरै कार्यकाल ओलीलाई दिने भन्ने भएपछि सभामुख मैले प्रस्ताव गर्न पाउनुपर्छ,’ दाहालले ओलीसँगको छलफल ब्रिफिङ गर्दै भनेका थिए, ‘सभामुख मैले प्रस्ताव गर्ने हो। तपाईं (ओली) ले सुवास नेम्वाङलाई नै बनाउने अन्य कसैलाई नबनाउने भन्नुहुन्छ भने त्यो ठीक छ। तपाईं प्रधानमन्त्री छोडेर कार्यकारी अध्यक्ष बन्नुहोस् म प्रधानमन्त्री बन्छु। मैले त्यसरी कुरा राखेको छु।’

प्रधानमन्त्री ओलीले भने नेम्बाङलाई उपयुक्त जिम्मेवारी दिनुपर्ने धारणा राखेका थिए।

‘योग्य, अनुभवी, सबै हिसाबले उपयुक्त हुने सुवास नेम्वाङ हुन्। नेम्वाङलाई पनि एउटा राम्रो जिम्मेवारी दिन आवश्यक छ। उहाँलाई के जिम्मेवारी दिने रु सबैभन्दा उपयुक्त उहाँका लागि यही जिम्मेवारी हो। पूर्व एमाले–माओवादी अब नभनौं, नेम्वाङ पनि अब तपाई ९दाहाल० कै हुन् भन्ने प्रधानमन्त्रीको तर्क छ’, ओलीलाई उधृत गर्दै दाहालले आफूनिकट नेताहरूलाई सुनाएका थिए।

‘तपाईंले नेम्वाङ मात्रै देख्ने भए प्रधानमन्त्री छोड्नुहोस, नेम्वाङलाई बनाएर जाऔं पुरानो सहमति पनि ख्याल गर्नुपर्छ, मलाई पनि अप्ठ्यारो छ,’ दाहालको अडान सुनाउँदै दाहाल निकट एक स्थायी समिति सदस्यले भने।

गौतम निवासको बैठकपछि पनि दाहाल ओलीलाई भेट्न बालुवाटार गएका थिए। स्रोतका अनुसार त्यसमा पनि उनले पुरानै अडान राखे। ओलीले पनि नेम्वाङको अडान छाडेनन्।

‘सभामुख छोड्नैपर्ने हो भने तपाईं (ओली० प्रधानमन्त्री छोडेर कार्यकारी अध्यक्ष भई पार्टी चलाउनुहोस्, म प्रधानमन्त्री हुन्छु।’ पुष्पकमल दाहाल
स्रोतका अनुसार दाहालले आवश्यक परे आफूले प्रस्ताव गर्ने व्यक्तिसहित तीन जना बसेर विश्वासको वातावरण बनाउन सकिने बताएका छन्।

‘म अग्नि सापकोटालाई लिएर आउँछु, हामी तीन जना बसौं, कहाँकहाँ तपाईंलाई अप्ठ्यारो हुन्छ भन्ने लाग्छ, त्यहाँ समझदारी बनाऔं’, दाहालले ओलीसँग राखेको प्रस्ताव उधृत गर्दै पूर्वमाओवादी धारका एक स्थायी समिति सदस्यले भने।

दाहालले दुई अध्यक्षबीच विषय नमिल्ने भए सचिवालयमा प्रस्ताव लिएर जान प्रस्ताव गरेको स्रोतले बतायो। ‘सचिवालयमा जाँदा भद्रगोल हुन्छ र बिग्रन्छ। तपाईं र मेरो कुरा नमिली सचिवालयमा लान हुँदैन भनेर प्रधानमन्त्रीले भनिरहनुभएको छ,’ दाहालको पछिल्लो बिफ्रिङ सुनेका ती नेताले भने।

माधव नेपाल पक्ष यसमा मौन छ। सचिवालयमा विषय आएमा नेपाल, खनाल र गौतमसम्मले आफूलाई साथ दिने विश्वमा दाहाल देखिन्छन्।

तर वरिष्ठ नेता खनाल पार्टीबाट योग्य व्यक्ति सभामुखमा आउने तर अहिले सचिवालयमा दुई अध्यक्षले विषय प्रवेश नगराएको बताउँछन्।

‘सुवास र अग्नि जो भए पनि दुवै जना योग्य हुनुहुन्छ, जसलाई दिए पनि उहाँहरूले चलाउनु सक्नुहुन्छ। तर यो विषय पार्टी सचिवालयमा प्रवेश पाएको छैन। दुई अध्यक्ष छलफलमै हुनुहुन्छ, उहाँहरूले सचिवालयमा ल्याउनुभयो भने हामी मिलाउँछौं,’ खनालले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad