ad ad

छापा खबर


भेटियो शंकास्पद भिडियो, युवतीलाई बलि दिन भारत लगिएकाे आशंका

भेटियो शंकास्पद भिडियो, युवतीलाई बलि दिन भारत लगिएकाे आशंका

नेपालखबर
पुस ११, २०७६ शुक्रबार ३:०,

युवतीलाई बलि दिन भारत लैजान लागेको आशंकामा पक्राउ परेको गिरोहले यसअघि अर्की एक युवतीलाई पनि बेपत्ता पारेको छ।

ती युवतीलाई पनि भारत लगिएको हुन सक्ने प्रहरीको आशंका छ। भारत लैजानुअघि चौधरी थरकी ती युवतीको उचाइ र शरीरको बनावट नापिरहेको भिडियो प्रहरीको फेला पारेको खबर आजको नयाँ पत्रिका दैनिकमा टेकराज थामीले लेखेका छन्।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार सोही भिडियो देखाएर काठमाडौंकी २२ वर्षीया मोडललाई पनि उक्त गिरोहले मोडलिङ गर्न सहमत गराएर विराटनगर हुँदै जोगबनी नाका पुर्‍याएको थियो ।

प्राप्त भिडियोमा एक अपरिचित महिलाले युवतीको उचाइ इन्ची टेपले नापिरहेको देखिन्छ । युवतीको दुवै हातको पन्जा पनि नापिएको देखिन्छ ।

छिर्केमिर्के कुर्ता, पहेँलो सुरुवाल र रातो स्विटरमा रहेकी युवतीको नाप लिइसकिएपछि सेतो प्लेटमा युवतीको सम्पूर्ण विवरण लेखी कसैलाई देखाइएको छ । प्रहरीका अनुसार भिडियोमा देखिएकी युवतीको खोजी भइरहेको छ।

प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले पहिलेकी युवतीको भिडियो देखाएर अर्कीलाई सोहीअनुसार शरीरको नाप लिइने जानकारी दिएको बताए ।

‘उद्धार गरिएकी युवतीलाई उनीहरूले एक युवतीको भिडियो देखाए । भिडियोमा युवतीको उचाइ नापिएको देखिन्छ । सोहीअनुसार पीडित युवतीको नापजाँच गर्न उनीहरूले निर्देशन दिएको देखिन्छ । ती युवती को हुन्, उनको अवस्था कस्तो छ? यस विषयमा अनुसन्धान भइरहेको छ,’ बोगटीले भने ।

बलि चढाउन भारत लैजान लागेको आशंकामा महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले सोमबार विराटनगरस्थित जोगबनी नाकाबाट नवलपरासीका कृष्ण तामाङ, सप्तरीका उमेश साह, दाङकी दिलकुमारी बुढामगर, सप्तरीका उमेश माझी, मोरङका दिलीप पोद्दार, सुनसरीका रञ्जितकुमार चौधरीलाई पक्राउ गरेको थियो ।

धादिङकी प्रेमा तामाङ पनि सोही दिन काठमाडौंबाट पक्राउ परेकी थिइन् । प्रहरीका अनुसार उनीहरूले पीडित युवतीलाई र्‍याम्पमा हिँडाउने बहानामा काठमाडौंबाट विराटनगर हुँदै जोगबनी नाकाबाट भारत लैजान खोजेका थिए । यही क्रममा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .