छापा खबर


हेलो प्रहरी! म बिहे गर्दिनँ, त्यसपछि पक्राउ परे ‘बेहुला’

हेलो प्रहरी! म बिहे गर्दिनँ, त्यसपछि पक्राउ परे ‘बेहुला’

नेपालखबर
पुस ८, २०७६ मंगलबार १:१,

१४ वर्षीया किशोरीले गत शुक्रबार स्कुलबाट फर्केर घरधन्दा गरिन्। गृहकार्य सकिन्। रात छिप्पिन थालेपछि अभिभावकले कुरैकुरामा फकाउँदै गाउँको एउटा घरमा लगे। त्यहाँ विशेष चहलपहल थियो।

उनलाई मनमनै जिज्ञासा उठ्योे, किन यति धेरै मानिस भेला भएका? मलाई किन यहाँ ल्याइयो? केहीबेरमा थाहा पाइन्- त्यहाँ उनको बिहे हुँदै छ। न उमेर पुगेको थियो न त उनलाई बिहे गर्न मन थियो। उनी उम्कन सक्ने अवस्थामा थिइनन्।

बिलखबन्दमा परिन् केहीबेर। कक्षा ९ मा सँगै पढ्ने साथीसँग सहयोग लिइन्। प्रहरीलाई १०० नम्बरमा फोन गरेर आफैंले पनि खबर गरिन्। प्रहरी टोली तत्काल बिहे हुन लागेको घरमा पुग्यो। उनको बिहे रोकियो। झुक्याएर बिहे गराउन खोज्ने आफन्तलाई प्रहरी नियन्त्रणमा लियो।

स्याङ्जाको हरिनास गाउँपालिका-६ की किशोरीले भोगेको घटना हो यो। यो खबर आजको अन्नपूर्ण पोस्टमा भवानी अधिकारीले लेखेकी छन्।

सानैमा आमाको निधन भएपछि बुवाले अर्की ल्याए। उनी हजुरआमासँग बस्दै आएकी थिइन्। हजुरआमालाई फस्ल्याङफुस्लुङ पारेर आफन्तले सोही गाउँका २७ वर्षीय सन्तबहादुरसँग उनको बिहे गरिदिन लागेका थिए।

सन्तबहादुरले ती किशोरीलाई पुस ४ गते आफ्नै घरमा ल्याएर विवाह गर्ने तयारी गरेका थिए। उनी रोजगारीका लागि केही वर्षयता भारतमा बस्दै आएका छन्।

सन्तबहादुर र बेलबहादुर राना प्रहरी नियन्त्रणमा छन्। सुना राना र बेलबहादुर रानाले बिहे गराउन सघाएको भन्दै ती किशोरीले प्रहरीमा जाहेरी दिएपछि उनीहरू पनि पक्राउ परेको डीएसपी नवीनकृष्ण भण्डारीले बताए।

प्रहरीले उनीहरूविरुद्ध बालविवाहसम्बन्धी कसुरअन्तर्गत मुद्दा दर्ता गरी कारबाही अघि बढाएको छ।

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ११ मा बालविवाह गर्न नहुने उल्लेख छ। उपदफा १ मा २० वर्ष उमेर नपुगेका व्यक्तिसँग विवाह गर्न वा गराउन हुँदैन।

यसविपरीत भएको विवाह स्वतः बदर हुने संहितामा उल्लेख छ। यस्तो कसुर गर्नेलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँ जरिबाना तोकिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad