छापा खबर


अन्तर्जातीय बिहेपछि धोका : पतिले नहेरेपछि १५ दिने सुत्केरीको बिचल्ली

अन्तर्जातीय बिहेपछि धोका : पतिले नहेरेपछि १५ दिने  सुत्केरीको बिचल्ली

नेपालखबर
पुस ८, २०७६ मंगलबार ०:५७,

मुसिकोट नगरपालिका-५ की २२ वर्षीया विपना सावत १५ दिने सुत्केरी हुन् ।

प्रेम-सम्बन्धपछि गत फागुनमा गुल्मीकै राजु बस्नेतसँग भागेर विवाह गरेकी उनी अहिले पतिले छाडेर हिँडेपछि बिचल्ली बनेकी छन्। यो खबर आजको नयाँ पत्रिका दैनिकमा गुल्मीबाट टोपलाल अर्यालले लेखेका छन्।

पति बेपत्ता छन् । सडकमा ज्याला-मजदुरी गर्दागर्दै गत २३ मंसिरमा उनले छोरी जन्माइन् । बडिगाड खोलाको चिसो सिरेटोले १५ दिने शिशुसँगै विपना पनि थला पर्दै गएकी छिन्।

घरले नहेरेपछि र माइती विपन्न अवस्थाको भएकाले स्थानीय शिव सुनारको घरमा एउटा कोठा लिएर उनलाई राखिएको छ । छिमेकी महिलाले खानेकुराको सहयोग गरिरहेका छन् ।

सुत्केरीको दयनीय अवस्था हेर्न नसकेपछि आफूहरूले सहयोग जुटाएर केही खाद्यान्न संकलन गरेको इन्द्रेगौडाकी गीता खरालले बताइन् ।

विपना र राजु बस्नेतबीच अन्तर्जातीय विवाह भएको हो । गत वर्षको फागुनमा मदाने गाउँपालिका–६ का बस्नेतले विपनालाई उनकै घरबाट भगाएर बिहे गरेका थिए ।

उनीहरू घरबाट भागेर बुटवल गए । त्यतै कहिले होटेल त कहिले सडकमा ज्याला–मजदुरी गर्न थाले । जेठसम्म उनी पतिसँगै थिइन् । राजुले विपनालाई केही समय थापा थर भन्न लगाएर आफ्नो घर र मावलीमा समेत लगे । घरमा उनले परिवारलाई थापाकी छोरी भनेर परिचय गराए ।

तर, परिवारले हप्काएपछि उनी पुनः विपनालाई साथमै लिएर तम्घासदेखि बुटवलका विभिन्न स्थानमा ज्याला–मजदुरी गर्न थाले । वैशाखमा विपनाको गर्भ रह्यो । त्यसपछि राजुले श्रीमतीलाई हेला गर्न थाले । दुईबीच मनमुटाव बढ्न थाल्यो । झगडा भयो ।

उनले विभिन्न बहानामा श्रीमतीलाई कुटपिट गर्न थाले । विपनाले आफूलाई घरमा पठाइदिन अनुरोध गरिन् । तर, राजुले मानेनन् । ‘तँलाई गाउँ पठाउँदिनँ । दलित भन्ने थाहा पाएमा मेरो दाजुभाइले घर निकाला गर्छन्’ भन्दै आफूलाई घर पठाउन नमानेको विपनाको भनाइ छ ।

पतिले जातीय आक्षेप लगाउँदै कुटपिट गर्न थालेपछि ज्यान जोगाउनकै लागि आफू माइत आएको उनले गुनासो पोखिन् ।

‘रक्सी खाएर कुटपिट गर्ने र मानसिक तनाव दिन थाले, केही समय त सहेँ,’ विपनाले भनिन् । पतिको सधैँको कुटपिट सहन नसकेपछि बाध्य मुसिकोट नगरपालिका–५ स्थित माइत आएको उनले बताइन् ।

उनको माइती पनि विपन्न छ । १८ वर्षदेखि बाबु सम्पर्कविहीन छन् । माइतमा सुत्केरीको स्याहारसुसार गर्ने कोही नभएपछि उनलाई स्थानीयले एउटा कोठा खोजेर राखिदिएका छन् । राजु भने बेपत्ता छन् । उनी कसैसँग सम्पर्कमा छैनन् । बस्नेत परिवारले विपनाको अवस्थाबारे आफूहरू अनभिज्ञ भएको बताउने गरेका छन् ।

अन्तर्जातीय विवाह गरेर सुत्केरी श्रीमती र शिशुलाई अलपत्र पार्नेलाई कारबाहीको दायरामा ल्याउने मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले जानकारी दिए ।

उनले विपनालाई तत्काल सुरक्षा र हेरचाह आवश्यक भएकाले चाँडै न्याय दिलाउन नगरपालिका लागिपर्ने बताए । मदाने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीले अन्तर्जातीय विवाह गरेर अलपत्र पार्ने व्यक्तिलाई कानुनको दायरामा ल्याउन आफूले पहल गर्ने बताए ।

दलित अधिकारकर्मी गणेश विश्वकर्माले विपना मात्रै नभएर धेरै अन्तर्जातीय विवाह गर्ने जोडीहरूको अवस्था दयनीय रहेको बताए ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad